News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सभापति गगन थापा सर्लाही–४ मा उम्मेदवार भएर पराजित भएका छन्।
- रास्वपाका नेता बालेन्द्र शाहको लहरले मधेसका ३२ क्षेत्रमध्ये ३१ क्षेत्रमा जित हासिल गरेको छ।
- सभापति थापाको पराजयमा पार्टीभित्रको आन्तरिक वैमनस्यता र क्षेत्रीय नेताहरुको मत विभाजन प्रमुख कारण रहेका छन्।
२५ फागुन, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ मा उम्मेदवार हुने निर्णय अप्रत्यासित थियो । उम्मेदवार मनोनयनको दिन (माघ ६ गते) उनले सर्लाहीमा प्रतिस्पर्धा गर्ने निर्णय लिए । सर्लाही–४ मा चुनावी प्रचारका लागि कम समय दिए पुग्ने विश्वासका साथ उनले यो क्षेत्र रोजेका थिए ।
सर्लाही-४ को प्रचारका लागि कम समय दिए पुग्ने पूर्व आकलन गरी देशभर कांग्रेसको चुनावी प्रचारमा उनी सहभागी हुन पाउने मनसायले थापाले यो क्षेत्र रोजेका थिए ।
सर्लाही-४ मा प्रचारका लागि धेरै समय खर्चिनु नपर्ने भन्दै सभापति थापालाई क्षेत्रका नेताहरुले विश्वस्त गराएका थिए ।
सर्लाहीका नेताहरुका अनुसार पूर्व जिल्ला सभापति सुरेन्द्र सिंह, वीरेन्द्र सिंह लगायतले सभापति थापालाई यो क्षेत्रको उम्मेदवार बनाउनका लागि बढी जोड गरेका थिए ।
सर्लाही-४ मा कम समय दिएर देशव्यापी प्रचारमा निस्कने पूर्व आकलन मिल्न सकेन । साथै, कडा मिहिनेतको बाबजुत परिणाम उनको पक्षमा आएन । प्रतिनिधि सभामा तीनपटक निरन्तर निर्वाचित सभापति थापा क्षेत्र परिवर्तन गरेर सर्लाही-४ पुग्दा पराजय भोगे ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको लहर छाएको बेला सभापति थापा पनि पराजित भए । सभापति थापाका प्रतिस्पर्धी अमरेश सिंहलाई बालेन्द्र शाहलाई देखाएर मत माग्ने सुविधा थियो ।
बालेन्द्र स्वयं रोड शो गरेर सर्लाही पुगेर अमेरशको पक्षमा माहोल बनाउने कार्य गरेका थिए । बालेन्द्रले रोड शो गरेको केही दिनपछि रास्वपा सभापति रवि लामिछाने मलङ्गवा पुगेर थापा लक्षित अभिव्यक्ति दिएका थिए ।
थापालाई लक्षित गर्दै मतदातासँग रविले भनेका थिए,‘ठाउँको ठाउँको रोक्नुहोस् ।’ मधेसमा छाएको बालेन्द्रको लहरले रास्वपाप्रति मत खनियो । मधेसका ३२ क्षेत्र मध्ये ३१ क्षेत्रमा रास्वपाले जित्यो । पुरानो सत्तालाई विस्थापित गर्न जनताले रास्वपालाई मत दिएको र नयाँ तरिकाले देश सञ्चालन होस् भन्ने अपेक्षासहित बालेनलाई हेरेर मत खसेको सर्लाही क्याम्पसका पूर्व प्रमुख कृष्णदेव यादव बताउँछन् । यादवले अनलाइनखबरसँग भने,‘मधेसले बालेनमा आशा देखेर मत दिएको हो । उहाँले राम्रोसँग व्यवस्थापन गर्नसक्नु भएन भने फेरि आन्दोलन नहोला भन्न सकिन्नँ ।’
