News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका रोबिन बजाज भौतिकशास्त्रमा विद्यावारिधी गर्दै संगीतमा पनि सक्रिय छन् र दुई फरक क्षेत्रलाई समानन्तर रूपमा अघि बढाइरहेका छन्।
दुई फरक रुचिहरूलाई कसरी समानन्तर रूपमा अघि बढाउन सकिन्छ ? विरोधाभाष लाग्ने जीवनशैली कोही कसरी बिताउन सक्छ ? रहरहरूमा विषमता हुँदाहुँदै कोही कसरी त्यसलाई व्यवस्थापन गरेर अघि बढ्न सक्छ ? यी र यस्ता प्रश्नहरू लिएर अहिले भारतका रोबिन बजाज हिँडिरहेका छन् । र, उनलाई हेर्दा जो कोही अचम्ममा पर्न सक्छ ।
किनकि बिल्कुलै फरक लाग्ने दुई विपरीत क्षेत्र, विज्ञान र संगीतमा उनी अब्बल भएर निस्केका छन् ।
इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएससी) को वेबसाइट अनुसार उनी क्वान्टम थ्योरी अफ मटेरियल्स ग्रुपमा रहेर विद्यावारिधी गरिरहेका छन् । उनले दिल्लीको सेन्ट स्टिफन्स कलेजबाट भौतिकशास्त्रमा स्नातक गर्दा उनले स्वर्ण पदक पनि जितेका थिए ।
रिसर्चगेटको वेबसाइट अनुसार उनले १३ वटा रिसर्च पेपर निकालिसकेका छन् । नेचर कम्युनिकेसन्स जस्तो विश्वप्रसिद्ध जर्नलहरूमा अनुसन्धान पत्र प्रकाशन गरिसेका छन् । अर्थात् उनी भौतिकशास्त्री हुन् ।
तर, यस्तो प्राज्ञिक व्यक्ति सामाजिक सञ्जालमा अर्कै स्वरुपमा छन् । सञ्जाल (विशेषत इन्स्टाग्राम)मा @robinphymusic बाट उनले संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिइरहेका छन् । त्यही नै उनी आफ्नो जीवनको विरोधाषास लेख्छन् । आफ्नो रुचि र आफ्नो बाध्यता, जुन उनले पढाइ हो भनेर भन्छन्, लाई मुख्य विषयवस्तु बनाउँछन् । र, यी माथि केही लेख्दै विभिन्न गीतहरूको कभर गाउँछन् । अर्थात् सामाजिक सञ्जालमा उनी गायक स्वरुपमा छन् ।
संगीत मात्रै सुद्ध खुसी र सुख पाउने बताउँदै १ मे २०२५ मा उनले एउटा पोस्ट गरेका थिए । जहाँ उनले आफ्नो विद्यावारिधी अनुसन्धान ठिकै चलिरहेको भएता पनि त्यसलाई निरन्तरता दिन थप प्रेरणा नमिलेको बताएका थिए । यद्यपि पूर्णरूपमा संगीतमा लाग्दा हुने जोखिमका कारण आफू रोकिन परेको लेखेका थिए । तर उनको सपना पूर्णकालिन रुपमै संगीतमा लाग्नु छ ।
वर्षौं पहिले तिरको भिडियोमा उनी त्यति सुरिलो सुनिँदैनन् । तर, अहिले उनको आवाजमा निकै फरक देखिन्छ । उनी पाकिस्तानी सुफिदेखि बलिउडमा गीतहरू गाइरहेको भेटिन्छन् । उनले एकफेर लेखेका पनि थिए, संगीत सिक्नका लागि कुनै गुरु चाँहिदैन । बस् आफ्नो हृदयलाई गुरु बनाउनुपर्छ ।
सायद उनले मनलाई गुरु बनाए ।
उनको इन्स्टाग्राम अकाउन्ट स्क्रोल गर्दै जाँदा परिवर्तनको आभाष प्रष्टै देखिन्छ । उनी पहिले अनुहार लुकाएर, अँध्यारो बनाएर भिडियो हाल्थे, अहिले उनी खुलेर हाल्छन् । र, सके पूरै समय संगीतमै लाग्न खोजिरहेका छन् । इन्स्टाग्रामको रिल्सलाई उनले माध्यम बनाइरहेका छन् ।
उनका त्यस्ता भिडियोहरूमा अनेकन् टिप्पणी आउने गरेको देखिन्छ । तिनलाई समेट्दै पनि उनले नयाँ गीतहरू हाल्छन् । धेरैले उनलाई ‘राम्रो गायक’ ‘भिडियोले आफ्नो मन छोएको’ जस्ता सकारात्मक टिप्पणी गरिरहेको देखिन्छ । तर सबैले उनलाई राम्रो भनेको देखिँदैन । किनकि उनले आफ्नो हरेक जसो भिडियोमा शैक्षिक उपलब्धिको कुरा जोड्ने गरेका छन् । त्यसैलाई उनका प्रशंसकहरूले नराम्रो मान्ने गरेको देखिन्छ ।
त्यसबाहेक त उनी आफ्नो ‘प्यासन’लाई पछ्याउनेहरूका लागि हौसला जस्तो बनेका छन् । कुनै पनि भिडियोमा उनी सम्पत्तिको सुखभोगी देखिँदैन । उनी एक भौतिकशास्त्री भएता पनि त्यसको प्रभाव भेटिँदैन ।
बस्, उनी आफ्नो व्यवहारिक घेराभन्दा बाहिर निस्को देखिन्छ । र, स्वच्छन्द शैलीमा आफ्नो सृजना/क्षमता देखाइरहेको देखिन्छ ।
प्रतिक्रिया 4