+
+
Shares
निर्वाचन २०८२ फिचर :

‘हाई’ मतान्तर हारमा ‘हाई प्रोफाइल’

अध्यक्ष केपी शर्मा ओली मात्रै होइन, उनी नेतृत्वको नेकपा एमाले पदाधिकारीको पूरै टिमलाई संसदीय राजनीतिमा जनताले अस्वीकृत गरिदिएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ फागुन २५ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहसँग ४९ हजार ६ सय २४ मतान्तरले पराजित भए।
  • एमालेका उपाध्यक्ष, महासचिव र सचिवसहितका पदाधिकारीहरू पनि संसदीय चुनावमा हार बेहोरेका छन्।
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र अन्य शीर्ष नेताहरू पनि चुनावमा पराजित भएका छन्।

२५ फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय निर्वाचनमा दोस्रो पटक हार बेहोरे । पहिलो हार २०६४ सालमा खेपे । यसपालि दोस्रो हार खेप्दा उनी मतान्तरमा पनि निकै पछाडि परे ।

झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७ सय ३४ मत पाए । जबकि, २०७९ निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८ सय ४२ मतान्तरले पराजित गर्दै ओली निर्वाचित भएका थिए । त्यसबेला ओलीले ५२ हजार २ सय ११ मत ल्याएका थिए । यसपालि ४९ हजार ६ सय २४ मतान्तरले ओली बालेनसँग पराजित भए ।

योसँगै झापा-५ लाई आफ्नो क्षेत्र भन्दै आएका ओलीको बोली खण्डित भएको छ । ओलीले यसअघि झापा–५ बाट २०४८, २०५१ र २०५६ सालको चुनाव जितेका थिए । २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा पराजित भए पनि त्यसयताका तीनवटै संसदीय चुनाव २०७०, २०७४ र २०७९ मा जितेका थिए ।

ओलीले चुनाव जितेका मात्र होइनन्, उनी संसदीय राजनीतिको शीर्ष स्थानमा रहँदै आएका नेता हुन् । २०५१ सालमा गृहमन्त्री भए । २०६३ मा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बने । २०७२, २०७४ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भए । २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री थिए । त्यसबेला राजीनामा दिन बाध्य भएका ओलीका लागि गत बिहीबारको चुनाव संसदीय राजनीतिका लागि बिराम लाग्ने दिन बन्यो ।

एमाले पदाधिकारी पूरै अस्वीकृत

अध्यक्ष ओली मात्रै होइन, उनी नेतृत्वको नेकपा एमाले पदाधिकारीको पूरै टिम संसदीय राजनीतिमा जनताबाट अस्वीकृत भएका छन् ।

उपाध्यक्षत्रय गोकर्ण विष्ट (गुल्मी-२), विष्णु पौडेल (रुपन्देही–२) र पृथ्वीसुब्बा गुरुङ (लमजुङ) ले संसदीय चुनाव हारे । महासचिव शंकर पोखरेल (दाङ–२), उपमहासचिव लेखराज भट्ट (कैलाली–४), सचिवद्वय महेश बस्नेत (भक्तपुर–२) र रघुवीर महासेठ (धनुषा–४) ले चुनाव जित्न सकेनन् ।

एमालेका सचिवत्रय शेरधन राई (भोजपुर), राजन भट्टराई (काठमाडौं–४) र भानुभक्त ढकाल (तेह्रथुम) ले पनि हार बेहोरे ।

जबकि, एमालेको यो पदाधिकारी टिम जेनजी आन्दोलनपछि ३ पुसमा सम्पन्न महाधिवेशनबाट आएको टिम हो । यो टिममा रहेका र यसपालि संसदीय राजनीतिमा पराजित नेताहरू पटक–पटक संसदीय राजनीतिमा चुनाव जितेका हुन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पनि तीन दशकदेखिका राजनीतिक खेलाडी हुन् । २०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका उनी २०५६ मा रुपन्देहीबाट चुनाव लडेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए ।

२०६४ को संविधानसभा निर्वाचनयता भने उनी पछाडि फर्कनु परेको थिएन । देशभरि माओवादी पक्षमा चुनावी लहर आएको पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका उनलाई यसपालि जेनजी आन्दोलनको पृष्ठभूमिमा रास्वपामा आएको लहरले बढार्‍यो ।

२०७० मा रुपन्देही–४, २०७४ र २०७९ मा रुपन्देही–२ बाट निर्वाचित पौडेललाई यसपालि रुपन्देही–२ मै रास्वपाका सुलभ खरेलले रोके ।

