२१ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा १३ चिल्हियामा लुम्बिनी प्रदेशकै पहिलो बियर गार्डेनसहितको ‘टाइगर फरेस्ट होटेल’ सञ्चालनमा आएको छ ।
तिलोत्तमाका उद्यमी मिनराज भूसालले यस क्षेत्रमै नौलो र मौलिक पहिचान दिने गरी ५ बिघा क्षेत्रफलमा बियर गार्डेनसहितको होटल सञ्चालनमा ल्याएका हुन् ।
हाल एक अर्ब बढी लगानी भएको होटेलमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कर्जा लगाानी रहेको छ ।
होटलको फरक र नयाँ विशेषतामा हरियाली जंगलसँगै जोडिएको, होटेलका रुमहरु पूर्णत: सल्लाको काठबाट बनेका (उडन भिल्ला) र बोतलमा सिलबन्दी नभएको आफ्नै उद्योगको फ्रेस (ड्राफ्ट) बियर उपलब्ध हुनु रहेका सञ्चालक भूसालले बताए । भूसाल बाह्रसिंगे ब्राण्डको बियर उद्योगका सञ्चालक समेत हुन् ।
पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टसंगै जोडिएर दक्षिणतर्फ सञ्चालनमा आएको होटेलमा पहिलो चरणमा बियर गार्डेन, २० वटा उडन भिल्ला (रुम) , ५० जना क्षमताको हल, चौतारी बार, डान्स क्लब र स्पा सञ्चालनमा आइसकेका सञ्चालक भूसालले बताए ।
उडन भिल्लाको डिजाइन अष्ट्रियन इन्जिनियरले गरेका हुन् । यस्ता उडन भिल्ला र ड्राफ्ट बियर गार्डेन त्रिशुली किनार कुरिनटारमा बाह्रसिंगे बियर उद्योग बाहिर मात्रै रहेको भूसालले बताए ।
करिब दुई सय जना क्षमताको चाइनिज रेष्टुरेन्ट र एक हजार जना क्षमताको ब्याङ्क्वेट हल निर्माणको अन्तिम चरणमा रहेकाले नेपाली नयां वर्षमा होटेलको औपचारिक उद्घाटन गर्ने गरी काम भइरहेको सञ्चालक भूसालले बताए ।
निकट भविष्यमा थप ४० वटा रुम, स्वीमिङ पूल र मिनी क्यासिनो निर्माण गरी चारतारे होटेलको स्वीकृति लिने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

‘आन्तरिक र भारतीय पर्यटकलाई फरक विशेषता सहितको नौलो हस्पिटालिटी सेवा दिने उद्देश्यले होटलमा लगानी गरेको हो’, भूसालले भने, ‘खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरेका छौं ।’
बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटक पनि रिसोर्टका लक्षित पाहुना भएको उनले खुलाए ।
मुलुकमा राजनीतिक स्थिरता र व्यवसायिक वातावरण बन्यो भने भविष्यमा थप १५० करोड रुपैयाँ लगानी गरी पांच तारे होेटलमा स्तरोन्नति गर्दै भारतीय पर्यटक लक्षित सेवा सुविधा थप्दै जाने योजना रहेको भुसालले बताए ।
‘शहर भन्दा टाढा, शान्त र हरियाली वातावरणमा बन्दै गरेको रिसोर्टले प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने विश्वास छ’, भूसालले भने, ‘प्राकृतिक परिवेश, खुला स्थान र मौलिक संरचनाको शैलीले रिसोर्टलाई अन्य परम्परागत होटलभन्दा अलग बनाएको छ,भविष्यमा यसलाई नेपालकै उदाहरणीय वेलनेस र इन्टरटेनमेन्ट टुरिजम स्पट बनाउने लक्ष्य छ ।’
रिसोर्टमा हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको जनरल म्यानेजर क्षितिज खनालले बताए ।
आन्तरिक तथा लुम्बिनी आउने विदेशी र भारतीय पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो होटेल तिलोत्तमाको मात्र नभई प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको नगर प्रमुख रामकृष्ण खांणले बताए ।
प्रतिक्रिया 4