News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल \'प्रचण्ड\'ले रुकुम पूर्वबाट १० हजार २४० मत पाएर चुनाव जित्न सफल भएका छन्।
- प्रचण्डले चुनाव जिते पनि निर्वाचन क्षेत्र बारम्बार परिवर्तन गरी आफूलाई असुरक्षित देखाएका छन् र पार्टीभित्र आलोचना भइरहेको छ।
- माओवादी पार्टीले चुनावमा सिट घटाएको छ, तर नेतृत्वले यसको नैतिक जिम्मेवारी लिन अस्वीकार गरेको छ।
२३ भदौ, काठमाडौं । गत साता चुनावी प्रचारका क्रममा रुकुम पूर्व पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिना संकोच एउटा दाबी गरे, ‘म मात्रै हो अहिले नेपालमा एउटा नेता, जो जहाँ गएपनि चुनाव जित्छ ।’
चुनाव जित्नकै लागि आधा दर्जनपटक निर्वाचन क्षेत्र बदलेका र चुनावको मुखमा दुई दर्जन कम्युनिस्ट घटक जोडेका प्रचण्डले माओवादी आन्दोलनको आधार क्षेत्र रुकुम पूर्वबाट १० हजार २४० मत ल्याएर जित निकाले । रुकुम पूर्व माओवादी जनयुद्धमा अत्यधिक जनधनको क्षति भएको जिल्ला हो । यो पार्टीको जुनसुकै उम्मेदवार उठे पनि जित्ने क्षेत्र हो । प्रचण्डले मत पाएको हाराहारी त यहाँ पार्टी सदस्य र शुभचिन्तक नै छन् ।
यसरी चुनाव जितेपछि पनि प्रचण्डले बिना आत्ममूल्याङ्कन र स्वीकारोक्ति दिएको अभिव्यक्तिले नेपाली राजनीतिका केही गम्भीर प्रश्न र विरोधाभासहरू अद्यापि बाँकी रहेको संकेत गर्छ ।
प्रचण्डले जहाँ गए पनि चुनाव जित्ने ‘अजेय’ नेताको रूपमा आफूलाई प्रस्तुत गरे । तर, तथ्यले अर्कै कथा भन्छ । रोल्पा र काठमाडौँ हुँदै, सिरहा, चितवन, गोरखा र अहिले रुकुम पूर्वसम्म आइपुग्दा उनले जतिपटक निर्वाचन क्षेत्र बदलेका छन्, त्यसले उनको आत्मविश्वास होइन, असुरक्षालाई संकेत गर्छ ।
यदि उनी साँच्चै जहाँ पनि जित्ने नेता हुन् भने, किन हरेक चुनावमा उनी ‘सुरक्षित आश्रय’ खोज्दै नयाँ जिल्ला पुग्छन् ? यो प्रश्नको उत्तर जनसाधारणलाई पनि थाहा छ । विभिन्न आन्दोलनबाट खारिएका सचेत मतदातालाई दिनदहाडै ढाँट्ने गरी प्रचण्डले दिएको अभिव्यक्तिले जेनजी आन्दोलनपछिका ओली अभिव्यक्तिहरूलाई सम्झाएका छन् ।
माओवादी आन्दोलन कुनै बेला नातावाद र कृपावादको कडा आलोचक थियो । तर, पछिल्लो दशकमा प्रचण्ड आफैं चरम परिवारवादमा फसेको आरोप लाग्दै आएको छ । सत्ता र शक्तिको आडमा छोरी र बुहारीलाई स्थापित गर्न खोजिएको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भयो ।
भलै भरतपुरमा गरेको कामका कारण छोरी रेनुलाई हेर्ने आम दृष्टिकोण फरक छ र उनीप्रति मतदाताको केही सहानुभूति पनि देखिन्छ ।
यसपटकको जनादेशले त्यसको निर्मम जवाफ दिएको छ- अवसर पाएका छोरी र बुहारी दुवै पराजित भए । तर, पार्टीका सुप्रिम कमान्डर भने सुरक्षित क्षेत्रमा गएर आफू मात्र जित्न सफल भए । पार्टीका धेरै शीर्ष नेताहरू पनि पराजित भएका छन् । यसले नेतृत्वले सिंगो आन्दोलनलाई भन्दा आफ्नो राजनीतिक स्वार्थलाई मात्र केन्द्रमा राख्यो भन्ने भाष्यलाई थप बलियो बनाएको छ ।