त्यस्तै उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ २०४३ साल यताकै सदाबहार उम्मेदवार हुन् । २०४३ सालमा लमजुङ–२ बाट जनपक्षीय उम्मेदवार बनेका थिए । बहुदल आएपछि २०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भए । २०५१ र २०५६ मा पनि गुरुङ उम्मेदवार बने, तर पराजय बेहोरे । २०६४ सालको चुनाव जिते । २०७० मा हारे । २०७४ मा प्रदेशसभा उम्मेदवार बने र जिते । गण्डकीको मुख्यमन्त्री बने । उनी २०७९ मा प्रतिनिधिसभा सदस्यमै निर्वाचित भए । यसपालि पुन: उम्मेदवार बने, तर चुनाव जितेनन् ।

एमालेका अर्का उपाध्यक्ष गोकर्ण विष्ट पनि संसदीय राजनीतिका अनुभवी नेता हुन् ।  २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा चुनाव लडेका उनी तीमध्ये २०६४ मा बाहेक सबै निर्वाचनमा विजयी भएका थिए । अहिले दोस्रो पटक हारे । यसपटक विष्टलाई रास्वपाका गोविन्द पन्थीले रोके ।

महासचिव शंकर पोखरेल पनि दाङ–२ मा चुनाव हारे । २०७९ चुनावमा झिनो मतान्तरले पराजित उनलाई यसपालि रास्वपाका विपिनकुमार आचार्यले २८ हजार बढी मतान्तरले हराइदिए । योसँगै पुराना संसदीय राजनीतिका खेलाडी पोखरेल यसपालि रोकिए ।

त्यसैगरी उपमहासचिव लेखराज भट्टलाई पनि यसपालिको चुनाव खल्लो रह्यो । कैलाली–४ बाट चुनाव जित्न सकेनन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिकामा पार्टीका तर्फबाट सांसद बनेका भट्टले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन जिते । चुनाव जितेपछि सुरुमा श्रममन्त्री, त्यसपछि विज्ञान तथा प्रविधिमन्त्री र २०६८ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री बने ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भए । २०७९ मा पराजित भए । यसपटक भने जित्न सकेनन् ।

पार्टीभित्रका प्रभावीलाई जनताले पत्याएनन्

एमालेभित्र प्रभावशाली नेताका रूपमा रहेका सचिवद्वय महेश बस्नेत र रघुवीर महासेठले पनि संसदीय चुनाव हारे । बस्नेतलाई भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले हराइदिए । बस्नेतले २०५४ सालदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका हुन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी गुण्डु गाविस अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला २३ वर्ष पुगेका उनी देशभरिका निर्वाचित गाविस अध्यक्षमध्ये कान्छा थिए ।

२०७० मा संविधानसभा सदस्यको उम्मेदवार बने, चुनाव जितेनन् । २०७१ सालमा एमाले अध्यक्षमा ओली निर्वाचित भएसँगै उनी पार्टीमा शक्तिशाली हुँदै आए । संसदीय चुनाव नजिते पनि ओलीले उनलाई २०७२ सालमा ६ महिनासम्म मन्त्री बनाए । जस अन्तर्गत बस्नेत भदौ २०७१ देखि असोज २०७२ सम्म उद्योगमन्त्री बने ।

२०७४ सालमा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । २०७९ मा चुनाव हारे । यसपटक पनि जित्न सकेनन् ।

एमालेभित्र मधेस प्रदेश कमान्डरका रूपमा रहेका अर्का प्रभावशाली सचिव हुन् रघुवीर महासेठ । यसपालि महासेठले पनि चुनाव जित्न सकेनन् । धनुषा–४ बाट महासेठलाई रोकेर रास्वपाका राजकिशोर महतो निर्वाचित भए ।

एमालेका सचिवत्रय शेरधन राई, राजन भट्टराई र भानुभक्त ढकालले पनि हार बेहोरे । एमालेका अर्का सचिव भट्टराईले त हारमा ‘ह्याट्रिक’ गरे ।

२०७४ सालको निर्वाचनबाट प्रत्यक्षततर्फको प्रतिस्पर्धामा उत्रिन थालेका हुन् । पहिलो पटक काठमाडौं–४ बाट चुनाव हारेका उनले २०७९ र २०८२ को चुनाव पनि जित्न सकेनन् ।

