News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले आइफोन ११ देखि १६ सम्मका प्रयोगकर्ताका लागि दुर्लभ सुरक्षा अपडेट iOS १८.७.७ सार्वजनिक गरेको छ।
- डार्कस्वोर्ड मालवेयरले रिमोट्ली मालवेयर इन्स्टल गरी सन्देश, कल हिस्ट्री र क्रिप्टोकरेन्सी चोरी गर्न सक्ने खतरा छ।
- एप्पलले प्रयोगकर्तालाई Settings > General > Software Update मा गई iOS १८.७.७ इन्स्टल गर्न र लकडाउन मोड अन गर्न सुझाव दिएको छ।
१९ चैत, काठमाडौं । एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ।
सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो।
यो सुरक्षा प्याच विशेष गरी आइफोन ११ देखि आइफोन १६ सम्मका प्रयोगकर्ताहरूका लागि लक्षित छ, जो अहिलेसम्म नयाँ iOS 26 मा अपग्रेड हुन चाहिरहेका थिएनन्। एप्पलले यसअघि डिसेम्बरमा केवल आइफोन XS र XR का लागि मात्र यो प्याच उपलब्ध गराएको थियो, किनकि ती फोनहरूले नयाँ iOS समर्थन गर्दैनथे।
किन डराउँदैछन् प्रयोगकर्ताहरू iOS 26 बाट?
एप्पलको तथ्याङ्क अनुसार करिब १६ देखि २० प्रतिशत नयाँ आइफोन प्रयोगकर्ताहरू अझै पनि iOS 18 मै अड्किएका छन्। यसको मुख्य कारण नयाँ iOS 26 मा प्रयोग गरिएको ‘लिक्विड ग्लास’ इन्टरफेस हो। ट्रान्सलुसेन्ट (अर्ध-पारदर्शी) डिजाइन भएको यो नयाँ लुक्सलाई धेरै प्रयोगकर्ताहरूले मन पराएका छैनन्, जसका कारण उनीहरू सुरक्षा जोखिम मोलेरै भए पनि पुरानो भर्सन चलाइरहेका थिए।
‘डार्कस्वोर्ड’ (DarkSword) को खतरा कति?
-
रिमोट अट्याक: यो मालवेयरले केवल एउटा असुरक्षित वेबसाइट भिजिट गर्दैमा फोनमा रिमोट्ली मालवेयर इन्स्टल गर्न सक्ने क्षमता राख्दछ।
-
डेटा चोरी: यसले फोनका सन्देशहरू, कल हिस्ट्री, ब्राउजर डेटा र क्रिप्टोकरेन्सी वालेटका विवरणहरू समेत चोरी गर्न सक्ने सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन्।
-
रुसी ह्याकरको संलग्नता: संदिग्ध रुसी ह्याकरहरूले फिसिङ इमेलमार्फत यसको लिंक फैलाइरहेको पाइएको छ।
एप्पलको सुझाव: कसरी सुरक्षित रहने?
एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई तत्काल Settings > General > Software Update मा गएर ‘Also Available’ सेक्सनमा रहेको iOS 18.7.7 इन्स्टल गर्न आग्रह गरेको छ। यद्यपि, कम्पनीले अझै पनि उच्च सुरक्षाका लागि सबैलाई iOS 26 मै जान प्रोत्साहित गरिरहेको छ। यसका साथै, जोखिममा रहेका प्रयोगकर्ताहरूका लागि ‘लकडाउन मोड’ (Lockdown Mode) अन गर्न समेत सल्लाह दिइएको छ।
प्रतिक्रिया 4