२३ चैत, सुनसरी । पहिलो र दोस्रो विश्वयुद्धमा हज्जारौं वीर गोर्खाले वीरगति प्राप्त गरे । जसको स्मरणमा हङकङमा पुर्खा दिवस मनाइएको छ ।
आइतबार सानतिनस्थित गोर्खा समाधिस्थलमा भेला भएर विश्व शान्ति र सुरक्षाका लागि प्राण आहुति दिने गोर्खा सैनिकलाई सम्झिएर पुर्खा दिवस मनाइएको हो ।
गोर्खा सिमेट्रिज ट्रस्ट हङकङको आयोजनामा मनाइएको पुर्खा दिवसमा हङकङमा रहेका भूतपूर्व गोर्खा सैनिक, नेपाल, चीन–हङकङ र बेलायतका कूटनीतिक नियोग, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघसंस्थाहरूको बाक्लो उपस्थिति थियो ।
‘हङकङमा प्रत्येक वर्षको अप्रिल पहिलो साता पुर्खा दिवस भनेर ट्रस्टको संयोजनमा सार्वजनिक रूपमा मनाउँदै आएका छौं,’ ट्रस्टका अध्यक्ष अमोद राईले भने, ‘पहिलो र दोश्रो युद्ध त्यसपछिका अन्य युद्धमा वीरगति प्राप्त गरेका हजारौं गोर्खा सम्झन्छौं ।’ सम्झिनु भनेको गोर्खाको इतिहासलाई सम्झिनु रहेको उनले बताए । यस्तै नयाँ पुस्तालाई जानकारी दिन पनि पुर्खा दिवस मनाइने उनले बताए ।

पुर्खा दिवसमा चीनका लागि ब्रिटिस दूतावासका रक्षा सहचरी लेफ्टिनेन्ट कर्णेल पाउल स्टाइन्थ्रोप र हङकङस्थित नेपालका उप कन्सुलेट भोजकुमार भट्टराई, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ र इन्डियन गोर्खा भूतपूर्व सैनिक संघ हङकङ, रोयल ब्रिटिश लिजन (हङकङ र चीन शाखा), ब्रिटिस महावाणिज्य दूतावास हङकङ र बेइजिङस्थित ब्रिटिस दूतावासका सहायक रक्षा सहचारीको उपस्थिति रहेको थियो । नेपालको तर्फबाट महावाणिज्य दूतावासको समेत सहभागिता रहेको थियो ।

उक्त अवसरमा पुर्खाको इतिहास र चिहानको संरक्षणमा जुटेको गोर्खा सिमेट्री ट्रस्ट कमनवेल्थ वार ग्रेभ कमिसन, द रोयल ग्रीन ज्याकेट्स, सिङ्गापुर पुलिस फोर्सका भूतपूर्व गोर्खा कन्टिन्जेन्ट, स्काउट एसोसिएसन अफ हङकङ, हङकङ एडभेन्चर कोर्प्स, रोयल कमनवेल्थ सोसाइटी र हङकङ भूतपूर्व सैनिक संघ जस्ता संस्थाहरूले गोर्खाहरुको योगदानलाई सम्झेर सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्थानीय सरकारी शैक्षिक संस्थाहरू पात हेउङ सेन्ट्रल प्राइमरी स्कूल, चोई चेउङ कोक माध्यमिक विद्यालय र क्यारिटास तुएन मुन मोडर्न फाउन्डेसन माध्यमिक विद्यालयका विद्यार्थीहरूको पनि उल्लेख्य उपस्थिति रहेको पुर्खा दिवसमा हङकङ नेप्लीज फेडेरेसन, नेपाल क्लब हङकङ, वी विल राइज फाउन्डेसन, युथ ग्लोबल नेटवर्क, ए फ्यु मोमेन्ट्स काम तिन, हङकङ रोयल हङकङ पुलिस ओल्ड एन्ड बोल्ड र कादुरी इस्टेट लिमिटेडका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
के हो पुर्खा दिवस ?
दुई दशकदेखि हङकङको पात हेउङ सेन्ट्रल प्राइमरी स्कूलका शिक्षक देवराज राईले नेपालको राष्ट्रिय संग्रहालयमा नेपाल–भारत–बेलायतबीचको त्रिपक्षीय सम्झौताअनुसार भर्ती भएका विश्व चर्चित गोर्खाको योगदानबारे नामोनिसान नभएको भन्दै दुखेसो पोख्छन् ।
नेपाल सरकारले बेलायत र भारतलाई मात्र दोष दिएर इतिहासमा गरेका भूललाई ढाकछोप गरिरहेको उनको आरोप छ । ‘आफ्ना नागरिकलाई गोर्खा बनाएर युद्धमा पठाएको जिम्मेवारी लिएर संसद्मा उभिएर माफी माग्न सरकार हिच्किचाइरहेको छ,’ उनी भन्छन्, ‘त्रिपक्षीय सम्झौताबाट सिर्जित गोर्खा भर्तीले सामाजिक, पारिवारिक, भौतिक र मानसिक विचलन उत्पन्न भएको छ ।’
नेपाली राष्ट्रियता बोकेको वीर गोर्खालीको योगदान नेपाल सरकारले कदर नगरेपछि जहाँजहाँ गोर्खाका सामूहिक समाधिस्थल छन्, त्यहाँ पुगेर उनीहरूलाई सम्झँदै पुर्खा दिवस मनाउनु परेको पनि उनले बताए ।
सन् १९१४ देखि सन् १९१८ सम्म युरोप, अफ्रिका र मध्यपुर्वमा चलेको पहिलो विश्वयुद्धमा नेपालबाट हजारौं युवा बेलायतको पक्षमा गोर्खा भर्ती भएका थिए ।
त्यस्तै सन १९३९ देखि १९४५ सम्म चलेको दोश्रो विश्वयुद्धमा ७० देशका सेना युद्धमा होमिएका थिए । नेपालले कसैसँग युद्ध नगरेपनि भाडाका सैनिकका रूपमा बेलायत र भारतमा हजारौंका संख्यामा भर्ती भएका थिए । युद्धमा वीरगति प्राप्त गरेका सिपाहीहरूको समाधीस्थल कयौँ मुलुकमा संरक्षित छन् ।

