News Summary
Generated by OK AI. Editorially reviewed.- रमेश सापकोटाले सुर्खेत–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट पाउँदै कांग्रेस–एमालेको चार दशक लामो विरासत तोड्न सफल भएका छन्।
- सापकोटा पहिले सवारी चालक थिए र पछि यातायात व्यवसायी बनेर सामाजिक सङ्घसंस्थामा सक्रिय भई नयाँ संघीय संसद्मा प्रवेश गर्ने भएका छन्।
- सुर्खेत–२ क्षेत्रमा विगत चार दशकदेखि कांग्रेस र एमालेले चुनाव जित्दै आएका थिए, तर २०७९ मा माओवादीको समर्थनमा कांग्रेसले पुनः चुनाव जितेको थियो।
२३ फागुन, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुर्खेत–२ को उम्मेदवार बन्दै गर्दा रमेश सापकोटालाई लागेको थिएन, यो पटक चुनाव जितिन्छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म यो क्षेत्रमा रास्वपाको उम्मेदवार को बन्छ भन्ने नै टुङ्गो थिएन ।
रास्वपा भित्र पनि चार–पाँच जना नेताहरू आकांक्षी थिए । अन्ततः रास्वपा सुर्खेत सभापतिसमेत रहेका सापकोटाले टिकट पाए । मनोनयन दर्ता गराए र घरदैलोमा होमिए । ‘घरदैलोमा हिँडेपछि थापा पाएँ, घण्टीको पक्षमा अभूतपूर्व जनलहर थियो । अनि लाग्यो, अब चुनाव जितिन्छ,’ सापकोटा भन्छन् ।
त्यसपछि उनले सामाजिक सञ्जालमा आक्रामक प्रचार चलाए । घरदैलोलाई व्यापक बनाए । प्रत्येक टोल–टोलमा पुगे । पुराना दलहरूप्रतिको वितृष्णालाई हतियार बनाए । ‘कांग्रेस–एमालेले चार दशकदेखि के दिए ?’ भन्दै चर्को प्रश्न गरे ।
रमेशले आक्रामक चुनावी प्रचार गरे पनि अन्य दलहरूलाई लागेको थियो– उनले भोट काट्छन् । तर चुनाव जित्दैनन् । त्यसको कारण थियो, यो क्षेत्रमा विगत चार दशकदेखि (२०६४ बाहेक) कांग्रेस–एमालेले चुनाव जित्दै आएका थिए । २०५१ को निर्वाचनयता यो क्षेत्र कांग्रेस नेता हृदयराम थानी र एमाले नेता यामलाल कँडेलको म्युजिकल चियर जस्तै थियो ।
थानी–कँडेलको बरोबर चुनावी हारजित चलिरह्यो । देशमा व्यवस्था फेरिए तर ती दुई अनुहार फेरिएका थिएनन् । २०७४ यति प्रदेशमा झरेका कँडेल हाल कर्णालीका मुख्यमन्त्री छन् भने निवर्तमान सांसद थानी पुनः दोहोरिन चाहन्थे । कांग्रेस विशेष महाधिवेशनपछि उनले एकाएक चुनाव नलड्ने घोषणा गरे ।
कांग्रेसले बौद्धिक छवि बनाएका युवा नेता नारायण कोइरालालाई उम्मेदवार बनाएको थियो भने एमालेले पनि जिल्ला अध्यक्ष कुलमणि देवकोटालाई चुनावी मैदानमा उतारेको थियो । यी दुवै नेता ‘फ्रेस फेस’ थिए । जिल्लामा रमेशभन्दा लामो समयदेखि राजनीति लागेका उनीहरू विवादरहित र प्रभावशाली नेताको रूपमा चिनिन्थे ।
जसले गर्दा यो चुनाव कोइराला–देवकोटामध्ये एकले जित्ने धेरैको अनुमान थियो । सापकोटा भने आत्मविश्वासका साथ भन्थे, ‘जनता जागिसके, सुर्खेत–२ मा घण्टी बज्छ ।’ अन्ततः उनी फराकिलो मत अन्तरले विजयी हुँदै कांग्रेस–एमालेको चार दशक लामो विरासत तोड्न सफल भएका छन् ।
सवारी चालक हुँदै सदनसम्म
रमेश सापकोटाको जीवन कुनै फिल्मी कथाभन्दा कम छैन । कुनै बेला सुर्खेत–काठमाडौँ रात्रि बसका चालक रहेका रमेश अब सुर्खेत जिल्लाको प्रतिनिधि बनेर सिंहदरबारस्थित बन्दै गरेको नयाँ संघीय संसद्मा प्रवेश गर्नेछन् ।
कडा परिश्रम र संघर्षबाट सफलता प्राप्त गरेका सापकोटा २०३६ साल मंसिर १५ गते सुर्खेतको तत्कालीन साटाखानी गाविसमा जन्मिएका हुन् । २०४६ तिर उनको परिवार वीरेन्द्रनगर–७, इत्राममा आएको थियो । उनका आमा, बुवा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
