+
+
Shares

यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर

रास्वपा बाहेक अन्य कुनै पनि पार्टीले १० हजार बढीको मतान्तर कायम गर्न सकेका छैनन् । यहाँ १० हजार बढी मतान्तर भएका १९ निर्वाचन क्षेत्र छन् ।

सापेक्ष सापेक्ष
२०८२ फागुन २२ गते २३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरका मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरसहित अग्रता लिइरहेका छन्।
  • झापा-५ निर्वाचन क्षेत्रमा रास्वपाका बालेन्द्र साहले १५ हजार १६९ मत ल्याएर केपी शर्मा ओलीलाई ठूलो अन्तरले पछि पारेका छन्।
  • काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्टले साढे ३१ हजार मतसहित अग्रता लिइरहेका छन् भने कांग्रेसका हिमाल कार्की ७ हजार मतमा सीमित छन्।

२२ फागुन, काठमाडौं । अहिले देशभरिबाट निर्वाचनको मत परिणाम आइरहेका छन् । आएका मत परिणाममा एउटा ढाँचा देखिन थालेको छ, त्यो हो– भारी मतान्तर । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अघि छन् ।

रास्वपा बाहेक अन्य कुनै पनि पार्टीले १० हजार बढीको मतान्तर कायम गर्न सकेका छैनन् । यहाँ १० हजार बढी मतान्तर भएका १९ निर्वाचन क्षेत्र छन् :

ललितपुर-३

यसमा रास्वपाका तोसिमा कार्कीले लिड गरिरहेकी छिन् । उनले १४ हजार २ सय ८३ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले जम्मा २ हजार ७ सय ४ मात्र प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २ हजार ५ यस ४९ ल्याएका छन् । अन्यले भने १ हजार मत पनि कटाएका छैनन् । यो निर्वाचन क्षेत्रमा २० उम्मेदवार छन् ।

झापा-५

यस पटकको सुपर हट सिट हो झापा–५ । सम्भवत: यो निर्वाचन क्षेत्रले नेपाललाई भावी प्रधानमन्त्री समेत दिने छ । तर, यहाँका उम्मेदवारबीच भारी मतान्तर देखिएको छ । रास्वपाका बालेन्द्र साह (बालेन) ले १५ हजार १ सय ६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी केपी शर्मा ओलीले जम्मा ३ हजार ३ सय ४४ मत ल्याएका छन् ।  त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले १ हजार ४ सय ७७ मत ल्याएका छन् । अन्य उम्मेदवारले ५ सय पनि मत कटाएका छैनन् । यहाँ २४ उम्मेदवार मैदानमा छन् ।

बारा-४

यो निर्वाचन क्षेत्रमा अहिले रास्वपाका उम्मेदवार रहबर अन्सारीले अग्रता लिइरहेका छन् । उनले १५ हजार ४ सय ५४ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले ३ हजार ७ सय २६ ल्याएका छन् । १ लाख १४ हजार ४ सय ३९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६ बाहेक अन्य उम्मेदवारले एक मत पनि पाएका छैनन् । यहाँ ३७ उम्मेदवार छन् ।

रुपन्देही-३

यहाँ पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच १६ हजार बढीको अन्तर देखिन्छ । यहाँ रास्वपाका डा. लेखजंग थापाले १८ हजार ३ सय ९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका वासुदेव घिमिरेले जम्मा २ हजार ५ सय ५ मात्र मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेका सुशील गुरुङले २ हजार ४ सय ८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गौरव बोहराले १ हजार ९ सय ७७ ल्याएका छन् । अन्य कुनै पनि उम्मेदवारले ३ सय मत पनि कटाएका छैनन् । यहाँ ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।

काभ्रे-२ 

यस निर्वाचन क्षेत्रमा पनि पहिलो र दोस्रो उम्मेदवारबीच १२ हजार बढी मतान्तर देखिएको छ । पहिलो भने रास्वपा नै छ । रास्वपा उम्मेदवार बदनकुमार भण्डारीले १८ हजार ३ सय १२ मत ल्याउँदा नेकपा एमालेका अशोककुमार ब्याञ्जु श्रेष्ठले ५ हजार ५ सय ५१ मत ल्याएका छन् । यो निर्वाचनमा अन्य प्रतिस्पर्धी कमजोर देखिएका छन् । उम्मेदवार भने कुल २४ छन् ।

बारा-३

अहिलेसम्मको मतगणना अनुसार रास्वपाका अरबिन्द साहले २० हजार बढी मत पाइसकेका छन् । तर, उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फरमुल्लाह मन्सुरले जम्मा ५ हजार ३ सय १४ मतमात्र ल्याएका छन् । यहाँ २४ उम्मेदवार छन् ।

काठमाडौं-४

कांग्रेस सभापति गगन थापा उठ्दै आएको यो निर्वाचन क्षेत्रमा यस पटक कांग्रेस कमजोर देखिएको छ । कांग्रेसका सचिन तिमल्सिनाले ६ हजार ५८ मत ल्याएर दोस्रो स्थानमा हुँदा रास्वपाका पुकार बमले २० हजार १ सय ७७ मत पाइसकेका छन् ।

