२५ फागुन, जनकपुरधाम । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ ।
उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । पदम नारायण चौधरी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
कारबाही सिफारिसमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारू संघका जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो, क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्ता, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, महाधिवेशन प्रतिनिधि गौरी चौधरी, लहान–१० का बुथ सभापति अम्बराज मिश्र, लहान–२० का बुथ सभापति विनोद साह तथा क्षेत्रीय सदस्य गोपालकृष्ण यादव रहेका छन् ।
सिरहा–१ बाट नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी चुनावी मैदानमा थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु गुप्तासँग पराजित भएका हुन् ।
कारबाही सिफारिसमा परेका व्यक्तिहरूमाथि चुनावका बेला पार्टी उम्मेदवारलाई असहयोग गर्दै रास्वपा, जनमत पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको आरोप रहेको क्षेत्रीय सभापति चौधरीले बताए ।
चुनावपछिको क्षेत्रीय कार्यसमितिको छलफलपछि केन्द्रीय अनुशासन समितिमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताए ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4