चुनाव जितेपछि टुटफुट र विभाजन हुने कम्यनुिस्ट पार्टी र समूहहरू चुनावको मुखमा एकजुट हुन्छन् । प्रचण्डले चुनावकै मुखमा साना-ठूला गरी दुई दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी र समूहलाई एकता गर्दै विशाल कम्युनिस्ट केन्द्र बनाएको दाबी गर्थे । तर, ती एकता कागजमा मात्र सावित भए ।

२०६४ सालमा प्रत्यक्षतर्फ आधाभन्दा बढी सिट जितेर दुई तिहाइ बहुमत नजिक पुगेको पार्टी आज प्रत्यक्षतर्फ १०/१२ सिटमा अग्रता लिने दयनीय अवस्थामा आइपुगेको छ । रास्वपा जस्तो नयाँ दलले अभूतपूर्व जित निकाल्दै पुराना दलहरूलाई नराम्ररी खुम्च्याइदिँदा माओवादी पार्टी खुम्चिएर मरिच जस्तो बनेको छ । तर, पार्टी यो स्तरमा झर्दा पनि नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिएको देखिँदैन ।
संसदलाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल’ को उपमा दिँदै हजारौं नागरिकले ज्यान गुमाउने गरी युद्धको नेतृत्व गरेका प्रचण्ड आज त्यही संसदमा सानो आकारमा खुम्चिंदा पनि आफूलाई शक्तिशाली देखाउन तल्लीन छन् ।
सामान्य संसदीय खेलबाट होइन, हिंसात्मक आन्दोलनबाट संसदमा छिरेर ‘अहिले के को टाउको राखेर के को मासु बेच्नुहुन्छ कमरेड ?’ भनेर प्रश्न गरे उनले केही न केही जवाफ त देलान् तर त्यसबाट प्रश्नकर्तालाई चित्त बुझाउन भने मुस्किल हुनेछ ।
यद्यपि, प्रचण्डले सगर्व भनेका छन्, ‘थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरुन् । जंगलमा सिंह हिँडिसकेपछि अरुको के हालत हुन्छ, हामी सबैलाई थाहा छ ।’
उनको यो भनाइ सुन्दा उनकै विगत याद आउँछ । कुनै बेला कम्युनिस्ट आन्दोलनका पुराना हस्ती मोहनविक्रम सिंहविरुद्ध विद्रोह गर्दा प्रचण्ड भन्ने गर्थे, ‘आन्दोलन कहाँ पुग्यो थाहा छैन । जनता कहाँ पुगिसके थाहा छैन । आफू प्रमुख नेता हुन पाए भइहाल्यो ।’
आज प्रचण्ड ठ्याक्कै त्यही विन्दुमा उभिएका छन् । आन्दोलन छिन्नभिन्न छ, पार्टी खुम्चिएको छ । हिजोका आधार क्षेत्रहरूमा माओवादी आन्दोलनकै सहयोद्धाहरू भिडिरहेका छन् ।
उनी आफैं सहिद पुत्रलाई चुनाव हराएर विजयको अहंकार देखाइरहेका छन् । सडकमा विजय जुलुस निकालेर हिंडिरहेका छन् । तर प्रचण्ड अझै भनिरहेका छन्, ‘म नै संसदको सिनियर नेता हुँ ।’
प्रचण्डले अझ अगाडि बढेर भने, ‘कुनै पनि पूर्वप्रधानमन्त्रीले नजित्दा म एक्लो भएँ ।’ उनले आफ्नै पार्टीका सहसंयोजक पूर्वप्रधानमन्त्री माधव नेपालको पराजयको समेत जिम्मा लिन चाहेनन् । बरू त्यही नतिजामा गर्व गरे । सायद, प्रतिकूलतालाई अनुकूलतामा बदल्ने उनको यो पुरानै शैली हो ।
तर प्रचण्डले नभुलुन्, अब प्रतिकूलतालाई आन्दोलनको होइन, व्यक्तिगत अनुकूलतामा बदल्ने बानीले नै हो उनी चाउरिंदै गएका छन् ।
के प्रचण्ड संसदमा सिनियर नेता भएर उनले पार्टीको नीति लागु गर्न सक्छन् ? संसदका अब्बल प्रश्नकर्ता प्रेम सुवालले समेत यो चुनावमा पराजित भएको बिर्संदै प्रचण्डले आफ्नो अत्यधिक खुम्चिएको भूमिकालाई नजरअन्दाज गरिरहेका देखिन्छन् ।
