अहिले प्राय: सबै परिवारमा स्मार्ट फोन पुगेको अवस्था छ । त्यसमा पनि अभिभावकहरूका लागि स्मार्ट फोन, ल्यापटप जस्ता स्क्रिनहरू छोराछोरी हुर्काउने एउटा माध्यमको रूपमा विकसित भइरहेको छ ।
त्यस्तोमा छोराछोरीलाई खाना खुवाउँदा, रोएका बेलामा फकाउन होस्, वा कतै जाँदा होस् स्क्रिन हेर्न दिने प्रवृत्ति ह्वात्तै बढेको देखिन्छ । अहिलेसम्म नेपालमा बालबालिकाहरूलाई कति स्क्रिन टाइम दिने निश्चित समयसीमा छैन । अन्य देशमा कानुन नै बन्दा हाम्रो देशमा भने यो कुरा हालसम्म पनि अभिभावकको व्यावहारिक ज्ञानमा नै छाड्नु पर्ने अवस्था छ ।
यद्यपि यो समस्या नेपालमा मात्र नभएर विश्वभरका अभिभावकहरूमा देखिएको छ । यस बानीले बालबालिकाको वृद्धिविकासमा प्रत्यक्ष असर पुर्याउने विज्ञहरू बताउँछन् । यसैले बालबालिकाहरूलाई दिइने स्क्रिन टाइममा नियन्त्रण गर्न कतिपय देशहरूले ऐनकानून नै बनाएका छन् ।
त्यसमा बेलायत सरकारले हालै ल्याएको निर्देशिका पनि पर्छ । प्रमाण र व्यावहारिक सल्लाहमा आधारित उक्त निर्देशिका अनुसार ५ वर्ष मुनिका बालबालिकाका लागि स्क्रिन हेर्ने समय दिनको एक घण्टामा सीमित गर्नुपर्छ । दुई वर्ष मुनिका बालबालिकाहरूलाई एक्लै स्क्रिन हेर्न दिनु हुँदैन ।
त्यस्तै उक्त निर्देशिकाले अभिभावकहरूलाई सम्भव भएसम्म सँगै बसेर स्क्रिन प्रयोग गर्न सल्लाह दिएको छ । बरू स्क्रिनको सट्टा कथा पढ्ने वा खाना खाने समयमा सामान्य खेलहरू खेल्न सुझाव दिइएको छ ।
अहिले इन्स्टिच्युट फर द साइन्स अफ अर्ली इयर्सका वैज्ञानिकहरूले ५ वर्ष मुनिका बालबालिकाले हेर्ने विभिन्न सामग्रीहरूको अध्ययन गरिरहेका छन् ।
यस अध्ययनमा संलग्न प्रोफेसर साम वासका अनुसार सामग्रीहरू धेरै तीव्र गतिमा हुँदा बालबालिकाको मस्तिष्कले त्यसलाई पछ्याउन सक्दैन । र, शरीरमा ‘फाइट अर फ्लाइट’ नामक तनाव प्रणाली सक्रिय हुन्छ ।
यसले मुटुको धड्कन बढाउने र मांसपेशीहरूमा ऊर्जा उत्सर्जन गराउने गर्छ । जुन एकै ठाउँमा बसेर स्क्रिन हेरिरहेका बालबालिकाका लागि ठीक हुँदैन । त्यस्तोमा अहिले कन्टेन्टहरू झनै तीव्र गतिका बन्न थालिसकेका छन् । यसले बालबालिकाहरूलाई झनै प्रत्यक्ष असर गर्ने बताइएको छ ।
यद्यपि, यो निर्देशिका अथवा बानी अक्षरश पालना गर्न कठिन हुने अभिभावकहरूको टिप्पणी रहेको छ ।
प्रतिक्रिया 4