१८ चैत, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दासढुंगामा दिउँसो ३:४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना घाइते भउका थिए । यस्तै अर्को घटनामा घुमाउने क्षेत्रमा यात्रुवाहक इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) रवीन्द्र खनालका अनुसार दासढुंगामा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्याङ्करलाई ठक्कर दिएको थियो ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको डीएसपी खनालले जानकारी दिए । दुर्घटनापछि बस र ट्याङ्करका चालक फरार रहेका छन् ।
त्यसैगरी घुमाउने क्षेत्रमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको इभी माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन् ।
सो दुर्घटनाका सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको छ । –रासस
प्रतिक्रिया 4