News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खान स्टारर बलिउड फिल्म ‘किङ’ को दुबई छायांकन भू-राजनीतिक तनावका कारण रद्द गरिएको छ।
- निर्माण टोलीले मुम्बईको स्टुडियोमा मरुभूमि सेट पुनः निर्माण गरेर छायांकन अघि बढाएको छ।
- ‘किङ’ फिल्म २०२६ डिसेम्बर २४ मा प्रदर्शनमा आउने निर्माताले पुष्टि गरिसकेको छ।
मुम्बई । शाहरुख खान स्टारर बलिउडको आगामी एक्सन-इन्टरटेनर फिल्म ‘किङ’ को दुबई छायांकन रोकिएको छ । मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनावका कारण दुबईमा तय गरिएको छायांकन रद्द गरिएको बताइएको छ ।
यो फिल्मको छायांकन तालिका परिवर्तन गरिएको खबर छ । ‘मिड-डे’को रिपोर्ट अनुसार, अनिल कपूर र सुहाना खानको रहने मरुभूमिमा आधारित एक्सन दृश्य अप्रिल ९ देखि दुबईमा खिच्ने योजना थियो ।
करिब एक हप्तासम्म चल्ने उक्त छायांकनका लागि आवश्यक अनुमति पनि टोलीले लिइसकेको थियो । तर, सुरक्षा पक्षलाई ध्यानमा राख्दै योजना परिवर्तन गरिएको हो ।
स्रोतले भन्यो, ‘छायांकनका लागि आवश्यक सबै अनुमति लिइसकिएको थियो । अप्रिल ९ देखि एक हप्ताको तालिका तय गरिएको थियो । तर, क्षेत्रको परिस्थितिलाई हेर्दा कलाकार र प्राविधिक टोलीको सुरक्षामा कुनै जोखिम नलिने निर्णय गरिएको हो ।’
यसपछि निर्माण टोलीले मुम्बईको विले पार्लेस्थित स्टुडियोमा मरुभूमिको सेट पुनः निर्माण गरेर छायांकन अघि बढाएको बताइएको छ । स्रोतका अनुसार, निर्देशकको सोचअनुसार दृश्यको स्केल मिलाउन ठूलो स्तरमा सेट तयार गरिएको छ ।
‘सिद्धार्थले सोचेको जस्तै दृश्य प्रस्तुत गर्न टोलीले ठूलो मेहनत गरेको छ । यसले एक्सन र लाइटिङमा अझ नियन्त्रण मिलेको छ । दृश्य एउटा चेजबाट सुरु भएर तीव्र भिडन्तमा पुग्छ,’ स्रोतले थप्यो ।
‘किङ’मा शाहरुख खान, सुहाना खान र अनिल कपूरसँगै अभिषेक बच्चन, रानी मुखर्जी, दीपिका पादुकोण, अरशद वारसी, जयदीप अहलावत, सौरभ शुक्ला, अभय वर्मा र राघव जुयाललगायत कलाकारको अभिनय रहनेछ ।
यसअघि नै निर्माताले यो फिल्म २०२६ डिसेम्बर २४ मा, क्रिसमस अवसर पारेर, प्रदर्शनमा ल्याइने पुष्टि गरिसकेको छ । अहिले फिल्मको छायांकन जारी छ ।
प्रतिक्रिया 4