News Summary
Generated by OK AI. Editorially reviewed.- देशभर बिहानैदेखि चुनावी तापमान बढेको छ र मतदान केन्द्रहरूमा उल्लासपूर्ण वातावरण छ।
बिहान सबेरैदेखि देशभर चुनावी तापमान बढेको छ । मतदान केन्द्रहरूमा बेग्लै रौनक छ । एकाध ठाउँमा सानोतिनो झमेला देखिए पनि बाँकीमा उल्लासपूर्ण वातावरण छ ।
यसबीचमा केही रमाइलो-घमाइलो दृश्य पनि देखिए ।
श्यामश्वेत पहिरन लगाएर मतदाताको पंक्तिमा बालेन
उसो त सर्वाधिक चर्चाको केन्द्रमा छन्, बालेन । उनी झापा–५ बाट चुनावमा उठेका छन्, जहाँ उनका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओली हुन् ।
तर बालेनले आफैंलाई मतदान गर्न पाउने छैनन्, किनभने उनी काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुन् ।

भोट हाल्न बिहानै उनी सिनामंगलस्थित अन्नपूर्ण स्कुलको मतदानस्थल पुगे । त्यसबेलासम्म त्यहाँ मतदाताको लामो लाइन लागिसकेको थियो। त्यही पंक्तिमा मिसिए उनी पनि ।
श्यामश्वेत पहिरन (कालो कोर्ट पाइन्ट, सेतो टी–शर्ट र सेतो जुत्ता) लगाएका उनले हात बाँधेर धैर्यपूर्वक पालो कुरे । मतदानपछि भने केही नबोली फटाफट बाहिरिए- मानौं एक क्षण रोकिएर फोटो खिच्ने फुर्सद पनि छैन ।
सञ्चारकर्मीहरूले प्रतिक्रिया लिन खोजे पनि उनी बोल्दै नबोली सरासर रातो रङको गाडीमा चढे, चालक सिटमा नै बसे र भीड छिचोलेर तेज गतिमा अगाडि बढे । क्षणभरमै गाडी सडकबाट ओझेल पर्यो ।
आमालाई डोर्याउँदै हर्क
बाह्रै महिना फेसबुकमा चर्को–चर्को टिप्पणी गर्ने हर्क साम्पाङ मतदान केन्द्रमा निकै शालीन शैलीमा देखिए ।
टाउजर र ज्याकेटमाथि ढाका टोपी लगाएका उनी स्कोरपियो गाडीको अगाडिको सिटमा बुढी आमालाई राखेर आए । पछिल्लो ढोकाबाट ओर्लिएपछि दौड्दै आमातर्फको ढोका खोलेर होशियारीपूर्वक ८३ वर्षीया आमालाई ओराले । अनि ‘म लागे है त’ भन्दै आमालाई डोर्याउँदै मतदान केन्द्रतर्फ बढे ।

कसैले सोधे, ‘के अपेक्षा लिएर मतदान गर्दै हुनुहुन्छ सर ?’ फेसबुकका चर्का स्टाटसभन्दा निकै नरम भाषामा उनले संक्षिप्त जवाफ दिए, ‘आफू जित्ने, जनतालाई जिताउने ।’
‘भोट माग्न पाइएन अहिले, हैन ?’ कसैले ठट्टा गरे । उस्तै भावमा हर्कले भने, ‘पाइएन, नत्र त यहाँ पनि गीत गाइहाल्ने थिएँ ।’
दार्चुलाको अपि हिमाल ३ मा मतदाता नआएपछि
बिहान ७ बजेदेखि मतदान सुरु भए पनि दार्चुलाको अपि हिमाल गाउँपालिका-३ स्थित मतदान केन्द्र सुनसान देखियो । त्यहाँ उपस्थित कर्मचारी र सुरक्षाकर्मी बसेको बस्यै भए । बिहान १० बजेसम्म एक जना पनि मतदाता आएनन् ।

यसअघि नै सो क्षेत्रका स्थानीयले दुईवटा मतदान केन्द्रमा मतदान नगर्ने निर्णय गरेका थिए । नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय र अपि हिमाल गाउँपालिका-३ को दुधिला आधारभूत विद्यालयमा मतदाताले ‘नो भोट’को पक्ष लिएका हुन् ।
माघ १ गतेदेखि संघर्ष समिति बनाएर उनीहरूले यो अडान लिएका थिए । प्रमुख जिल्ला अधिकारी र सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिवसमेत फकाउन पुगे पनि स्थानीयले मानेनन्। त्यहाँ कुल ३४६ मतदाता छन् ।
पहेंलो हेलिकप्टरलाई पृष्ठभूमिमा राखेर प्रचण्डको पोज
रातो मफलरमा दुई हार माला, चिटिक्क कोट–पाइन्ट र शिरमा भादगाउँले कालो टोपी । चुनावी क्रममा प्रचण्ड हँसमुख देखिए। पहेंलो हेलिकप्टरलाई पृष्ठभूमिमा राखेर उनले केही फोटोका लागि पोज दिए ।

स–साना बालबालिकालाई अगाडि राखेर उनी माझमा उभिए । यो तस्बिर रुकुमपूर्वको हो, जहाँ उनी हेलिकप्टर चढेर पुगेका थिए ।
गृहजिल्ला चितवनमा मतदान गरेपछि उनी सोझै रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगे। त्यहाँ उनी शान्त र सौम्य देखिए ।
कारागारभित्र कैदीबन्दीको मतदान
पर्साको कारागारमा रहेका कैदीबन्दीहरूले पनि मताधिकार प्रयोग गरे । ३३ जना कैदीबन्दीले पंक्तिमा उभिएर प्रतिनिधिसभा समानुपातिकतर्फ मत दिए ।

कारागारभित्रै मतदान गर्न पाउँदा उनीहरूले आफूलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा बनेको अनुभूति गरेको बताए ।
कटारीमा बन्दुक पड्किएपछि
उदयपुरको कटारीस्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहानै नराम्रो घटना भयो । मतदान प्रक्रिया सुरु हुँदै गर्दा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्यो ।
इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानको सर्टगनबाट गोली पड्कियो । यसले मतपेटिकामा क्षति पुर्यायो। त्यसबेलासम्म पेटिकामा ४ मत खसेका थिए तर मतपत्रमा कुनै क्षति पुगेन ।
अपांगता भएका व्यक्तिको भोट इच्छाविपरीत मतदान अधिकृतले हालेपछि
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित गढोश आधारभूत मावि मतदानस्थलमा अपांगता भएका एक व्यक्तिले मतदान गर्न पुगे । उनको इच्छाविपरीत मतदान अधिकृतले भोट हालेको भन्दै विवाद भयो । सो क्रममा केही समय मतदान रोकियो ।
रविले ढोगे मतपेटिका
अब लागौं रवि लामिछानेतर्फ। केही दिनअघि उनले भनेका थिए, ‘मलाई गालीगलौज नगर भन्छन्, म परें रवि लामिछाने ।’
हुन पनि रवि चुपचाप रहने कुरै भएन । मतदानमा पनि उनी सरासर आए, खुरुक्क मत हालेर चुपचाप फर्किएनन् ।

काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलमा पुगेका उनले मतदान गरेपछि मतपेटिकालाई पूरा श्रद्धाले नमस्कार गरे । अनि करिब ६ फिट अग्लो शरीर निहुराएर ढोगिदिए ।
प्रतिक्रिया 4