+
+
Shares

ज्येष्ठ मतदाताका अपेक्षा : अब हाम्रा नाति-नातिनाले दु:ख नपाउन्

मत दिएर फर्किंदै गरेका काठमाडौंका मतदाताका ठूला अपेक्षा छैनन् । ‘शान्ति–सुरक्षा होस्, ढुक्कले बस्न पाइयोस् । कसैले पनि अकालमा ज्यान फाल्नु नपरोस्,’ उनीहरू भन्छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ फागुन २१ गते १५:१६

२१ फागुन, काठमाडौं । पहिलो पटक भेट भएका ८३ वर्षीया ललिता सापकोटा र ७९ वर्षीया इन्दिरा भट्टराई चुनावी गन्थन गर्दै थिए । काठमाडौं क्षेत्र नम्बर १ को रत्नराज्य माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेर निस्केपछि चिनाजान गरेका उनीहरूको बुझाइ थियो– देशमा बेथिति चरम थियो, त्यसैले युवाले विद्रोह गर्नुपर्यो ।

रत्नराज्य मावि परिसर र बाहिर सडकमा चुनावी रौनक देखिन्थ्यो । युवादेखि वृद्ध वयका मतदाता त्यहाँ थिए ।

भक्तपुरकी ८३ वर्षीया सापकोटाले आफूले मत दिएको इतिहास सम्झँदै भनिन्, ‘१८ वर्षदेखि भोट हाल्दै आएकी छु । २००४ सालमा जन्मेकी हुँ, ठ्याक्कै याद नभए पनि हरेक पटक भोट हालेँ । तर आफ्नो दु:ख आफैंसँग छ ।’

यो उमेरसम्म आइपुग्दा उनले पाँचथर, इलाम हुँदै २७ वर्षदेखि काठमाडौंमै मतदान गर्दै आएकी छन् । बसोबास भक्तपुरमा रहे पनि मतदाता नामावली भने काठमाडौं–१ मा रहेको उनले बताइन् ।

जीवनमा पहिलो पटक भोट हाल्दा उनका अपेक्षा अहिलेभन्दा भिन्न थिए । त्यसबेला खेतीपातीका लागि मल र बिउबिजन सहज ढंगले पाउनु नै ठूलो कुरा थियो । त्यसबाहेक सडक पूर्वाधार जस्ता कुरा त सदाबहार समस्या भइहाले । यो उमेरमा मत हाल्दै गर्दा उनले आफ्नोभन्दा पनि भविष्यका पुस्ताको बारेमा सोच्नुपर्ने बताइन् ।

नाति-नातिना पुस्ताले आफूले जस्तो दु:ख पाउनु नपरोस् भन्ने कामना गरिरहेकी सापकोटाले उम्मेदवारहरूसँग पनि त्यस्तै अपेक्षा गरेकी छिन् । ‘हिजो हामीले हाम्रो लागि सोच्यौँ । अब त यिनै नाति-नातिना, छोराछोरीले देश भित्रै पढ्न पाउन् । उनीहरूले खोजे जस्तो विकास होस् भन्ने न हो,’ मतदानपछि आशावादी सुनिइन्, उनी ।

सापकोटासँगै भलाकुसारी गरिरहेकी बानेश्वर निवासी इन्दिरा भट्टराईले अर्घाखाँचीमा रहँदा पञ्चायतकालमा गाउँ पञ्चायतको पनि कार्यअनुभव बटुलिन् । उनी अहिलेसम्म हरेक चुनावमा मत दिइरहेकी छन् ।

तर, आफ्नो जीवनको सुरुवाती चुनावी वर्षमा मतदान गर्दा कुनै भेउ पाउन सकिनन् । ‘सबैले भोट हाल्ने, भोट हाल्ने भन्थे । लहैलहैमा हाल्न गइन्थ्यो । कुनै माग र अपेक्षा भन्ने कुरा नै भएन,’ भट्टराईले विगत सम्झिइन् ।

आजसम्म जति नै पटक मत हाले पनि ठोस परिवर्तन आफ्नो जीवनकालमा नदेखेको भट्टराईको गुनासो छ । व्यवस्था फेरिएपछि केही सकारात्मक होला कि भनेर लागेको आशा पनि पछिल्लो समय धुमिल हुँदै गएको छ । अझ भदौ २३ गते जेनजी आन्दोलनमा कलिला युवा मारिएको घटनाले उनलाई विक्षिप्त बनायो ।