कक्षा १० सम्म महेन्द्र मावि तुलसीपुर दाङमा पढेका सापकोटा एसएलसी पास भएपछि सुर्खेत बहुमुखी क्याम्पसमा इन्टरमा भर्ना भए । तर पारिवारिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सकेनन् । २४ वर्षको उमेरमा खाडी मुलुक छिरे । करिब ७–८ वर्ष साउदी र कतारमा काम गरे ।
पछि नेपाल फर्किए । विदेशमा सवारी चालक रहेका उनले त्यो सिपलाई नेपालमै लगाए । आफ्नै बस किने र २०६९ सालमा काँक्रेविहार यातायात व्यवसायी सङ्घ सञ्चालनमा ल्याए । जसको संस्थापक सचिव थिए, सापकोटा ।
२०७५ मा सुर्खेत काँक्रेविहार यातायात सङ्घ प्रालिमा रूपान्तर भयो । सापकोटा त्यसको अध्यक्ष बने । उम्मेदवार बन्नु अगाडि मात्रै उनले समितिको अध्यक्षबाट राजीनामा दिएका थिए । संघमा १७० बढी सवारी साधनहरू रहेका छन् । देशैभर ३०० बढी युवालाई रोजगारी दिएको उनको दाबी छ ।
सापकोटा व्यापारसँगै विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा समेत सक्रिय थिए । रोटरी क्लब अफ सुर्खेतको २०२३–०२४ को अध्यक्ष भए । त्यो बेला उनको नेतृत्वमा जाजरकोटका भूकम्प प्रभावितहरूलाई ठूलो सहयोग गरेका थिए ।
२०७३ देखि २०७५ सम्म सुर्खेत उपत्यका नगर विकास समितिको सदस्य भएरसमेत उनेका काम गरेका थिए । त्यो बेला अध्यक्ष कांग्रेसका नारायण कोइराला नै थिए । संयोगवश सापकोटाले तिनै कोइरालालाई हराउँदै जित निकाले ।
त्यो बेला रमेश नेपाली कांग्रेस सुर्खेतमा राजनीतिमा जोडिएका थिए । २०७८ मा नेपाली कांग्रेस वीरेन्द्रनगरको नगर सचिवमा निर्वाचित भएका थिए । कांग्रेस भित्रको गुटगत पेलान थेग्न नसकेका उनी पछि २०८१ असोज ३० गते सचिवबाट राजीनामा दिएर रास्वपा जिल्ला सभापति बनेका थिए ।
यातायात व्यवसायीहरूको साझा सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशको संयोजकसमेत रहेका सापकोटा वीरेन्द्रनगर बचत सहकारी संस्थाको सञ्चालक समितिको सचिव रहेका थिए । उम्मेदवार भएपछि उनले दुवै संस्थाबाट राजीनामा दिएको बताए ।
कांग्रेस-एमालेका चार दशक
विगत ४ दशकदेखि नै सुर्खेत–२ कांग्रेस–एमाले बाहुल्य क्षेत्र रहेको थियो । पञ्चायतकालमा यी दुई दलले भूमिगत रूपमा जिल्लामा सङ्गठनलाई मजबुत रूपमा विस्तार गर्दै आएका थिए । देशमा बहुदलीय व्यवस्था आएपछि सबैजसो संसदीय चुनावमा यी नै दुई दल प्रमुख प्रतिस्पर्धी बनेका थिए ।
२०६४ को माओवादी जनलहरले यो क्षेत्र अछुतो रहेन । त्यो बेला माओवादीका नेता भीमबहादुर मल्लले चुनाव जितेका थिए । त्यसयता पुनः कांग्रेस–एमाले नै प्रमुख प्रतिस्पर्धी बनेका थिए । ५० को दशकदेखि थानी र कँडेलले निरन्तर उम्मेदवारी दिँदै आएका थिए ।
थानी २०५० को दशकदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए । ५१, ५६, ६४, ७०, ७४ र ७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बनेका थानीको जित र हार बराबर छ । २०५१ सालको मध्यावधि निर्वाचनमा थानीलाई एमाले नेता यामलाल कँडेलले पराजित गरेका थिए । २०५६ मा थानी पुनः उम्मेदवार बनेर चुनाव जिते ।
२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका कँडेलले फेरि थानीलाई पराजित गरे । ७० को संविधान सभामा पनि कांग्रेसबाट सुर्खेत–२ मा थानी नै उम्मेदवार बने । उक्त चुनावमा एमालेका नेता कँडेलविरुद्ध एमालेकै शिवप्रसाद उपाध्याय बागी उम्मेदवार बनेपछि थानीले सहजै चुनाव जिते ।
२०७४ मा एमाले–माओवादीबीच गठबन्धन हुँदा सुर्खेत–२ मा थानी पराजित भए । २०७९ मा माओवादीको समर्थनमा थानीले पुनः प्रतिनिधिसभा चुनाव जिते । कँडेल भने प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै कर्णाली प्रदेशसभामा झरेका थिए ।
प्रतिक्रिया 4