कांग्रेस सभापति थापा सर्लाही–४ मा पराजित हुनुमा ‘बालेन फ्याक्टर’ प्रमुख कारण त छँदै थियो । पार्टीभित्रको आन्तरिक वैमनस्यता, सभापतिलाई लान जोडबल गर्नेहरुप्रति क्षेत्रका नागरिकको बुझाईले प्रतिकूल मत आउनुमा कारण रहे । विभिन्न दलका नेता कार्यकर्ता, समाजका अगुवाहरू कांग्रेसमा प्रवेश हुँदा समेत उनीहरुले मत ट्रान्सफर आशा गरे अनुरुप गराउन नसक्दा मतान्तर बढ्यो ।
सुरेन्द्र–वीरेन्द्र हाबी हुने भयले ‘प्रतिकूलता’
स्थानीय नेताहरुका अनुसार मधेस प्रदेशका उपसभापति एवं प्रदेश सांसद वीरेन्द्र सिंह र सर्लाहीको पूर्व सभापति सुरेन्द्र सिंहप्रति धुमिल छविले सभापति थापालाई प्राप्त हुने मत घटेको हो ।
ठेक्का पट्टाको कार्यमा संलग्न सिंह दाजुभाइले शक्तिको आडमा अन्य दलका नेताहरुलाई दुःख दिने कार्य गरेको कांग्रेसका स्थानीय नेता कार्यकर्ता नै स्विकार्छन् ।
कांग्रेसका एक स्थानीय नेताले सुनाए,‘सभापति गगनजीले जितेको अवस्थामा सिंह दाजुभाइको रवाफ बढ्ने र आफूहरु प्रताडित हुनुपर्ने अरु दलका नेताहरुलाई लाग्यो । गगन जित्नु भन्दा अमरेश जिताउँदा ठीक हुने भन्दै अघोषित गठबन्धन गरे ।’
उनको कुरालाई गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवको भनाइले पुष्टि गर्दछ । स्थानीय तहको निर्वाचनमा लोसपाबाट निर्वाचित भएका यादवले चुनाव हुनु केही दिन अघि सर्लाहीका पत्रकारहरुसँग कुरा गर्ने क्रममा जसपा नेपालले जित्ने अवस्था नहुँदा अमेरशलाई जिताउन उपयुक्त हुने विचार राखेका थिए ।
जसपा नेपालका उम्मेदवार रामेश्वर राय यादवले मात्रै १८४ मत प्राप्त गरे । जबकी, यस क्षेत्रमा अघिल्लोपटक जसपा नेपालका राकेशकुमार मिश्रले ५ हजार ८१३ मत ल्याएका थिए । जसपाले अघिल्लोपटक पाएको बहुसंख्यक मत रास्वपाका उम्मेदवारलाई ट्रान्सफर भएको कांग्रेसका नेता कार्यकर्ता दाबी गर्छन् ।
सभापति थापाले चुनाव जित्दा सिंह दाजुभाइ हाबी हुने भय मधेसका मुख्यमन्त्री कृष्ण यादवलाई समेत भएको क्षेत्रमा चर्चा छ । विशेष महाधिवेशनको विपक्षमा रहेका मुख्यमन्त्री यादवले आफ्नो पद गुम्ने चिन्ताले सभापति थापा मनैदेखि सहयोग नगरेको एक नेताले सुनाए । उनी भन्छन्,‘गगनजीले पछि वीरेन्द्र सिंहलाई मुख्यमन्त्री बनाउने डर कृष्ण यादवमा देखियो । यादव समुदायको मत आकर्षित गर्न उनको भूमिका सोंचे अनुसार भएन ।’
मत परिणाम सार्वजनिक भएसँगै अमरेश र रवीन्द्रको आरोप प्रत्यारोप सामाजिक सञ्जालमा सुरु भइसकेको छ ।
