+
+
Shares
५० प्रभावशाली महिला :

भुइँमान्छेका पसिना, संघर्ष र साधनाको कथालाई मूलधारमा ल्याउनु हाम्रो दायित्व : अध्यक्ष भुसाल

५० प्रभावशाली महिलाहरूलाई सम्बोधन गर्दै अध्यक्ष भुसालले भने, ‘तपाईंहरूले परम्पराको साँघुरो घेरा, अभावको पहाड र राज्यको नीतिगत शून्यतालाई चिरेर आफ्नै बाटो खन्नुभएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १८:४२

२३ चैत, काठमाडौं । अनलाइनखबर डटकम (प्रालि) का अध्यक्ष धर्मराज भुसालले ५० प्रभावशाली महिला हरेकको कथा आफैंमा एउटा विश्वविद्यालय भएको भन्दै यी प्रभावशाली कर्मलाई इतिहासले सधैं सम्झने बताएका छन् ।

अनलाइनखबरले २०८२ सालका प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भुसालले महिलाहरूलाई ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’को रूपमा मात्रै चित्रण गर्न खोजेको तर, ती भाष्यहरू विस्तार जरैदेखि भत्कंदै गएको बताए ।

‘हाम्रो समाजले महिलालाई लामो समयसम्म ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ को रूपमा मात्रै चित्रण गर्न खोज्यो । तर, आज यहाँ उपस्थित ५० अनुहारहरूले त्यो भाष्यलाई जरैदेखि भत्काइदिनुभएको छ,’ अध्यक्ष भुसालले भने, ‘तपाईंहरूले परम्पराको साँघुरो घेरा, अभावको पहाड र राज्यको नीतिगत शून्यतालाई चिरेर आफ्नै बाटो खन्नुभएको छ ।’

‘अनलाइनखबर ५० प्रभावशाली महिला’ त्यही दायित्वबोधको एउटा सानो प्रयास पनि रहेको उनले बताए । सत्ता र शक्तिको वरिपरि घुम्नु मात्र होइन; भुइँमान्छेका पसिना, सङ्घर्ष र साधनाको कथालाई मूलधारमा ल्याउनु आफूहरूको दायित्व रहेको अध्यक्ष भुसालले बताए ।

‘आजको मिडियाको काम केवल राजनीतिज्ञका भाषण रेकर्ड गर्ने वा समाजका नकारात्मक घटनाहरूको मात्रै ‘हेडलाइन’ बनाउने होइन । पत्रकारिताको बदलिँदो सन्दर्भले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ– के हामीले हाम्रो समाजको वास्तविक चित्र देखाइरहेका छौँ ? सञ्चार गृहको दायित्व सत्ता र शक्तिको वरिपरि घुम्नु मात्र होइन; भुइँमान्छेका पसिना, संघर्ष र साधनाको कथालाई मूलधारमा ल्याउनु पनि हो,’ अध्यक्ष भुसालले भने ।

अनलाइनखबरको ५० प्रभावशाली सूची तयार पार्दा पद वा भूमिकालाई लिएर मापदण्ड नबनाएको उनले बताए ।

‘हामीले यो सूची तयार गर्दा एउटा स्पष्ट मान्यता राखेका थियौँ— को कुन पद वा भूमिकामा छ भन्ने कुरा हाम्रो मुख्य मापदण्ड होइन। हाम्रो नजरमा सबैभन्दा ठूलो कुरा यो हो कि— समाजमा नमुनायोग्य कर्म कसले गर्यो ?,’ उनले भने ।

अध्यक्ष भुसालको सम्बोधन–

प्रमुख अतिथि सम्माननीय कामु प्रधानन्यायाधीशज्यू,

विशिष्ट अतिथिगण, देशभरका विभिन्न भूगोल र क्षेत्रबाट पाल्नुभएका आदरणीय दिदीबहिनीहरू,

तथा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरू,

नमस्कार।

अनलाइनखबरको निमन्त्रणालाई स्वीकार गरी आफ्नो अत्यन्तै व्यस्त समयका बाबजुद यहाँ उपस्थित हुनुभएकोमा म तपाईँहरू सबैलाई अनलाइनखबर परिवार र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवं आभार प्रकट गर्दछु।

आज यस हलमा उपस्थित भइरहँदा म एउटा विशेष ऊर्जा महसुस गरिरहेको छु। यो ऊर्जा केवल एउटा औपचारिक कार्यक्रमको होइन, यो ऊर्जा हो— सपनाहरूको, संघर्षको र बदलिँदो नेपालको।

आजको यो साँझ हाम्रा लागि उत्सव मात्र होइन, एउटा गहिरो ऐना पनि हो, जसमा हामीले आजको नेपालको सुन्दर र साहसी तस्बिर हेरिरहेका छौँ। केही बेरमा हामी यस वर्षका ’५० प्रभावशाली नेपाली महिला’ को सूची सार्वजनिक गर्दैछौँ। यो सूचीमा पर्नुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई म हृदयदेखि नै बधाई र सम्मान अर्पण गर्दछु।

