२६ फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ को चोरपाने बस्ती पूर्व-पश्चिम राजमार्गबाट आठ किलोमिटर उत्तरमा पर्छ । त्यही आठ किलोमिटर दूरी छिचोल्दै पक्की सडकमार्फत जोडिन चोरपानेले पाँच दशक कुर्नुपर्यो ।
तर, यी पाँच दशकमा चोरपाने बस्तीले सडकमा हिलो र धुलोको सास्ती बेहोरिह्यो । आधा शताब्दीको प्रतीक्षापछि चोरपानेको आँगनले कालोपत्र सडक देखेको छ ।
कालो र चम्किलो सडक आँगनसम्मै फैलिएर आएपछि यहाँका बासिन्दा खुसी र उत्साह छाएको छ । अहिले यो सडकलाई उनीहरूले केवल आवतजावतको माध्यम मात्र नभएर सहज जीवन र सम्भावित समृद्धितर्फको पहिलो पाइलाका रूपमा लिइरहेका छन् ।
‘सडक नहुँदा निकै कष्ट भोग्नुपर्यो । बिरामी परेका व्यक्तिलाई उपचारका लागि डोकोमा बोकेर अस्पताल लैजानुपर्ने । एम्बुलेन्स गाउँमा नआउने,’ चोरपानेकी ५७ वर्षीया गायत्री विश्वकर्मा भन्छिन्, ‘समयमै अस्पताल पुर्याउन नसक्दा कैयौँ मानिस मरेर गए ।’ वर्षायाममा हिलाम्मे बाटोको सास्तीका कथा त सामान्य नै रहेको उनले सुनाइन् । उमेरले ६० नजिक पुगेकी उनी सडक अभावका पीडा कैयौँ कथा चोरपाने बस्तीसँग रहेको बताइन् ।
‘अहिले आफ्नै जीवनकालमा कालोपत्रे सडक देख्न पाइयो । अब हामीले भोगेको दुःख नाति-नातिनाले भोग्नुपर्ने छैन,’ उनले भनिन् ।
४७ वर्षीया सुकमाया तामाङले विगतका तुलनामा कालोपत्रे सडक गाउँमै पुग्दा धेरै सहज हुने अनुभव सुनाउँछिन् । ‘धेरै सहज हुने रहेछ । अहिले त बिरामी हुँदा फोन गरेको आधा घण्टामै एम्बुलेन्स आइपुग्छ । कतै जाऊँ भने पनि चाँडै पुगिन्छ,’ उनले भनिन् ।
स्थानीय लालबाबु योञ्जनले नुन र चामलका लागि हाट जानुपर्ने दिनसमेत सम्झिए । ‘त्यो युग निकै कष्टकर थियो । हाट–बजार जान लड्दै–पर्दै जानुपर्थ्यो । दाल–चामल किनेर ल्याउँदा निकै दुःख हुन्थ्यो,’ उनले भने, ‘अहिले धेरै परिवर्तन देख्यौँ । अब सडक नै बनेपछि गाउँको अवस्था झन् धेरै परिवर्तन हुन्छ होला ।’
गाउँमा कालोपत्रे सडक पुगेपछि आर्थिक र सामाजिक गतिविधि पनि विस्तार हुने विश्वास चोरपाने बस्तीको छ । चोरपाने बस्तीमा ६० घरधुरीको बसोबास रहेको छ ।
प्रतिक्रिया 4