साउदर्न क्यालिफोर्निया विश्वविद्यालय (यूएससी) का इन्जिनियरले अत्यधिक तापक्रममा पनि काम गर्न सक्ने नयाँ ‘मेमरिस्टर चिप’ विकसित गरेका छन् ।
२६ मार्च २०२६ को ‘साइन्स’ जर्नलमा प्रकाशित यो खोजअनुसार यो सानो उपकरणले ७०० डिग्री सेल्सियससम्मको तापक्रममा पनि डेटा भण्डारण गर्न र जटिल हिसाब गर्नसक्छ ।
सामान्यतया अहिलेका स्मार्टफोन वा स्याटेलाइटमा प्रयोग हुने सिलिकन चिप २०० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा बिग्रन थाल्छन्, तर यो नयाँ चिपले पग्लिएको लाभाभन्दा पनि बढी तापक्रममा कुनै समस्याविना काम गरेर रेकर्ड कायम गरेको छ ।
प्रोफेसर जोसुवा याङको नेतृत्वमा रहेको टोलीले यो चमत्कारपूर्ण चिप निर्माण गर्न टंगस्टन, हाफ्नियम अक्साइड र ग्राफिन जस्ता विशेष सामग्रीहरूको प्रयोग गरेको छ ।
परम्परागत चिपमा अत्यधिक तातोका कारण धातुका परमाणु सरेर सर्ट सर्किट हुने र डेटा हराउने समस्या हुन्छ, तर ग्राफिनको बलियो तहले ती परमाणुलाई सर्नबाट पूर्ण रूपमा रोक्छ ।
प्रयोगशालाको परीक्षणमा यो चिपले ७०० डिग्रीको तापक्रममा १ अर्ब पटकसम्म ‘स्विच’ गर्नसक्ने र ५० घण्टाभन्दा बढी समयसम्म डेटा सुरक्षित राख्नसक्ने क्षमता प्रदर्शन गरेको छ । यो प्रविधिको विकासले विशेषगरी शुक्र ग्रह जस्तो तातो सतह भएको ठाउँमा पठाइने अन्तरिक्ष यान र जमिनमुनि जहाँ चट्टान रातो र तातो हुन्छन्, त्यहाँका सेन्सरमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।
यो चिप केवल डेटा भण्डारणका लागि मात्र नभई आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रका लागि पनि एउटा ठूलो वरदान सावित भएको छ ।
च्याटजीपीटी जस्ता एआई प्रणालीहरूले गर्ने अधिकांश काम ‘म्याट्रिक्स मल्टिप्लिकेसन’ जस्ता जटिल गणितीय हिसाबमा आधारित हुन्छन्, जसमा अहिलेका कम्प्युटरले धेरै ऊर्जा खपत गर्छन् ।
यो नयाँ मेमरिस्टर चिपले भने विद्युत प्रवाह हुने बित्तिकै यस्ता हिसाब तत्कालै गर्न सक्छ, जसले गर्दा एआई गणनाहरू कयौं गुणा तीव्र र निकै कम बिजुली खर्चमा सम्पन्न हुन्छन्। यद्यपि यो प्रविधि अहिले प्रयोगशालाको चरणमा छ र यसलाई व्यावसायिक रूपमा बजारमा ल्याउन अझै केही समय लाग्नेछ ।
तर, यसमा प्रयोग भएका सामग्री उद्योगमा पहिलेदेखि नै चल्तीमा रहेकाले भविष्यमा यसको ठूलो मात्रामा उत्पादन सहज हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4