काठमाडौं-२

यस निर्वाचन क्षेत्रमा पनि रास्वपा पहिलो र कांग्रेस दोस्रो देखिएको छ । अहिलेसम्मको मत परिणाममा रास्वपाका सुनिल केसीले साढे २० हजार मत प्राप्त गर्दा कांग्रेसका कवीर शर्माले करिब ६ हजार मत प्राप्त गरेका छन् ।

बाँके-१

याे निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार सुरेशकुमार चौधरी २२ हजार बढी मतसहित अग्रतामा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नारायणप्रसाद गौडेलले भने जम्मा ८ हजार हाराहारी मत ल्याएका छन् ।

काठमाडौं-९

यहाँ पहिलो र दोस्रो उम्मेदवारबीच करिब १९ हजार बढीको अन्तर देखिन्छ । पहिलोमा रास्वपा उम्मेदवार डोलप्रसाद अर्याल छन् । उनले अहिलेसम्म २२ हजार २ सय ७८ मत पाएका छन् भने उनलाई पछ्याइरहेकी कांग्रेस उम्मेदवार नानुमैयाँ बास्तोलाले जम्मा ३ हजार ७ सय १३ मात्र मत ल्याएकी छिन् ।

काठमाडौं-७

यहाँ त्यो अन्तर २० हजार बढी नै छ । अग्रता लिइरहेका रास्वपा उम्मेदवार गणेश पराजुलीले २३ हजार १ सय ८२ मत ल्याउँदा कांग्रेसका प्रमोदहरि गुरागाईंले जम्मा ३ हजार ३ज सय ६५ मात्र मत ल्याएका छन् ।

काठमाडौं-५

रास्वपाका सस्मित पोखरेल र कांग्रेसका प्रदीप पौडेलबीच यो निर्वाचन क्षेत्रमा १६ हजार बढीको मतान्तर छ । प्रदीप पौडेल चर्चित युवा उम्मेदवार हुन् । अहिलेको अवस्थामा उनले अग्रता लिइरहेका पोखरेललाई उछिन्न गाह्रो हुने देखिन्छ ।

चितवन-३

यो निर्वाचन क्षेत्र चर्चित महिला उम्मेदवारहरूका कारण पनि चर्चामा छ । उनीहरूबीच प्रतिस्पर्धा कडा हुने देखिए तापनि मत परिणाममा त्यस्तो देखिएन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालकी छोरी तथा भरतपुर महानगरपालिकाका पूर्वमेयर रहेका रेनु दाहाललाई रास्वपा उम्मेदवार सोविता गौतमले १३ हजार बढी मतले पछि पारेकी छिन् ।

चितवन-२

यो रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । प्रारम्भिक मत परिणाममा लामिछाने केही पछाडि देखिए तापनि अहिले उनले राम्रै मतान्तरमा अग्रता कायम गरिरहेका छन् । रविले २६ हजार बढी मत पाउँदा उनलाई कांग्रेसकी मिनाकुमारी खरेलले ७ हजार हाराहारी मत ल्याएर पछ्याइरहेकी छिन् ।

मोरङ-६

यो कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । तर, यसमा पनि निकै कमजोर देखिएका छन् । उनलाई रास्वपाकी रुविना आचार्यले साढे १९ हजार बढी मतले पछि पारेकी छिन् ।

रुपन्देही-२

यहाँ त्यो मतान्तर झनै बढी देखिन्छ । यहाँ रास्वपाका सुलभ खरेल २३ हजार बढी मतले अगाडि छन् । उनले यति मतान्तरमा नेकपा एमालेका विष्णुप्रसाद पौडेललाई पछि पारेका हुन् ।

काठमाडौं-१०

यो निर्वाचन क्षेत्रमा पहिलो र दोस्रोबीच करिब २५ हजार बढीको मतान्तर छ । यहाँ रास्वपाका प्रदीप विष्ट साढे ३१ हजार बढी मत ल्याएर अग्रतामा हुँदा कांग्रेसका हिमाल कार्की ७ हजार मत पाएर पछ्याइरहेका छन् ।

धनुषा-३

यो कांग्रेसका विमलेन्द्र निधिको निर्वाचन क्षेत्र हो । तर, उनी यहाँ २१ हजारले पछि छन् । यहाँ रास्वपाका मनिष झा अग्रतामा छन् । झाले ३२ हजार मत पाउँदा निधिले ११ हजार हाराहारी मात्र मत ल्याएका छन् ।

कास्की-३ 

यहाँ पनि पहिलो र दोस्रोबीच राम्रै मतान्तर देखिन्छ । रास्वपाका बिना गुरुङले अहिलेसम्म ३२ हजार १ सय १२ मत ल्याएकी छिन् भने कांग्रेसका मनोज गुरुङले ११ हजार २ सय ५६ मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा १५ बढी उम्मेदवार छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?