गोरखा सेमेट्रिज ट्रस्ट हङकङका सचिव समेत रहेका देवराज राईका अनुसार विश्वका १४९ देशमा २३ हजार २६४ समाधिस्थल छन् । ती समाधीस्थलमा १६ लाख ९५ हजार १७४ जनाको समाधि गरिएको भेटिन्छ । ‘त्यो मध्ये दुई लाख ११ हजार ९२९ जनाको समाधि कसको हो भनेर अझै सनाखत हुन सकेका छैन । ती सनाखत हुन नसकेका समाधिमध्ये अधिकांस गोर्खाको हुनसक्छ’, उनी भन्छन् ।
उनकाअनुसार सन् १९१७ मा स्थापित कमनवेल्थ वार ग्रेभ्स कमिसनले युद्धमा वीरगति पाएका सिपाहीहरूका ती समाधिस्थलको संरक्षण गर्दै आएको छ ।
कमिसनको नीतिअनुसार समाधि स्थायी, एकैखाले र रंगभेदरहित हुनुपर्छ भन्ने छ । यसको संरक्षण खर्च बेलायत, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, भारत र अस्ट्रेलिया सरकारले बेहोरिरहेका छन् ।
विश्वका कुनकुन मुलुकमा गोर्खाका समाधिस्थल छन् भनेर खोजी गरेर पुस्तक समेत लेखेका राईका अनुसार पुर्वी जर्मनीको जरेनड्रोफमा सन् १९८९ मा बर्लिनको पर्खाल ढलेपछि मात्र खोजी गर्दा गोर्खालीका समाधि फेला परेका थिए ।
गोर्खाका समाधी भएका भारतको दिल्ली र टर्कीको ग्यालिपोलीमा रुग्ण मौसमले समाधिलाई असर पारिरहेको छ । फ्रान्स र बेल्जियममा वर्षे बाढीबाट समाधिलाई जोगाउन गाह्रो भइरहेको छ । हङकङको क्यासिनो लाइनस्थित ताम्मी क्याम्पमा ठूलो क्षेत्रफलभित्र बेलायती सैनिक सेवा कालमा वीरगती पाएका ५८० जना भन्दा बढी गोर्खाहरूको समाधि छ ।
उक्त समाधिस्थलको सुरक्षा र संरक्षण वार ग्रेभ्स कमिसनले गर्दैआएको छ । इजिप्टमा भने पानीको अभावले समाधि उद्यान सुक्ने स्थितिमा छ । बेलायतकै विभिन्न स्थानमा रहेका गोर्खाका धेरै समाधिस्थल निजी जग्गामा परेकाले संरक्षणमा कठिनाइ भइरहेको पनि राईले बताए ।
प्रतिक्रिया 4