+
+
Shares

अनलाइनखबर ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १९:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरले ५० प्रभावशाली महिला २०८२ को सूची सार्वजनिक गरेको छ, जसमा राजनीति, समाज, कला, युवा, विज्ञान, उद्यम र डायस्पोराका ५० महिला छन्।
  • निर्णायक मण्डलले माघ ८ गते ७ सयभन्दा बढी नामबाट ५० महिला छनोट गरेको थियो, जसको संयोजन सर्वोच्च अदालतकी पूर्वन्यायाधीश मीरा खड्काले गरेकी थिइन्।
  • अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले महिलालाई सौन्दर्यको पर्याय मात्र नभई सङ्घर्ष र सफलताको रचयिता भएको प्रमाण सूचीले देखाएको बताए।

२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ। हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष देशमा भर्खरै सम्पन्न आम निर्वाचन (फागुन २१) को चटारो र राष्ट्रिय दायित्वका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले जानकारी दिए ।

यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन्।

यस्तो छ छनौट विधि

अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो। खुला आह्वानसँगै काठमाडौंमा रहेको केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका संवाददाताहरू र कतिपय क्षेत्रका विज्ञ तथा स्रोतहरूबाट गरी जम्मा ७ सयभन्दा बढी नामहरू प्राप्त भएका थिए।

प्राप्त नामहरूबाट ४६० भन्दा बढीको प्रारम्भिक सूची तयार गरिएको थियो। भूगोल र समाजको विविधतालाई ख्याल गर्दै समाचार कक्षले उक्त सूचीलाई विवेकसम्मत तरिकाले २०० र पछि योगदान, प्रभाव र प्रेरणाका आधारमा ११६ जनामा झारेर निर्णायक मण्डल (जुरी) समक्ष प्रस्तुत गरेको थियो।

यस वर्ष अन्तिम नाम छनोट गर्ने निर्णायक मण्डलको संयोजकमा सर्वोच्च अदालतकी पूर्वन्यायाधीश मीरा खड्का थिइन्। त्यसैगरी जुरी सदस्यहरूमा इक्रा नेपालकी बिजनेस हेड तथा बैंकिङ विज्ञ वर्षा श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइनखबरका पूर्व प्रधानसम्पादक शिव गाउँले र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेका थिए। यो समग्र प्रक्रियाको संयोजन अनलाइनखबरको समाचार कक्षबाट एसोसिएट एडिटर सुदर्शन खतिवडाले गरेका थिए।

माघ ८ गते बसेको जुरीको बैठकले व्यक्तिको योगदान र सामाजिक सन्देशलाई मुख्य आधार मान्दै ५० जनाको नाम छनोट गरेको थियो। छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा अनुसन्धानका क्रममा विवरण मेल नखाएमा छनोट गर्न पाउने गरी ५ जनाको वैकल्पिक सूची पनि तयार गरिएको थियो। जसअनुसार यसपटक २ जना सम्पर्कमा आउन नसकेका र केही तथ्य गलत पाइएपछि हटाइएको १ सहित जम्मा ३ जनालाई वैकल्पिक सूचीबाट मुख्य सूचीमा समावेश गरिएको छ।

‘सफलताको मापदण्ड: गन्तव्य होइन, पार गरेको दूरी’

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट नेतृत्वलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु नै ‘५० प्रभावशाली महिला’ छनोटको मुख्य उद्देश्य रहेको अनलाइनखबर प्रा.लि.का अध्यक्ष धर्मराज भुसालले बताए ।

भुसाल आजको सञ्चार गृहको दायित्व सत्ता र शक्तिको वरिपरि घुम्नु मात्र नभई भुइँमान्छेका पसिना, सङ्घर्ष र साधनाको कथालाई मूलधारमा ल्याउनु रहेको बताउँछन्।

शक्तिको प्रयोगका कारण चम्केका महिला नभई आफ्नो मेधा र सङ्घर्षले अवरोध चिर्ने पात्रहरू छनोट गरिएको बताउँदै अध्यक्ष भुसालले बताए । उनले भने, ‘हाम्रो समाजले महिलालाई लामो समयसम्म ‘पीडित’ को रूपमा मात्रै चित्रण गर्न खोज्यो, तर यी ५० अनुहारहरूले त्यो भाष्यलाई जरैदेखि भत्काइदिनुभएको छ।’

‘महिला साधना र सङ्घर्षका पर्याय’

अनलाइनखबरका प्रधानसम्पादक बस्नेत महिलाहरूलाई सौन्दर्यको विम्बमा मात्र सीमित गर्न नहुने बताउँछन्।

‘अनलाइनखबरले पचास प्रभावशाली महिलाको सूची यो तेस्रोपल्ट प्रकाशन गरेको हो। महिलाहरूलाई धेरैले सौन्दर्यको पर्याय मानेर गीत, कविता लेखे,’ उनले भने, ‘तर महिला साधनाका पर्याय हुन्, सङ्घर्षका पर्याय हुन्, अनि सफलताका असली रचयिता हुन् भन्ने प्रमाण यिनै पचास प्रभावशाली महिलाको सूची हो।’

बस्नेतले थपे, ‘म आफैँ जुरीमा बसेका कारण पनि भन्न सक्छु– आएका सात सय नाममध्ये कम्तीमा चार सय नाम त साँचो अर्थमा अभिनन्दन गर्नुपर्ने खालका छन्।’

छनोटमा पर्न नसकेका तर समाज रूपान्तरणमा लागिरहेका सम्पूर्ण महिलाहरूलाई बधाई दिँदै बस्नेतले  आगामी वर्षहरूमा थप नयाँ अनुहारलाई सक्दो समेट्ने हाम्रो कोसिस हुने प्रतिबध्दता जनाए ।

साथै, भर्खरै सम्पन्न निर्वाचनको सन्दर्भ जोड्दै बस्नेतले भने, ‘यो वर्षको एउटा गज्जबको रोचक अनुभव छ। यहाँ सामुन्नेमा उपस्थितिमध्ये कति धेरै सांसदहरू हुनुहुन्छ, जसले अनलाइनखबरको पचास प्रभावशाली महिलाका लागि अनलाइन आवेदन भर्नुभएको थियो। ती आवेदन अहिले पनि हामीसँग सुरक्षित छन् ।’

उनले थपे, ‘तर तपाईंहरूलाई यस अर्थमा पनि बधाई कि, राष्ट्रले नै तपाईंहरूलाई हाम्रा जनप्रतिनिधिका रूपमा अभिनन्दित गरिदिएको छ।’

अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो । अनलाइनखबरले हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर विभिन्न क्षेत्रका ‘चालीस मुनिका चालीस’ युवाहरूको सूची पनि सार्वजनिक गर्दै आएको छ।

यो पनि-

किन ५० प्रभावशाली महिला ?

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?