सभापति थापाले भ्रष्ट व्यक्तिहरुको भर गरेर यस क्षेत्रमा आएको अमरेशले आरोप लगाएका छन् । कांग्रेसका नेताहरु सिंह दाजुभाइ लक्षित गर्दै थापालाई अमरेशले भनेका छन्,‘तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो ।
तर तपाईं भ्रष्टहरूद्वारा आयातित उम्मेदवार हुनुभयो ।’ अमरेशले वीरेन्द्रलाई सामाजिक सञ्जालबाट नै जवाफ फर्काएका छन् । अमेरशलाई चेतावनीको शैलीमा वीरेन्द्रले भनेका छन्,‘तपाईँहरूको कालाकर्तुत र भ्रष्टाचारको छानबिन गराउन आमनागरिकलाई जिल्लादेखि काठमाडौं माइतीघरको सडकमा बसेर आन्दोलन र आमरण अनशन बस्न बाध्य हुन नपरोस् ।’
सभापति थापाको पराजयमा पार्टीभित्रको आन्तरिक कारणले पनि काम गरेका क्षेत्रका नेताहरुको निष्कर्ष छ । विशेष महाधिवेशनको विपक्षमा रहेका शीर्ष तहका नेताहरुले सभापति थापालाई हराउन भूमिका खेलेको जिल्ला तहका एक नेताले सुनाए । उनी भन्छन्,‘कार्यकर्ता परिचालन गरे । क्षेत्रका कार्यकर्तालाई आफैं फोन गरेर अनेक हर्कत गरे ।’
दर्जनौं नेता भित्रिए, मत तानेनन्
सभापति थापा सर्लाही पुगेर दर्जनौं फरक दलका दर्जनौं नेता कार्यकर्तालाई प्रवेश गराए । जसपाका नेताहरू मनीष मिश्र, केदारनन्दन चौधरी, केदार सिंह, अभय सिंह, सुशील मिश्र लगायत कांग्रेसमा प्रवेश गरेका थिए ।
अघिल्लोपटक यसै क्षेत्रका उम्मेदवार बहुजन एकता पार्टीका राजाराम पासवानदेखि गत चुनावमा अमरेशलाई सघाएका कमलेश्वर र रविनन्दन चौधरीलाई पनि सभापति थापाले प्रवेश गराएका थिए ।
लोसपाका पूर्वमहासचिव समेत रहेका यसै क्षेत्रको रामनगर गाउँपालिकाका मिश्रले आफ्नो पालिकाबाट सभापति थापाले लिड गर्ने दाबी गरेपनि मतान्तर घट्न सकेन ।
बलराका पूर्वप्रमुख समेत रहेका अभय सिंहले आफ्नो पालिकाबाट कांग्रेसको पक्षमा उल्लेख्य मत खसाउन सकेनन् । बलराबाट मतगणना सुरु गरेसँगै अमेरशले अग्रता लिएका थिए ।
सभापति थापाले प्राप्त गरेको मत र अमरेशले प्राप्त गरेको मतको आधारलाई विश्लेषण गर्दा यसपटक मत बढी प्रतिस्पर्धा द्विपक्षीय देखिएको छ ।
अघिल्लोपटक त्रिपक्षीय प्रतिस्पर्धा हुँदा मत बाँडिएको थियो । १२ देखि १४ हजार मत ‘होल्ड’ गर्नसक्ने भनिएका शिवपुजन यादवले आफ्नो छोरा अमनिशलाई एमालेबाट उम्मेदवार बनाउँदा उक्त अघिल्लोपटकको मत वचाउन सकेनन् ।
अमनिशले ९ हजार ३४३ मत प्राप्त गरे । २०७९ सालमा शिवपुजनले छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्रबाट उठाउँदा उनले १४ हजार ६२२ मत प्राप्त गरेका थिइन् ।
गत निर्वाचनमा कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले प्राप्त गरेको मतबाट चार हजार मत थप्दा समेत सभापति थापाले जित्न सकेनन् ।
