+
+
Shares

४ जना मारिएको त्यो चुनाव, १ जना घाइते नभएको यो चुनाव

२०७९ को चुनावमा थुप्रै झडपका घटना भएका थिए । चार जनाको ज्यान नै गएको थियो । तर अहिलेको चुनाव एक जना व्यक्ति घाइतेसमेत नभई शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचनको करिब एक महिनाअघि प्रहरी अधिकृतले अहिलेको निर्वाचन सुरक्षाका हिसाबले सबैभन्दा चुनौतीपूर्ण हुने बताए।
  • २०७९ को निर्वाचनमा झडप, मानवीय क्षति र मतदान अवरुद्ध हुने घटनाहरू भएका थिए भने अहिलेको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो।
  • सात वटै प्रदेशमा एआईजी परिचालन गरिएको थियो र नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागले पनि सुरक्षा व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेका छन्।

२४ फागुन, काठमाडौं । ‘अब हुने निर्वाचन सुरक्षाका हिसाबले सबैभन्दा चुनौतीपूर्ण रहन्छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि भएको २०६४ को निर्वाचनमा भन्दा अहिले प्रहरीको मनोबल गिरेको छ,’ निर्वाचनको करिब एक महिनाअघि अनौपचारिक कुराकानीको क्रममा एक प्रहरी अधिकृतले भनेका थिए ।

यसको पछाडि अरू केही कारण नभएर जेनजी आन्दोलन रहेको उनले उल्लेख गरे । हतियार लुटिएका छन् । कैदीबन्दी फरार छन् । स्रोत-साधन छैन, बन्दोबस्तीको सामान छैन । सबैभन्दा चुनौतीको कुरा त प्रहरीको मनोबल उच्च हुन सकेको छैन । यिनै तर्कहरू ती प्रहरी अधिकृतले गरेका थिए ।

तर, प्रहरी तथा सुरक्षाकर्मी आफैंले सोचेभन्दा पनि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ । यस्तो अवस्थामा सम्पन्न भएको निर्वाचनलाई सुरक्षाका हिसाबले ऐतिहासिक मान्नुपर्ने नेपाल प्रहरीका पूर्वएआईजी उत्तमराज सुवेदीको तर्क छ ।

‘पञ्चायतमा गरेका चुनावका पनि धेरै विषय सुनियो । ३० वर्ष प्रहरीमा रहँदा आफैंले पनि चुनाव गराइयो । तर यस्तो जटिल अवस्थामा भएको यो चुनाव सुरक्षाका हिसाबले एकदमै सफल र ऐतिहासिक रह्यो,’ सुवेदी भन्छन् ।

सुवेदीले भने जस्तै अहिलेको निर्वाचन सुरक्षाका हिसाबले एकदमै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । अझ २०७९ मा भएको निर्वाचनको तुलनामा त यो निर्वाचन ऐतिहासिक नै रह्यो ।

यस निर्वाचनमा सुरक्षा अवस्था, झडपका घटनाहरू, मानवीय क्षति, मतदान व्यवस्थापन र समग्र निर्वाचन प्रक्रिया सञ्चालनका दृष्टिले उल्लेखनीय सुधार देखिएको छ ।

२०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच थुप्रै झडपका घटनाहरू भएका थिए ।

जसका कारण कतिपय स्थानमा मतदान स्थगित गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको थियो । सोही क्रममा बाजुरामा २ जना र कालिकोटमा २ जना गरी ४ जनाको मृत्यु नै भएको थियो । त्यतिबेला इलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

यस्तै, ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु, दार्चुला लगायतका जिल्लामा विस्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया बिथोल्ने प्रयास भएका थिए ।

ताप्लेजुङ, ओखलढुंगा, सप्तरी, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ, कैलाली र ललितपुरमा गरी ५० स्थानमा झडपका घटनाहरू भएका थिए ।

यसबाहेक, उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जा हुनुका साथै देशभर ६२ मतदानस्थलमा निर्वाचन कार्य अवरुद्ध हुन पुगेको थियो ।

तर, अहिलेको निर्वाचनमा यी कुनै घटना दोहोरिन पाएनन् । दोलखाको मालुमा सामान्य विवाद भयो । जसका कारण प्रहरीले तीन राउन्ड हवाई फायर गर्नुपरेको थियो । केही समय रोकिएको मतदान शान्तिपूर्ण रूपमा पुनः सञ्चालन भएर सम्पन्न भयो । जबकि, अघिल्ला निर्वाचनहरूमा दोलखामा झडप हुनेदेखि ज्यानै जानेसम्मका घटनाहरू भएका थिए ।

अहिलेको निर्वाचनमा सुरक्षा व्यवस्थापन चुस्त, दुरुस्त र व्यवस्थित भएका कारण समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो ।

मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थितिलाई व्यवस्थित, सक्रिय र प्रभावकारी बनाइएपछि कुनै पनि स्थानमा ठूलो झडप वा हिंसात्मक घटना हुनबाट जोगिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्की बताउँछन् ।

मतदानको क्रममा कतिपय स्थानमा सामान्य विवाद उत्पन्न भए पनि सुरक्षामा खटिएका प्रहरीले संयमित र प्रभावकारी रूपमा तत्कालै स्थिति नियन्त्रणमा लिएकाले मतदान प्रक्रिया सौहार्द्रपूर्ण वातावरणमा समयमै सम्पन्न भएको प्रहरीको बुझाइ छ ।

निर्वाचन सुरक्षाकै लागि भने सात वटै प्रदेशमा एआईजी परिचालन गरिएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीको भूमिका पनि उल्लेख्य रह्यो । एक महिनाअघि २१ माघदेखि नै नेपाली सेना परिचालन गरेर परिस्थिति सामान्य बनाइँदै लगिएको थियो ।

विशेषगरी यो निर्वाचनमा सेनासँगको सहकार्य पनि उत्कृष्ट रहेको अन्य सुरक्षा निकायहरूले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?