News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न आदेश दिएको छ।
- ओलीलाई मुटुको धड्कनसम्बन्धी समस्या मूल्यांकन गर्न होल्टर मोनिटर उपचार राखिएको छ।
- ओलीलाई दुई पटक मिर्गौलाको प्रत्यारोपण भइसकेको छ र पित्तथैलीमा ढुंगा देखिएको छ।
१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले आइतबार प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ ।
शनिबार बिहानदेखि ओलीको त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज)मा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्था समान्य छ ।
ती चिकित्सकका अनुसार मुटुको धड्कनसम्बन्धी समस्या मूल्यांकन गर्नका लागि शरीरमा ‘होल्टर मोनिटर’ राखिएको छ । मुटुको धड्कनको अवस्था निरन्तर निगरानी गर्न उक्त परीक्षण गरिएको हो । होल्टर मोनिटरको रिपोर्ट भोलि बिहान (सोमबार) आउने ती चिकित्सकले जानकारी दिए ।
‘होल्टर रिपोर्ट आएपछि मुटुको धड्कन कस्तो छ भन्ने स्पष्ट हुन्छ,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘त्यसपछि मात्रै थप उपचार प्रक्रियाबारे निर्णय गर्न सकिन्छ ।’
शनिबार बिहान ओलीले मुटुमा चाल बढेको भनेपछि चिकित्सकले थप परीक्षण गर्न भर्ना गरेका थिए । ओलीलाई मुटुको निगरानी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञले हेरिरहेका छन् ।
ती चिकित्सकका अनुसार एक्स–रे गर्दा पित्तथैलीमा ढुंगा देखिएको छ । तर ढुंगा निकाल्ने वा ननिकाल्ने भन्ने विषयमा चिकित्सकले निर्णय लिन सकेका छैनन् ।
‘उहाँको दुई पटक मिर्गौलाको प्रत्यारोपण भइसकेको छ । उमेर पनि धेरै भएकाले चिकित्सकले पित्तथैलीमा देखिएको शल्यक्रियाका लागि जोखिम लिन चाहेका छैनन्,’ ती चिकित्सक भन्छन्, ‘तर उहाँ (ओली) ले भने पेटमा भएको ढुंगा निकाल्न भनिरहनुभएको छ ।’

मिर्गौला प्रत्यारोपण गरिएका बिरामी संक्रमण बढी जोखिममा हुने भएकाले अस्पतालमा क्याबिन बेडमा राखेर निगरानी गरिएको हो ।
‘मिर्गौला प्रत्यारोपण गरेका बिरामीले धेरै औषधि सेवन गरिरहनुपर्ने र चाँडै संक्रमण हुने भएकाले सामान्यतया क्याबिनमा राखेर निगरानी गर्ने गरिन्छ,’ उपचारमा संलग्न चिकित्सक भन्छन् ।
यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेका कारण चिकित्सकहरूले उनलाई उच्च निगरानी गरिरहेका छन् ।
शनिबार बिहान पक्राउ परेपछि प्रहरीले नै स्वास्थ्य परीक्षण गर्न अस्पताल लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यसबेला ओलीले मुटुको धड्कनमा समस्या भएको बताए ।
त्यसपछि चिकित्सकले थप परीक्षण गर्न ‘एनेक्स–१’ को बेड नम्बर ५०१ भर्ना गरेको थियो ।
‘सम्भवत भोलि मुटुको रिपोर्ट आउँछ । पेटमा भएको ढुंगा निकाल्नु पर्ने वा नपर्ने चिकित्सकले भोलि नै निर्णय लिनुहुन्छ । त्यसको आधारमा डिस्चार्ज गर्न वा नगर्ने निर्णयमा पुग्छौं,’ ती चिकित्सकले भने ।
आइतबार दिउँसो अस्पतालले जारी गरेको सूचनामा ओलीको मिर्गौलासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, थाइराइड ग्रन्थीको समस्या, मुटुको चाल अनियमित हुने समस्या तथा पित्तथैलीमा पत्थरीजस्ता विभिन्न दीर्घरोगसमेत रहेको उल्लेख छ ।
‘घरबाट बनाएर ल्याएको खानेकुरा खान्छन्’
भर्खरै बुबा (मोहन प्रसाद ओली) निधन भएकाले ओलीले बरखी बारिरहेका छन् । चिकित्सकका अनुसार ओलीले घरबाटै बनाएका ल्याएका खानेकुरा खान्छन् ।
‘बुबाको बरखी बारिहेकाले सात्विक भोजन गरिराख्नुभएको छ । त्यसमाथि पनि उहाँमा स्वास्थ्य समस्या छ । थोरै संक्रमण हुँदा मिर्गौलामा असर गर्नसक्छ । त्यसकारण पनि घरबाटै बनाएर ल्याएका खानेकुरा मात्रै खानुभएको छ,’ ती चिकित्सक भन्छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्रीको रूपमा थिए ।

यस घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली लेखकलाई दोषी रहेको औंल्याउँदै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
प्रतिवेदनका आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखेर अनुसन्धान गरिने भएको छ ।
लेखकसँगै पाँच दिन म्याद थप भएका पूर्वप्रधामन्त्री ओलीलाई भने त्रिवि शिक्षण अस्पतालमै राखिने भएको छ ।
काठमाडौं जिल्ला अदालतले समेत आइतबार म्यादका लागि दिएको आदेशमा समेत उपचारको प्रबन्ध मिलाउन भनेको छ । जसकारण ओली भने अस्पतालमै रहने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
प्रतिक्रिया 4