+
+
Shares

४०० प्राध्यापकले गरेको अध्ययन बिदा दुरुपयोग : १९ जनाले गरे ६ करोड फिर्ता

२ अर्ब बढी नोक्सानी, छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

प्रधानमन्त्री बालेन र शिक्षामन्त्री पोखरेलको सचिवालयले छानबिन समितिका संयोजक डा. काफ्लेसँग छलफल गरेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ चैत २५ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग गर्ने १९ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् भने ४५ जनाले फिर्ता गर्न निवेदन दिएका छन्।
  • छानबिन समितिले असारसम्म नफर्किएका प्राध्यापकसँग सहजीकरण गरी रकम फिर्ता ल्याउने रिपोर्ट पेस गर्ने तयारी गरेको छ।
  • अध्ययन बिदाको दुरुपयोगले त्रिविलाई २ देखि ३ अर्ब रुपैयाँ नोक्सानी पुगेको र प्रधानमन्त्री बालेन शाह र शिक्षामन्त्री सस्मित पोखरेलले यसमा चासो देखाएका छन्।

२५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग गर्ने १९ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् । प्राध्यापकहरू अध्ययन बिदामा विदेश जाने र उतै लुक्ने गरेको तथ्य अनलाइनखबरमा २०८१ मंसिरमा प्रकाशित भएपछि त्रिविले २०८१ पुसमा त्रिविले छानबिन समिति बनाएको थियो ।

समितिले ६ महिना त्रिविका सबै निकायमा पुगेर खोजबिन गर्दा ४०० जना प्राध्यापकले दुरुपयोग गरेको भेटिएको थियो । तीमध्ये हालसम्म १९ जनाले मात्र रकम फिर्ता गरेका छन् । ‘रकम फिर्ता गर्न ४५ जनाको निवेदन आएको छ । १९ जनाले फिर्ता गर्नुभएको छ,’ छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले भने ।

अध्ययन बिदामा गएर नफर्किएपछि १० प्रतिशत ब्याजसहित आफूले खाएको सबै रकम फिर्ता गर्नुपर्ने हुन्छ । धेरैजसो प्राध्यापकको खाएको तलबभन्दा ब्याज बढी भएपछि फिर्ता गर्न आनाकानी गरिरहेका छन् । यसमा के गर्ने भनेर त्रिवि पदाधिकारीले छलफल गरिरहेका छन् ।

कहिले सार्वजनिक हुन्छ छानबिन प्रतिवेदन ?

छानबिन समितिका संयोजक काफ्लेकै संयोजकत्वमा नफर्किएका प्राध्यापकसँग सहजीकरण गरी रकम फिर्ता ल्याउन हेल्प डेस्क बनाइएको छ । यो समितिलाई असारसम्मको समय दिइएको छ । ‘असारसम्म कतिले बुझाए, कतिले बुझाएनन् भनेर पूर्ण रिपोर्ट पेस गर्छौं,’ उनले भने ।

त्रिवि पदाधिकारीलाई प्रतिवेदन बुझाउँदै खोजबिन समितिका पदाधिकारीहरू । फाइल तस्वीर

यसअघि उनकै नेतृत्वमा बनेको छानबिन समितिको प्रतिवेदन २०८२ जेठमा त्रिविको पदाधिकारीलाई बुझाइएको छ । तर उक्त प्रतिवेदन सार्वजनिक भएको छैन । ‘अझै भेरिफाइ गर्ने काम गरिरहेका छौं । संख्या थपिँदै छ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने ।

त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको थियो । बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ । तर फिर्ता लिनुपर्ने रकम त्रिविले लिन सकेको छैन ।

२ अर्ब बढी नोक्सानी

अध्ययन बिदामा गएर प्राध्यापक नफर्किंदा त्रिविलाई २ देखि ३ अर्ब रुपैयाँ नोक्सानी भएको छ । त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहित दिएको अध्ययन बिदाको चरम दुरुपयोग भएको हो । अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी बेहोरिरहेको छ ।

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् ।

५ वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमा बस्ने गरेको पाइएको छ ।

त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब–भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन् । खाइपाइ आएको तलब–भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नू भनी ३ जना साक्षी राखेर कबुलियतसमेत गरिएको हुन्छ । तर अध्ययन बिदामा गएका धेरै प्राध्यापकले कुनै पनि नियम पालना गर्दैनन् ।

त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । विदेशबाट राजीनामापत्र त्रिविमा पठाउने तर रकम भने फिर्ता गर्ने गरेका छैनन् ।

मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् । ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेकोमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् ।

त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् ।

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् । त्रिवि स्रोतका अनुसार अध्ययनका क्रममा ४०० जना भेटिए पनि २ जनाको नाम पछि झिकिएको छ ।

प्रधानमन्त्री बालेन र शिक्षामन्त्री पोखरेलको चासो

अध्ययन बिदाको दुरुपयोगका विषयमा प्रधानमन्त्री बालेन शाह र शिक्षामन्त्री सस्मित पोखरेलले चासोका साथ अध्ययन गरिरहेका छन् । प्रधानमन्त्री बालेन र शिक्षामन्त्री पोखरेलको सचिवालयले छानबिन समितिका संयोजक डा. काफ्लेसँग छलफल गरेका छन् ।

‘प्रधानमन्त्री र शिक्षामन्त्रीको सचिवालयसँग मेरो छलफल भएको हो । उहाँहरूले कहाँ जटिलता भएको हो, त्यहाँ सहयोग गर्छौं भन्नुभएको छ,’ काफ्ले भने । उनले असारसम्म सबै रिपोर्ट बुझाउने प्रधानमन्त्री र मन्त्रीको सचिवालयलाई भनेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?