२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरेका छन् ।
अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् ।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र ल्याइन् । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।
अर्यालले कार्यवाहक सभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सूचीमार्फत संघीय सांसद बनेका थिए ।
५१ वर्षीय अर्यालको जन्म धादिङ जिल्लाको साविक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) मा भएको हो । हाल उनी काठमाडौं महानगरपालिका बिनायक बस्तीमा बसोबास गर्दै आएका छन् ।
अर्यालको जीवन यात्रा सामान्य मजदुरको कामबाट सुरु भएको हो । २०४९ सालपछि रोजगारीका लागि काठमाडौं प्रवेश गरेका उनले रेस्टुरेन्टमा काम गर्दै संघर्षपूर्ण जीवन बिताए ।
२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान गएका अर्यालले करिब ८ वर्ष काम गरे । जापानबाट फर्किएपछि अर्याल पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय भए ।
उनले सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था तथा इजिलिंक रेमिटेन्समा लगानी गर्दै निर्देशक तथा सीईओको भूमिकामा काम गरेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सूचीमार्फत संघीय सांसद बनेका थिए । त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै वैदेशिक रोजगार, श्रमिक अधिकार र सामाजिक सुरक्षासम्बन्धी क्षेत्रमा काम गरेका छन् ।
प्रतिक्रिया 4