कम्युनिस्ट आन्दोलनको पुरानै कहानी
कुनै पनि नेताको वैचारिक स्खलन र सत्ता-लिप्साको यस्तो चरित्रका पछाडि गहिरा मनोवैज्ञानिक, दार्शनिक, राजनीतिक र सांस्कृतिक कारणहरू लुकेका हुन्छन् ।
मनोवैज्ञानिक रूपमा, ‘म नभए यो पार्टी वा देश नै खत्तम हुन्छ’ भनेर बुझ्ने र व्याख्या गर्ने अभ्यास लामो समयसम्म पार्टीको नेतृत्वमा रहेका नेताहरूमा देखिनेगर्छ ।
प्रचण्ड होऊन् वा एमाले अध्यक्ष केपी शर्मा ओली, उनीहरू बदलिएको यथार्थ स्वीकार्न मानसिक रूपमा तयार देखिन्नन् । आफ्नो विगतको योगदानको ब्याज जिन्दगीभर खान पाउनुपर्छ भन्ने चाहना उनीहरूमा हावी हुन्छ ।
र, उनीहरू दशकौंसम्म सत्ता र शक्तिको केन्द्रमा बसेका कारण पदबिनाको आफ्नो अस्तित्व कल्पना नै गर्न सक्दैनन् । पद गुम्नु भनेको उनीहरूका लागि मृत्युतुल्य मनोवैज्ञानिक त्रास बनिदिन्छ ।
राजनीतिक रूपमा, जब आन्तरिक लोकतन्त्र कोमामा पुर्याएर नेताहरू पार्टीलाई प्राइभेट कम्पनीमा ठान्छन् । पार्टी एउटा राजनीतिक संस्थाको हैसियत गुमाउँछ । यो केवल पार्टी नेतृत्वलाई प्रार्थना र चाकरी गर्नेहरूको गुटको अखडामा बदलिन्छ ।
केही आसेपासेले आफ्नो स्वार्थ पूरा गर्न प्रमुख नेतृत्वलाई महान भनिरहन्छन् र पद छाड्न दिंदैनन् । उनीहरूले नेतालाई ‘तपाईं नै सबैथोक हो’ भन्ने भ्रममा राखिरहन्छन् । यस्तोमा, जसरी पनि सत्तामा टिकिरहनु र यो कदमलाई सैद्धान्तिक जामा पहिर्याउँदै गौरवीकरणका लागि आफ्नो सम्पूर्ण क्षमता खर्च गर्नु नै एक मात्र ‘दर्शन’ बन्न पुग्छ ।
जर्मन दार्शनिक फ्रेडरिक नित्सेले भनेजस्तै शक्तिमा रहने भोकले यस्तो विकृत रूप लिन्छ कि क्रान्ति सुरु गर्दाका मार्क्सवाद, समाजवाद अन्त्यमा नितान्त ‘शक्तिको भोक’ मा पतन हुन्छ । आदर्शको मृत्यु र अवसरवादको विजय नै यसको दार्शनिक सार हुन्छ ।
त्यही भएर हो, जसरी सामन्ती समाजमा बाबु वा मुखियाले नमरुन्जेल घरको साँचो बुझाउँदैन, राजनीतिक मुखियाहरू पनि मर्नुअघि पद हस्तान्तरण गर्नुलाई संस्कृतिकै विरुद्ध मान्छन् । उमेरलाई नै ज्ञान र क्षमताको पर्याप मान्ने ज्येष्ठतन्त्र अर्थात् जेरोन्टोक्रेसीले मार्क्सवाद र लोकतन्त्र सबैको मुटु-कलेजो सिध्याइदिन्छ । यही अभ्यासका विरुद्ध हो, सायद मतदाताले आफ्नो शक्ति देखाइदिए । नेताहरूलाई जमिन टेकाइदिए ।
बिडम्बना त के छ भने जेनजी आन्दोलनको क्षतिपछि पनि जमिन नटेकेका नेताहरू अझै पनि आफ्नो ऐतिहासिक विरासतमा गइरहेको भीषण पहिरोलाई नजरअन्दाज गरिरहेका छन् ।
हो, राजनीतिमा संख्या सधैं निर्णायक नहुन सक्छ, तर लोकतन्त्रमा जनादेशले पार्टीको हैसियत र ऐना भने पक्कै देखाउँछ । जनमत निरन्तर घट्दै जानु र पार्टी खुम्चिनु भनेको नेतृत्वको नीति र व्यवहारलाई जनताले अस्वीकार गर्नु हो । यस्तो अवस्थामा गम्भीर आत्मसमीक्षा गर्नुको साटो आफूलाई ‘सिंह’ दाबी गर्नु केवल आत्मरति मात्र हुनेछ ।
प्रतिक्रिया 4