News Summary
Generated by OK AI. Editorially reviewed.- जेन्जी आन्दोलनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा अधिकांश पूर्वअर्थमन्त्रीले हार बेहोरेका छन्।
- एमालेका पाँच पटक अर्थमन्त्री विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग पराजित भएका छन्।
- पूर्वअर्थमन्त्रीमध्ये नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनमात्रै रोल्पाबाट विजयी भएका छन्।
२४ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभाको निर्वाचनमा अधिकांश पूर्वअर्थमन्त्रीहरुले हार बेहोरेका छन् । दशकौँदेखि राज्य सत्ताको बागडोर सम्हालेका अनुभवी नेताहरूले समेत पराजय भोग्नुपरेको यसपटकको निर्वाचनमा राज्यको ढुकुटी व्यवस्थापन गरेका पूर्वअर्थमन्त्रीहरूले पनि सर्मनाक हार बेहोर्नुपरेको हो ।
२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो दल थियो । त्यसबीचमा रास्वपा दुईपटक सरकारमा गए पनि सो दलबाट अर्थ मन्त्रालयको जिम्मेवारी भने कसैले पनि पाएका थिएनन् । त्यसो हुँदा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वअर्थमन्त्रीहरु चुनावी मैदानका उत्रिएकोमा एकजना बाहेक सबैको हार भएको हो ।
पूर्वअर्थमन्त्रीहरुमध्ये नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनमात्रै विजयी भए ।
भ्रष्टाचार तथा गलत शासकीय अभ्यासका कारण राजनीतिक दल तथा नेताप्रति आम नागरिकको आक्रोश जनमतमा परिणत भएपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ तीन चौथाईभन्दा बढी सिट जितेको छ । सोही क्रममा बारम्बार अर्थमन्त्री भएका पार्टीका शक्तिशाली नेताहरुलाई पनि जनताले दण्डित गरेका हुन् ।
एमालेका उपाध्यक्ष तथा पाँचपटक अर्थमन्त्री भएका नेता विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट फराकिलो मतान्तरले पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग हारेका हुन । खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएको निर्वाचन आयोगले जनाएको छ । पौडेल २०७२ देखि हालसम्म ५ पटक अर्थमन्त्री बनिसकेका छन् ।
गत भदौ २२ र २३ गतेको अन्दालन हुनु भन्दा अघि पनि अर्थमन्त्री नै थिए । यसभन्दा अघि २०७९ को निर्वाचनमा पौडेलले रूपन्देहीको सोही निर्वाचन क्षेत्रबाट पटकपटक निर्वाचन जितेका थिए ।
पराजित भएपछि उनले विगतमा आफ्नातर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भिर समीक्षा गर्ने बताएका छन् । ‘जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्वअर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट हार बेहोरेका छन् । चुनावको केही समयअघि मात्रै आफ्नो पुरानो पार्टी नेकपा एकीकृत माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनी पुरानै पार्टीका उम्मेदवारसँग पराजित हुन पुगेका हुन् ।
१४ हजार ३ सय ४६ मत ल्याएका उनले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । उनका प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याई विजयी भए । दोस्रो स्थापनमा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत सहित दोस्रो स्थान हासिल गरेका थिए ।
उनी रुकुम जिल्लाबाट २०६४ साल यताका निर्वाचनमा निरन्तर विजयी हुँदै आएका थिए । २०७८ मा कांग्रेस पुर्व सभापति शेरबहादुर देउवा नेतृत्च सरकारमा शर्मा अर्थमन्त्री बनेका थिए । उनले बजेट निर्माण गर्ने क्रममा व्यवसायीका प्रतिनिधिलाई राखेको आरोप लगेपछि राजीनामा दिएका थिए । संसदीय छानविन समितिले उनलाई निर्दोष ठहर गरेपछि उनी पुन अर्थमन्त्री भएका थिए । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालसँगको असन्तुष्टिपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी– ४ बाट पराजित हुन लागेका छन् । उनलाई कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका दिपककुमार शाहले हराउँदै छन् । निर्वाचन आयोगका अनुसार कार्कीले १३ हजार ३ सय ७८ मत पाउँदा शाहले ३५ हजार ३ सय ९८ मत पाइसकेका छन् । कार्की २०७४ जेठमा शेरबहादुर देउवा प्रधानमन्त्री भएको सरकारका अर्थमन्त्री थिए ।
त्यस्तै, कांग्रेसकै वरिष्ठ नेता डा. प्रकाशशरण महत नुवाकोट निर्वाचन क्षेत्र एकबाट प्रतिस्पर्धामा छन् । सो निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छैन र उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाभन्दा पछि परेका छन् । महतले हालसम्ममा १५ हजार एक सय ११ मत पाएका छन् भने रास्वपाका तिमिल्सिनाले १८ हजार एक सय ४४ मत सहित अग्रस्थानमा छन् । महत तिमिल्सिना भन्दा ३ हजार भन्दा धेरै मतले पछाडि छन् ।
यसपटक निर्वाचनमा भाग लिएका पूर्व अर्थमन्त्रीहरुमध्ये वर्षमान पुन मात्रै विजयी भएका छन् । उनी रोल्पाबाट २७ हजार ४ सय ६० मत प्रप्त गर्दै विजय भएका हुन् । उनले नेपाली कांग्रेसका सुदनकुमार वलीलाई ठुलो मतान्तरले हराएका हुन । वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् । पुन हालसम्म २ पटक अर्थमन्त्री भैसकेका छन् ।
पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा पनि निर्वाचनमा पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव उठेका उनी रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएका हुन् । महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा जबराले १३ हजार ५ सय २० मत मात्रै प्राप्त गर्न सफल भएका थिए ।
जबरा शेरबहादुर देउवा प्रधानमन्त्री तथा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका बखत २०७४ सालमा अर्थराज्यमन्त्री भएका थिए । पूर्वअर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, महेश आचार्य, डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र कृष्णबहादुर महरा चुनाव उठेका थिएनन् ।
प्रतिक्रिया 4