News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १६१ क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरेको छ।
- पत्रकार ऋषि धमला, दिवाकर साह, निशा अधिकारी लगायत सामाजिक सञ्जालमा चर्चित उम्मेदवारले जमानतसमेत जोगाउन सकेनन्।
- रौतहट ४ मा रास्वपाका गणेश पौडेलले ३६ हजार ८७६ मत पाए भने ऋषि धमलाले ६५५ मत मात्र प्राप्त गरे।
२५ फागुन, काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको १६१ क्षेत्रको अन्तिम नतिजा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२४ सिटमा जित निकाल्न सफल भएको छ ।
सामाजिक क्षेत्रबाट उदाएका धेरै उम्मेदवार विजयी हुँदा सामाजिक सञ्जालमा भाइरल केही उम्मेदवारलाई भने मतदाताले पत्याएनन् । उनीहरुले जमानतसमेत जोगाउन सकेनन् ।
पत्रकारिता गरिरहेका ऋषि धमला प्रभु साह नेतृत्वको जनमत पार्टीबाट रौतहट क्षेत्र नम्बर ४ मा चुनाव लडे तर जमानत जफत भयो । पत्रकारिताको समयमा सधैं भाइरल हुने उनी निर्वाचनको बेलामा पनि चर्चित रहे । कहिले जेरी र चटपटे बनाएर त कहिले ट्याक्टर चलाएर उनी भाइरल भइराखे ।
तर, उनलाई त्यहाँका मतदाताले पत्याएनन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले ३६ हजार ८७६ मत ल्याउँदा ऋषि धमलाले मात्र ६५५ मत पाए ।
धमला जस्तै सामाजिक सञ्जालमा छाएका दिवाकर साह, निशा अधिकारी, प्रा.डा. युवराज संग्रौला र समीरमान सिंह बस्नेतले पनि जमानत जोगाउन सकेनन् । सामाजिक सञ्जालमा चर्चा पाउने हेमराज थापा र स्वागत नेपाल (भद्रप्रसाद नेपाल)पनि जितबाट टाढा रहन पुगे ।
धमला जस्तै पत्रकारिताबाट चर्चामा आएका दिवाकर साहलाई मतदाताले विश्वास गरेनन् । उनले धनुषा–३ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
पत्रकारिता गर्दा सामाजिक क्षेत्रमा भएको विसंगतीविरुद्ध आवाज उठाएर चर्चा पाएका दिवाकर यसपटक चुनावमा होमिएका थिए । उक्त क्षेत्रमा रास्वपाका मनिष झाले ४३ हजार ९८८ मत ल्याउँदा दिवाकर ३९८ मतमै रोकिए । निर्वाचनमा जमानतसमेत जोगाउन नसकेका दिवाकरले पत्रकारितामा फर्किसकेको बताएका छन् ।
गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी अभिनेत्री निशा अधिकारीले एक सय मत समेत कटाउन सकिनन् । उक्त क्षेत्रका विजेता सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा निशा ९१ मतमै अड्किइन् । करिअरमा ३० भन्दा बढी फिल्ममा अभिनय गरेर चर्चामा आएकी निशालाई पनि काठमाडौं–५ का मतदाताले पत्याएनन् ।
सामाजिक विषयमा चर्काे आवाज उठाएर चर्चित बनेका हेमराज थापालाई पनि यसपटक मतदाताले संसदमा पठाएनन् । बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका हेमराज तेस्रो बने । उक्त क्षेत्रमा विजयी भएका नेपाली कांग्रेसका जनकराज गिरीले १७ हजार १७३ मत ल्याउँदा हेमराजले ६ हजार ३५ मत मात्र लिन सके ।
वरिष्ठ अधिवक्ता, कानुनविद् र पूर्व महान्यायाधिवक्ता प्रा.डा युवराज संग्रौला पनि यसपटकको निर्वाचनमा झापा–२ बाट पछारिए । उक्त क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका संग्रौलाले जमानत समेत जोगाउन सकेनन् ।
संविधान, फौजदारी कानुन र राष्ट्रिय मामिलाहरूका विषयमा बेलाबेलामा फरकफरक मत राखेर चर्चा आउने संग्रौलालाई झापा–२ का मतदाताले पत्याएनन् । विजेता रास्वपाकी इन्दिरा रानामगरले ६० हजार ११० मत ल्याउँदा संग्रौलाले मात्र ३०५ मत मात्रै पाए ।
झापा २ बाटै चुनाव लडेका राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत नेपाल)ले भने ३ हजार ९६५ मत पाए ।
काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उद्यमी असिममान सिंह बस्न्यातलाई पनि मतदाताले पत्याएनन् । राइड शेयरिङ एप पठाओका सञ्चालकसमेत रहेका बस्न्यातले मात्र ५० मत पाए । उक्त क्षेत्रमा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना)ले १५ हजार ४५५ मत ल्याउँदा बस्न्यातले ५० मत ल्याउँदै नवौं स्थानमा रहे ।
प्रतिक्रिया 4