+
+
Shares

सन नेपाल लाइफका सीइओ अर्याल पक्राउ

सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राजकुमार अर्याललाई सेयर किर्ते गरेको आरोपमा पक्राउ गरेको छ।
  • नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा झुठा विवरण बनाएको र आफूलाई बढी सेयर राखेको प्रारम्भिक अध्ययन प्रतिवेदन सीआईबीमा पठाएको थियो।
  • बोर्डको निर्देशनमा कम्पनीले कर्मचारीको सेयर पुनः बाँडफाँट गर्नुपर्ने र अर्याललाई धितोपत्र ऐन अनुसार जरिवाना वा कारबाही गर्न सुझाव दिइएको छ।

१६ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ ।

सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

सन लाइफका सीइओ अर्यालले सेयर बाँडफाँटमा गरेको किर्ते सम्बन्धमा अनलाइनखबरले यसअघि समाचार प्रकाशित गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेर आफूलाई धेरै राखेको विषयमा प्रारम्भिक अध्ययन गरी सीआईबीमा अनुसन्धान प्रतिवेदन पठाएको थियो ।

सोही प्रतिवेदन उपर थप अनुसन्धानका लागि अर्याललाई सोमबार प्रहरीले पक्राउ गरेको सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

बोर्डको अध्ययन प्रतिवेदन अनुसार सीईओ अर्यालले आफ्नै सेयर माग आवेदनमा किर्ते गरेको देखिन्छ । अर्यालले बोर्डमा प्रतिलिपि भनी पेस गरेको फारममा माग गरेको सेयर कित्ता तथा रकम उल्लेख गरेको नदेखिएको तर सक्कल भनी पछि पेस गरेको फारममा सेयर कित्ता तथा रकम उल्लेख गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अर्यालले कर्मचारीलाई खाली फारम भराउने तथा आफैंले भरिदिएको ३८ जनाको शंकास्पद फाइल पहिचान भएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका बेला कम्पनी र बिक्री प्रबन्धकमा नेपाल एसबीआई क्यापिटलका अधिकारीको बयान लिने क्रममा पनि गल्ती–कमजोरी स्वीकार गरिएको र एकअर्काको बयान मेल नखाएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रतिवेदन अनुसार कर्मचारीको सेयर बाँडफाँटमा कम्पनी सञ्चालक समितिबाट औपचारिक निर्णय समेत भएको देखिँदैन ।

कम्पनीको सेयर बाँडफाँटमा सीईओ अर्यालले आफ्नो र कर्मचारीको आवेदन नै किर्ते गरेर आफूलाई १ लाख ४ हजार ६ सय ५० कित्ता सेयर राखेका थिए । त्यसमा अर्यालले कर्मचारीलाई आफ्नो मनोमानीमा सेयर वितरण गरेपछि असन्तुष्ट कर्मचारीले धितोपत्र बोर्डमा उजुरी दिएका थिए ।

कर्मचारीको सेयर पुन: बाँडफाँट गर्न धितोपत्र बोर्डले सम्बन्धित कम्पनीलाई निर्देशन दिएको बोर्ड अधिकारीको भनाइ छ ।  बाँडफाँटपछि अर्यालले ७२ हजार कित्ता सेयर राखेका छन् ।

बदनियत तरिकाले गरेको सेयर बाँडफाँट ढाकछोप गर्न सेयर खरिद आवेदन फारममा झुठा विवरण बनाएको हुनाले सीईओ अर्याललाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (४) अनुसार झुटा विवरण वा कागजात बनाएकाले बोर्डले ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था बमोजिम हदैसम्मको कारबाही गर्न अध्ययन समितिले सुझाएको छ ।

त्यस्तै मिसिल कागजातमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० बमोजिमको कसुर गरेको देखिन आएकाले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम कसुरमा अनुसन्धान गर्न उजुरी, संकलित विवरण तथा प्रमाण मिसिल कागजात प्रहरी कार्यालयमा पठाउन सुझाएसँगै प्रहरीमा बुझाइएको बोर्डका अधिकारीको भनाइ छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्तामध्ये ७६ लाख ८० हजार कित्ता ३२ साउन २०८० देखि सर्वसाधारणमा बिक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको ९६ लाख कित्ता सेयरमध्ये कम्पनीले १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा भएका नेपालीका लागि जारी गरेको थियो ।

त्यसैगरी कुल निष्कासित सेयरको ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीका लागि बाँडफाँट गरिएको थियो ।

कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि अंकित मूल्य १ सय ३९ रुपैयाँमा १ सय थप गरी प्रतिकित्ता २ सय ३९ रुपैयाँमा बिक्री गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?