आदरणीय अतिथीज्यूहरू,

म एउटा सानो प्रष्टीकरण र इमानदार स्वीकारोक्तिबाट अघि बढ्न चाहन्छु। अनलाइनखबरले हरेक वर्ष मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर यो सूची सार्वजनिक गर्ने लक्ष्य राखेको थियो र राख्दै आएको छ। तर, यस वर्ष हामीले एउटा ऐतिहासिक राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने थियो।

हामी सबैलाई थाहा छ, गत फागुन २१ गते अर्थात् मार्च ५ तारिखमा मुलुकमा आम निर्वाचन सम्पन्न भयो। देशको सबैभन्दा ठुलो डिजिटल सञ्चार माध्यम हुनुको नाताले आम नागरिकलाई निर्वाचनको पल–पलको अपडेट दिन र लोकतन्त्रको यो महाकुम्भलाई सफल बनाउन हाम्रो सम्पूर्ण सम्पादकीय टोली अहोरात्र खटिनुपर्‍यो। निर्वाचनको त्यो चटारो र व्यस्तताका कारण हामीले मार्च ८ मै यो सूची सार्वजनिक गर्न सकेनौँ। त्यसैले, करिब एक महिना ढिलो गरी भए पनि आज हामी यी ताराहरूलाई सम्मान गर्न यहाँ भेला भएका छौँ। ढिलो भए पनि हाम्रो भावना र सम्मानको गहिराइमा कुनै कमी आएको छैन, बरु अझ बढी परिपक्वता र तयारीका साथ हामी यहाँ उपस्थित छौँ।

हामीले यो अभियान सुरु गर्दा धेरैले सोध्नुभएको थियो— ‘प्रभावशाली महिला’ को परिभाषा के हो?

हाम्रो जवाफ स्पष्ट थियो— प्रभाव पदबाट होइन, पात्रको कर्म र उसले समाजमा छाडेको पदचापबाट नापिन्छ। हाम्रो नजरमा ती महिला प्रभावशाली हुन्, जसले घरको चौघेराभित्रको अवरोध चिरेर बाहिर निस्कने साहस गर्नुभयो। ती महिला प्रभावशाली हुन्, जसले समाजका रुढीवादी परम्परालाई आफ्नो तर्क र तथ्यले चुनौती दिनुभयो। र ती महिला प्रभावशाली हुन्, जसले ‘नेपालमा केही हुँदैन’ भन्ने भाष्यलाई आफ्नो सफलताले गलत साबित गरिदिनुभयो।

पछिल्लो चार महिना हाम्रो सम्पादकीय टोली र निर्णायक मण्डलले ४६० भन्दा बढी नामहरूमाथि गहन छलफल गर्‍यो। हिमालका कुनादेखि तराईका फाँटसम्म, र प्रवासमा रहेर पनि नेपालको नाम उँचो बनाउने दिदीबहिनीहरूको कथा सुन्दा हामीलाई महसुस भयो— नेपाल त वास्तवमा महिलाहरूको काँधमा अडेको रहेछ।

आदरणीय अतिथीज्यूहरू,

आजको मिडियाको काम केवल राजनीतिज्ञका भाषण रेकर्ड गर्ने वा समाजका नकारात्मक घटनाहरूको मात्रै ’हेडलाइन’ बनाउने होइन। पत्रकारिताको बदलिँदो सन्दर्भले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ— के हामीले हाम्रो समाजको वास्तविक चित्र देखाइरहेका छौँ? सञ्चार गृहको दायित्व सत्ता र शक्तिको वरिपरि घुम्नु मात्र होइन; भुइँमान्छेका पसिना, सङ्घर्ष र साधनाको कथालाई मूलधारमा ल्याउनु पनि हो। ’अनलाइनखबर ५० प्रभावशाली महिला’ त्यही दायित्वबोधको एउटा सानो प्रयास हो।

हाम्रो समाजले महिलालाई लामो समयसम्म ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ को रूपमा मात्रै चित्रण गर्न खोज्यो। तर, आज यहाँ उपस्थित ५० अनुहारहरूले त्यो भाष्यलाई जरैदेखि भत्काइदिनुभएको छ। तपाईंहरूले परम्पराको साँघुरो घेरा, अभावको पहाड र राज्यको नीतिगत शून्यतालाई चिरेर आफ्नै बाटो खन्नुभएको छ।

हामीले यो सूची तयार गर्दा एउटा स्पष्ट मान्यता राखेका थियौँ— को कुन पद वा भूमिकामा छ भन्ने कुरा हाम्रो मुख्य मापदण्ड होइन। हाम्रो नजरमा सबैभन्दा ठूलो कुरा यो हो कि— समाजमा नमुनायोग्य कर्म कसले गर्यो ?

जब जाजरकोटको रत्नपत्थरलाई प्रशोधन गरेर विश्व बजारमा पुर्‍याउने एउटी मजदुर सफल मालिक बन्छिन्, त्यो उपलब्धि असाधारण हो ।

१० वर्षको उमेरमा ४ लिटर रक्सीको सट्टामा बिहे गरिदिएकी बालिका जब बैना फिर्ता गरेर स्वतन्त्र हुन्छिन् र हजारौँलाई आत्मनिर्भर बनाउँछिन्, त्यो दूरीको मापन कुन स्केलले गर्न सक्छ?

