News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनकी अगुवा रक्षा बमले गगन थापालाई पार्टी सुधारको लागि विद्रोह गरेको तर ढिलो भएको टिप्पणी गरेकी छन्।
- बमले कांग्रेसको कमजोर हुनुको कारण दलतन्त्र, गलत निर्णय र नेतृत्वको कमजोरी भएको बताएकी छन्।
- बमले थापालाई जनमतको सम्मान गर्न र कांग्रेसलाई बीपी र प्रदीप गिरीहरूको कांग्रेस बनाउन सुझाव दिएकी छन्।
२५ फागुन, काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले भर्खरै सम्पन्न आम निर्वाचनमा पराजित नेपाली कांग्रेसका सभापति गगन थापालाई जनमतको सम्मान गर्दै पार्टीलाई पुनः सुधारको बाटोमा लैजान सुझाव दिएकी छन्।
सोमबार फेसबुकमा एक सन्देश पोस्ट गर्दै बमले थापाले पार्टीभित्र गरेको विद्रोहको प्रशंसा गरेकी छन् तर त्यो कदम निकै ढिलो भएको टिप्पणी गरेकी छन्।
दलहरू सुध्रिनुपर्छ भन्ने जेनजी आन्दोलनको महत्त्वपूर्ण मागलाई थापाले स्वीकार गरेर आफ्नै दलभित्र विद्रोह गरेको उल्लेख गर्दै उनले भनिन्, ‘तर यसपटक धेरै ढिलो भइसकेको थियो। आज जसले जे भने पनि, तपाईंले देखाएको त्यो साहसलाई मान्नैपर्छ।’
बमले अहिले कांग्रेस ऐतिहासिक रूपमा खुम्चिनुको कारण गगन थापाको विद्रोह नभई पार्टीभित्र हुर्किएको विकृति भएको दाबी गरेकी छन्। कांग्रेसीजनलाई लक्षित गर्दै बमले लेखेकी छन्, ‘आज कांग्रेस यस्तो अवस्थामा खुम्चिनुको कारण त तपाईंहरूको दलभित्र वर्षौँदेखि बढ्दै आएको दलतन्त्र, गलत निर्णयहरू र नेतृत्वले गरेका कमजोरीहरू हुन्।’
सत्यसँग आँखा जुधाउने हो भने पार्टीभित्रको ‘दाइवाद र भाउजुवाद’ ले नै कांग्रेसलाई कमजोर बनाएको बमको बुझाइ छ ।
चुनावमा हारजित स्वाभाविक प्रक्रिया भएको बताउँदै बमले लोकतन्त्रको सुन्दरता नै जनमतको सम्मान गर्नु रहेको स्मरण गराएकी छन्। उनले थापालाई नयाँ आउने शक्तिलाई ठूलो मन राखेर स्वागत गर्न र आवश्यक परे सहयोग गर्न समेत आग्रह गरेकी छन्।
लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले अबका वर्षहरूमा फेरि जनतामाझ फर्कन थापालाई सुझाव दिएकी छन्। ‘भुइँका कुरा सुन्नुहोस् र नेपाली कांग्रेसलाई फेरि मलजल गरेर, सफा गरेर, जनताको विश्वास जित्ने बीपी र प्रदीप गिरीहरूको कांग्रेस बनाउनुहोस्,’ उनले लेखेकी छन्।
केही समयअघि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा थापाले ‘कांग्रेस लास र दासहरूको पार्टी होइन’ भनी दिएको अभिव्यक्तिको स्मरण गराउँदै बमले आगामी दिनका कामहरूले त्यो वाक्यलाई साँचो अर्थमा सार्थक बनाउने अपेक्षा राखेकी छन्।
सांसद हुनुअघि गगन थापा एउटा आन्दोलनकारी रहेको स्मरण गर्दै बमले एउटा आन्दोलनकारीको तर्फबाट अर्को आन्दोलनकारीलाई शुभकामना समेत दिएकी छन्। ‘जीवनका हरेक आन्दोलनहरू महत्त्वपूर्ण हुन्छन्। तपाईंको यो आत्मसंघर्ष, तपाईंले आफैभित्र र आफ्नै दलभित्र सुरु गरेको आन्दोलनले सार्थकता पाओस्,’ उनले भनिन्।
यस्तो छ गगन थापालाई रक्षा बमको सन्देश-
आदरणीय नेपाली कांग्रेसका सभापति गगन थापा ज्यू,
हामीले बारम्बार भनेका थियौँ अब दलहरू सुध्रिनुपर्छ, यो बाहेक अर्को विकल्प छैन। जेनजी आन्दोलनको एउटा महत्त्वपूर्ण माग भनेकै दलहरू भित्रको Reformation थियो। त्यो आवाजलाई तपाईंले सुन्नुभयो, स्वीकार गर्नुभयो र आफैँ आबद्ध दलभित्रै विद्रोह गर्नुभयो, तर यसपटक धेरै ढिलो भइसकेको थियो।आज जसले जे भने पनि, तपाईंले देखाएको त्यो साहसलाई मान्नैपर्छ।
आदरणीय कांग्रेसीजनहरू, आज कांग्रेस यस्तो अवस्थामा खुम्चिनुको कारण गगनले गरेको विद्रोह होइन। यसको कारण त तपाईंहरूको दलभित्र वर्षौँदेखि बढ्दै आएको दलतन्त्र, गलत निर्णयहरू र नेतृत्वले गरेका कमजोरीहरू हुन्। यदि सत्यसँग आँखा जुधाउने नै हो भने, तपाईंहरूले स्वीकार गर्नैपर्छ तपाईहरूको दलभित्रको “दाइवाद र भाउजुवादले” पार्टीलाई कमजोर बनाएकै हो।
सभापति ज्यू, चुनाव हो हार र जित स्वाभाविक कुरा हो। तर लोकतन्त्रको सुन्दरता नै यही हो कि जनताको जनमतलाई सम्मान गर्न सकियोस्। हामी आशा गर्छौँ, तपाईंले जनताको निर्णयलाई सम्मान गर्नुहुनेछ, नयाँ आउनेहरूलाई ठूलो मन राखेर स्वागत गर्नुहुनेछ र आवश्यक परे सहयोग पनि गर्नुहुनेछ। लोकतन्त्रमा दलहरू भुमिका महत्वपुर्ण हुन्छ त्यसैले अबका वर्षहरूमा तपाईं फेरि जनतामाझ फर्कनुहोस्। भुइँका कुरा सुन्नुहोस् र नेपाली कांग्रेसलाई फेरि मलजल गरेर, सफा गरेर, जनताको विश्वास जित्ने बी.पी र प्रदीप गिरीहरूको कांग्रेस बनाउनुहोस्। तपाईंले विशेष महाधिवेशनमा भन्नुभएको थियो कि “कांग्रेस लास र दासहरूको पार्टी होइन।” हामी पनि यही अपेक्षा गर्छौँ तपाईंका कामहरूले त्यस वाक्यलाई साँचो अर्थमा सार्थक बनाउनेछन्।
तपाईं सांसदभन्दा पहिले एउटा आन्दोलनकारी हुनुहुन्थ्यो।त्यसैले, एउटा आन्दोलनकारीको तर्फबाट अर्को आन्दोलनकारीलाई यति मात्र भन्न चाहन्छु कि जीवनका हरेक आन्दोलनहरू महत्त्वपूर्ण हुन्छन्। तपाईंको यो आत्मसंघर्ष, तपाईंले आफै भित्र र आफ्नै दलभित्र सुरु गरेको आन्दोलनले सार्थकता पाओस्।
शुभकामना।
प्रतिक्रिया 4