२०७९ सालमा नागेन्द्र कुमारले त्यस समय १८ हजार २५२ मत ल्याएका थिए भने यसपटक थापाले २२ हजार ८३१ मत ल्याएका छन् । शिवपुजनसँग रहेको भनिएको मत सहित अघिल्लोपटक जसपा र जनमतले प्राप्त गरेको अधिकांश मत अमेरशको पक्षमा खसेको देखिन्छ । ती दलका उम्मेदवारले प्राप्त गरेको मत उल्लेख्य घटेको छ ।
१ लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा जातीय समीकरण अनुसार यादवको संख्या बढी छ । यादव समुदायको अधिकांश मत अमनिशलाई जानेमा ढुक्क रहेका थापाले अन्य समुदायबाट आशातित मत पाउन सकेनन् ।
कोइरी, दलित, सिंह ब्राहृमण, मुस्लिम लगायतको समुदायका मत अधिकांश तान्न सकिनेमा विश्वस्त रहेपनि थापाको पक्षमा जित्ने गरी मत खसेन । पहाडी समुदाय उल्लेख्य रहेको बरहथवा नगरपालिकाबाट अमेरशलाई भन्दा बढी मत खस्ने अपेक्षा गरेपनि मतान्तर त्यो पालिकाका वडामा प्राप्त मतले मतान्तर घटाउन सकेनन् ।
भाषाको समस्या
सभापति थापालाई यस क्षेत्रका मतदातासँग दोहोरो संवाद गर्न लागि भाषाले समस्या पारेको थियो । मूलतः महिलाहरुसँग दोहोरो संवाद गर्न कठिन भएको उनले प्रचारकै क्रममा भनेका थिए । उनीहरुका कुरा बुझेपनि आफ्नो धारणा उनीहरुलाई सुनाउन कठिन भएको सभापति थापाले बताएका थिए ।
क्षेत्रमा पुगेसँगै प्रचारलाई व्यापकता दिएका सभापति थापाले युवा र महिलाहरुको भेला राखेका थिए । प्रचार घरदैलोको क्रममा कतिपय समस्या व्यक्तिगत तवरले हल गर्न सकिने विषयलाई समाधान पनि गरिदिएका थिए । तर, विशेष महाधिवेशन गरेर ‘परिवर्तित कांग्रेस’ लिएर मतदाताकहाँ आइपुगेको बुझाउन उनलाई समय पर्याप्त भएन । आफ्नो लागि प्रतिकूल रहेको निचोडमा पुगेका सभापति थापा निरन्तर क्षेत्रमा खटे । चुनावी सभाका लागि केही स्थानमा पुगेपनि साँझ सर्लाही नै पुगे । चुनावी माहोल रास्वपाको पक्षमा हुँदा थापाको प्रयत्नले सकरात्मक नतिजा दिन सकेन ।
सर्लाही क्याम्पसमा पूर्व प्रमुख कृष्णदेव यादव सभापति थापा कांग्रेसको जन्मथलोमा आएर प्रतिस्पर्धा गर्दा पराजित हुनु दूर्भाग्यपूर्ण रहेको बताउँछन् ।
‘सर्लाही–४ आउने उहाँको दूरदर्शी निर्णय थियो । मधेसलाई जबसम्म नेताले बुझ्न सक्दैन । तबसम्म देशलाई बुझ्न सक्दैन । यो कुरालाई राम्ररी बुझेर उहाँले मधेसलाई रोज्नुभयो,’ पूर्व क्याम्पस प्रमुख यादव भन्छन्,‘मैले देखेको सर्लाही– ४ मा संकीर्ण मानसिकताबाट जकडिएका व्यक्तिहरु रहेछन् ।
संकीर्ण मानसिकताबाट ग्रसित मान्छेहरुले गगनजीलाई पराजित गरेर पठाए । यो मधेसका लागि दुर्भाग्यपूर्ण हो ।’
प्रतिक्रिया 4