‘हाम्रा नाति-नातिनाले पढाइ, विकास खोज्छन् । हामीलाई भन्दा पनि अब उनीहरूका मुद्दामा ध्यान दिनुपर्यो । अस्ति जस्तो केटाकेटी मार्नुभएन,’ भट्टराईले भनिन्, ‘लोकतन्त्र आएपछि एक–दुई वर्ष ठिकै थियो । त्यसपछि अनुशासन हरायो, इज्जत हरायो, नेताहरू जतनासँग डराउनै छाडे । भ्रष्टाचारले देश डुबायो । बालबच्चा मारिन थाले । यी कुराको अन्त्य अबको चुनावले सुनिश्चित गर्नुपर्छ ।’

रत्नराज्य माध्यमिक विद्यालयबाटै मत हालेर घर फर्कंदै थिए, बुद्धिप्रसाद राई । टेकोको सहारामा हिँडिरहेका ८० वर्षीय राईले २५ वर्षदेखि काठमाडौंमा मत हाल्दै आएका छन् । त्यसअघि उनले खोटाङबाटै मत हाले ।

जीवनका कुनै पनि चुनाव (उमेर पुगेपछि) उनले छुटाएका छैनन् । जिताएर पठाएका प्रतिनिधिले सधैँ बेवास्ता गरे, तर उनले मतदानलाई बेवास्ता गरेनन् ।

बिहीबार मतदान गरेर फर्किँदा पनि उनमा कुनै अपेक्षा थिएन । राईले अनलाइनखबरसँग भने, ‘आजसम्म के भयो र अपेक्षा गर्नु ? तैपनि, आफ्नो अधिकार त सदुपयोग गर्नुपर्छ ।’

यतिका वर्षदेखि भोट हालेर के पाउनुभयो त ? भन्ने प्रश्नको जवाफमा उनले थपे, ‘केही पाइएको छैन । नेता बनायो, पठायो । बरु चुनेर जानेले मस्ती गरेको छ ।’

यो पटक पनि उस्तै नियति दोहोरिन्छ भन्नेमा ढुक्क देखिन्छन्, राई । चुनाव अगाडि आश्वासन दिने, निर्वाचित भएपछि हराउने राजनीतिक संस्कार नै स्थापित भएकाले अब पनि केही होला भन्ने अपेक्षा उनमा छैन । कारण– जीवनमा धेरै नयाँ पार्टी देखे, धेरै पटक नयाँ आशा राखे । तर निराशाले छाडेन ।

विगतका चुनावमा पनि हरेक उम्मेदवार बाटो बनाइदिन्छु, स्कुल बनाइदिन्छु भन्दै आएको स्मरण उनमा छ, जुन अहिले पनि चलिरहेको छ । बरु देशमा रोजगारको समस्य देखेर विदेशिने नयाँ पुस्ता देखेका छन् । यसले झन् चिन्तित बनाएको छ ।

‘सबै विदेश जाने भन्छन् । नजाउ भन्नलाई अहिले यहाँ कामै छैन । स्वरोजगारी छैन । कमाउने धन्दा छैन,’ राईले गुनासो पोखे, ‘विकासको हकमा पनि यो ठाउँको आवश्यकता अनगिन्ती छन् । बाहिरी सडक पिच भएर हुँदैन, भित्रको अवस्था हेर्नुपर्यो । यो कुरा कसले पूरा गर्ला र ?’

८७ वर्षीय शिवप्रसाद गिरीको अनुभव पनि उस्तै छ । काठमाडौं क्षेत्र नम्बर २ स्थित पेप्सीकोला फुटवल ग्राउन्डको केन्द्रमा मतदान गरेका उनी लोरी टेक्दै घर फर्कंदै थिए । सकिनसकी आफू मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म आएको उनले बताए । लाइन नबसी मत हाल्ने सुविधा पाएका उनले केही छिनमै मत हालेको बताए ।

गिरीले उमेर पुगेदेखि कुनै चुनाव छुटाएका छैनन् । हरेक चुनावमा आफ्नो कर्तव्य सम्झिएर मत दिइरहेका छन् । यस पटक पनि सोहीअनुसार अधिकार प्रयोग गरेका उनले शान्ति–सुरक्षाको अपेक्षा राखेको सुनाए ।

‘धेरै अपेक्षा केही छैन । शान्ति–सुरक्षा होस्, ढुक्कले बस्न पाइयोस् । कसैले पनि अकालमा ज्यान फाल्नु नपरोस्,’ वैशाखमा ८८ पुग्दै गरेका गिरीले अनलाइनखबरसँग भने ।

मत हाल्दै गर्दा भदौ २३ र २४ गतेको आन्दोलन सम्झिएका गिरीले थपे, ‘२०६२/०६३ को आन्दोलनमा पनि मान्छे मारियो, चुनाव भयो । यस पटक पनि त्यसैगरी २०८४ को चुनाव २०८२ मा सर्यो । अब यस्ता घटना नदोहोरिउन् । पूरा कार्यकाल जनताका लागि काम गर्न पाउन् ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?