यसअघि दुई पटक भट्टराईलाई पराजित गरेका कांग्रेस सभापति गगन थापा यसपालि सर्लाही–४ मा चुनाव लड्न गए । यसपछि भट्टराईलाई सहज हुने कतिपयको अनुमान थियो । तर, चुनावी नतिजामा भट्टराई तेस्रो भए ।

एमालेका अर्का सचिव भानुभक्त ढकाललाई पनि यसपालि चुनाव बिर्सनालायक रह्यो । उनी तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बासँग हारे ।

कांग्रेसलाई पनि विश्वासको खडेरी

एमालेमात्र होइन, सात दशक पुरानो नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई पनि यसपालि चुनाव दाहिना भएन । जेनजी आन्दोलनको पृष्ठभूमिमा पार्टीभित्र नेतृत्वमा पुस्तान्तरण गर्न सफल कांग्रेस सभापति गगनकुमार थापा नै ठूलो मतान्तरसहित पराजित भए ।

विगतमा निरन्तर काठमाडौं-४ बाट चुनाव जित्दै आएका थापा विशेष महाधिवेशनबाट सभापति भएसँगै सर्लाही–४ मा चुनाव लड्न गए । अमरेश विगतमा कांग्रेसमै थिए । २०७९ सालमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते ।

२०६४ सालमा संविधानसभामा समानुपातिक सभासद बनेका गगनले २०७०, २०७४ र २०७९ मा लगातार काठमाडौं–४ बाट चुनाव जितेका थिए ।

गगनमात्र होइन, विशेष महाधिवेशनबाट थापा नेतृत्वमा आएको कांग्रेस पदाधिकारी टिम नै जनताबाट अस्वीकृत भएको छ ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल रास्वपाका उम्मेदवारहरूसँग पराजित भए । काठमाडौं–५ बाट उम्मेदवार रहेका पौडेललाई रास्वपाका सस्मित पोखरेलले रोके । मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी विजयी हुँदा कांग्रेस महामन्त्री गुरुराज घिमिरे पराजित भए ।

कांग्रेस सहमहामन्त्रीहरूले पनि जितेनन्

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशमशेर राणा र प्रकाश रसाइली स्नेही कोही पनि प्रतिनिधिसभामा देखिने छैनन् । अर्का सहमहामन्त्री योगेन्द्र चौधरी र उदयशमशेर जबरा पनि रास्वपा उम्मेदवारसँग पराजित हुन पुगे ।

दलित क्लस्टरबाट सहमहामन्त्री बनेका प्रकाश स्नेही रसाइलीले पनि चुनाव जित्न सकेनन् । अर्का सहमहामन्त्री कर्णबहादुर बुढा पनि संसदीय निर्वाचनमा सफल हुन सकेनन् ।

यसबाहेक कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला, विजय कुमार गच्छदार लगायत पनि संसदीय राजनीतिमा रोकिएका छन् ।

नेकपा र मधेसी दलमा पनि पहिरो

हाई प्रोफाइल नेता रहेका दल नेपाली कम्युनिस्ट पार्टी र मधेस केन्द्रित दलमा पनि पहिरो गएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट चुनाव जिते पनि सहसंयोजक माधव नेपालले हार बेहोरे ।

नेकपामा हाई प्रोफाइल नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, गिरिराजमणि पोखरेल लगायत संसद् आउन नपाउने भए । मधेस केन्द्रित दलका शीर्ष नेता उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो, प्रभु साह पनि यसपालि रोकिए ।

नेकपाका प्रभावशाली नेता भीम रावलका लागि पनि यसपालि निर्वाचन खल्लो रह्यो । लामो राजनीतिक अनुभव र नैतिकताको राजनीतिको नारासहित नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी मैदानमा उत्रिएका रावल अछाम–१ मा पराजित भए

राप्रपामा सन्नाटा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेता कमल थापा लगायतको संसद् छिर्ने धोको पूरा भएन ।

लिङ्देन झापा–३ बाट ह्याट्रिक गर्ने दाउमा थिए तर सकेनन् । २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित भए पनि त्यसपछिका दुवै निर्वाचनमा जितेका  थिए ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले त चुनावी हारमा ह्याट्रिक नै भएपछि पार्टी नै छाडिदिए । तेस्रो पटक पराजय बेहोरेपछि हार स्वीकार्दै मिश्रले राजनीतिबाट बिदा लिएको घोषणा नै गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?