हङकङ । मध्यपूर्वका देशमा कार्यरत नेपालीको सुरक्षाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउंदै एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को हङकङ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले स्थानीय युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ ।
सो सम्मेलनले विश्वका जुनसुकै ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी आपसी एकता कायम गर्दै नेपाली जातिको शक्तिलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा सम्पन्न सम्मेलनले हाल मध्यपूर्वका देशमा बसोबास गरिरहेका नेपालीको सुरक्षाका लागि नेपाल सरकारले उचित कदम चाल्न आग्रह गरेको छ ।
सम्मलेनको एएनओको अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले संसारभरिका जुन सुकै मुलुकमा जन्मे हुर्के पनि र जतिसुकै पुस्ता भए पनि नेपालीलाई एकआपसमा जोड्ने अभियानका रूपमा एएनओ अगाडि बढेको बताए ।
अमेरिका निवासी समाजसेवी श्री डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओको स्थापना भएको थियो । संस्थाको हङकङ अधिवेशनले जतिसुकै पुस्ता बाहिर बस्नु परे पनि नेपाली भाषा, सँस्कृति र परम्परालाई निरन्तरता दिई पुस्तान्तरण गर्ने अभियानमा क्रियाशिल रहने घोषणा गरेको छ ।
नवनिर्वाचित हङकङको कार्यसमितिको उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनुज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रवक्तामा सुरेश याक्सो छन् । त्यसैगरी सदस्यहरूमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनू राना, विन्नी लामा राई र करन तमाङ चयन भएका छन् ।
विश्वभरका नेपालीको श्रम, पूंजी र बौद्धिक क्षमतालाई नेपालको समृद्धिमा लगाउन आफ्ना जातिका मानिसहरुलाई नेपाल सरकारले पहिचान गर्नुपर्ने र सो कार्यमा एएनओले सहयोग गर्न सक्ने प्रस्ताव पनि अधिवेशनले पारित गरेको छ ।
कार्यक्रममा हङकङ सरकारमा डिष्ट्रिक प्रतिनिधि रहेकी प्रथम नेपाली काउन्सिलर अरुणा गुरुङले नेपाली जातिको एकता र संस्कृतिको पुस्तान्तरणसहितको उद्धेश्यमा एएनओले सफलता प्राप्त होस् भन्दै शुभकाना दिएकी थिइन् ।
प्रतिक्रिया 4