अस्पतालको भुइँ पुछ्न निस्किने एउटी कुचीकारको झोलामा जब दलित महिलाका न्यायका फाइलहरू हुन्छन्, त्यो हिम्मत कुनै मन्त्रीको भन्दा पक्कै कम छैन।

तपाईंहरूमध्ये हरेकको कथा आफैँमा एउटा विश्वविद्यालय हो।

तीन वर्षकै उमेरमा ज्योति गुमाएर पनि ब्रेल लिपिकै भरमा निजामती सेवामा उपसचिव बनेर होस्,

नवजात शिशुको सास फर्काउन ६ घण्टासम्म आफ्नै मुखले कृत्रिम श्वास दिने महिलाको समर्पण,

वा दाजुको प्राण रक्षाका लागि इजरायलदेखि अमेरिकासम्म एक्लै लड्ने किशोरीको अदम्य साहस, यी प्रभावशाली कर्मलाई इतिहासले सधैँ सम्झिनेछ।

तपाईंहरू नै नेपालका वास्तविक ‘इन्फ्लुएन्सर’ हुनुहुन्छ। तपाईंहरूको प्रभाव सामाजिक सञ्जालको ‘भ्युज’ मा होइन, भुइँमान्छेको जीवनस्तरमा परेको छ।

यस वर्ष, हामी एउटा नयाँ घोषणा पनि गर्दै छौँ।

हामीले महसुस गर्यौँ कि हरेक वर्ष हामी ५० जनालाई सम्मान त गर्छौँ, तर ती शक्तिहरू छरिएर रहनुभएको छ। त्यसैले, यस वर्षदेखि हामी ‘५० प्रभावशाली महिला एलुम्नाई’ (ब्गिmलष्) को विधिवत् सुरुवात गर्दैछौँ। यो सञ्जालले तपाईंहरू जस्ता अचिवर्सलाई जोड्नेछ, सहकार्यको बाटो खोल्नेछ र नयाँ पुस्ताका लागि मार्गदर्शकको काम गर्नेछ।

अन्तमा,

म यो पनि स्वीकार गर्दछु कि हाम्रो क्षमता र सीमाका कारण यो ५० जनाको सूचीभित्र अटाउन नसक्नुभएका हजारौँ अरू प्रभावशाली महिलाहरू हुनुहुन्छ। तपाईँहरूको योगदान यो सूचीमा नअटाए पनि समाजको जगमा तपाईँहरूको भूमिका स्वर्ण अक्षरले लेखिएको छ। अनलाइनखबरले आगामी दिनमा पनि आफ्ना सामग्रीहरू मार्फत तपाईँहरूका कथालाई निरन्तर स्थान दिइरहनेछ।

निर्वाचनपछिको यो नयाँ समयमा, जब म यो हलमा उपस्थित ऊर्जावान् महिलाहरूलाई हेर्छु, मलाई लाग्छ— नेपालको भविष्य सुरक्षित छ। तपाईँहरू नै ती ‘जुनकिरी’ हुनुहुन्छ, जसले अँध्यारोमा पनि बाटो देखाउने सामर्थ्य राख्नुहुन्छ।

हामी एउटा ऐतिहासिक मोडमा छौँ। हालै भएको जेनजी आन्दोलनले नेपाललाई पहिलो महिला प्रधानमन्त्री दियो, जुन आफैँमा गौरवमय क्षण हो। उहाँकै नेतृत्वमा भएको सफल चुनावले आज संसदमा व्यापक रूपमा युवा र युवा महिलाहरूको उपस्थिति गराएको छ। अब हाम्रो अपेक्षा छ— महिलाहरूका लागि नीतिगत सुधार होस् र हिंसामा परेकाहरूका लागि ‘फास्ट ट्रयाक’ मा न्यायको प्रबन्ध हुन सकोस्।

अन्त्यमा, अनलाइनखबरको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु— हामी तपाईंहरू जस्ता सङ्घर्षशील योद्धाहरूको आवाजलाई मर्न दिने छैनौँ। हाम्रो पत्रकारिता सधैँ यस्तै आशा, सङ्घर्ष र सफलताको पक्षमा उभिइरहनेछ।

यो अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने निर्णायक मण्डल, हाम्रा सहकर्मीहरू, ब्यबसायिक साझेदारज्यूहरू र विशेष गरी हाम्रा आदरणीय पाठकहरूमा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

तपाईँहरूको यो यात्रा कहिल्यै नरोकियोस्। समानता र सहअस्तित्वको यो यात्रामा अनलाइनखबर सधैँ तपाईँहरूको साथमा छ।

पुन: एकपटक, सबैलाई स्वागत र सम्मानित हुने व्यक्तित्वहरूलाई धेरै धेरै बधाई दिँदै बिदा चाहन्छु ।  धन्यवाद।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?