+
+
Shares
त्रिविमा अध्ययन बिदाको दुरुपयोग :

प्राध्यापकले फिर्ता गर्न थाले रकम, डेढ करोड बढी उठ्यो

६० जनाभन्दा बढी प्राध्यापक रकम तिर्नको लागि त्रिविको सम्पर्कमा

अध्ययनमा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई गत असार २९ मा त्रिविले ब्याजसहित रकम फिर्ता गर्न ३५ दिनको अल्टिमेटम दिएको थियो । यो अवधिमा ५ जनाले रकम फिर्ता गरेका छन् भने ६० जनाभन्दा बढी तिर्नको लागि सम्पर्कमा आएका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ साउन २१ गते २२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्ने ३९८ प्राध्यापकबाट २ अर्ब बढी रकम फिर्ता लिन हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ।
  • ५ जनाले १ करोड ६७ लाख बढी रकम फिर्ता गरिसकेका छन् भने ६० भन्दा बढी प्राध्यापकले रकम तिर्न सम्पर्क गरेका छन्।
  • त्रिविका नियम अनुसार अध्ययन बिदा उपभोग गरेपछि शिक्षकले कम्तीमा ३ देखि ५ वर्ष सेवा गर्नुपर्ने र नफर्किएमा तलब भत्तामा १० प्रतिशत ब्याजसहित रकम फिर्ता गर्नुपर्ने छ।

२१ साउन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकले रकम फिर्ता गर्न थालेका छन् ।

अध्ययनमा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई गत असार २९ मा त्रिविले ब्याजसहित रकम फिर्ता गर्न ३५ दिनको अल्टिमेटम दिएको थियो । यो अवधिमा ५ जनाले रकम फिर्ता गरेका छन् भने ६० जनाभन्दा बढी तिर्नको लागि सम्पर्कमा आएका छन् ।

त्रिवि कर्मचारी प्रशासन महाशाखा स्रोतका अनुसार ५ जनाबाट १ करोड ६७ लाख बढी रकम उठेको छ । उपप्राध्यापकहरू मित्रमणि सुवेदीले ४३ लाख १४ हजार, हिमा कुमारी राउतले ४४ लाख ७३ हजार, रिना श्रेष्ठले ९ लाख ७५ हजार, पुष्पराज आचार्यले ३६ लाख ५२ हजार र ज्ञानप्रसाद गौतमले ३३ लाख ४२ हजार फिर्ता गरेका छन् । रकम फिर्ता गर्नेमा अधिकांश अध्ययन बिदामा गएर नफर्किएकाहरू हुन् । रिना श्रेष्ठ भने फर्केर पनि पूरा अवधि सेवा नगरेकी हुन् ।

त्रिविका प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउने नियम छ । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाईपाई आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेको हुन्छ ।

५ वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका विभिन्न मुलुकमा बस्ने गरेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।

त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब–भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन् । खाईपाई आएको तलब–भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ । तर अध्ययन बिदामा गएका धेरै प्राध्यापकले कुनैपनि नियम पालना गर्दैनन् ।

त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । तर कुनै कारबाही भएको थिएन ।

समाचार प्रकाशित भएपछि त्रिविले उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ५ महिना बढी लगाएर खोज गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरिएको भेटिएको हो । जसमा नफर्किएका र अध्ययन पूरा नगरेका प्राध्यापकहरू छन् ।

यसरी बिदाको दुरुपयोग गर्ने शिक्षकबाट त्रिविले रकम असुली गर्न लागेको हो । त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालका अनुसार दुरुपयोग गर्ने शिक्षक कर्मचारी धमाधम पैसा तिर्न आइरहेका छन् । पैसा नतिरी राजीनामा स्वीकृत नगर्ने भएकाले पनि बिदामा बस्दा खाएको तलब भत्तामा १० प्रतिशत ब्याज जोडेर फिर्ता गर्न प्राध्यापकहरू आइरहेका हुन् ।

२ अर्ब बढी रकम उठाउन हेल्प डेस्क स्थापना

३९८ जना शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम त्रिविले उठाउनु पर्ने छ । त्यसका लागि त्रिविले ‘हेल्प डेस्क’ स्थापना गर्न लागेको छ । ‘पछि समस्या नआओस् भनेर नीतिगत प्रष्टता गरेका छौँ । हेल्प डेस्क बनाएर काम गर्छौं । यसरी फिर्ता आएको रकम निवृत्तिभरण कोषमा राख्छौं,’ रजिस्ट्रार रिजालले भने ।

त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको थियो । बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ ।

हेल्प डेस्कको संयोजन छानबिन समितिका संयोजक जीवन काफ्लेले नै गर्नेछन् । अध्ययन बिदामा गएर नफर्किने र अध्ययन पूरा नगर्ने दुबैको अनुसन्धान पनि यही डेस्कबाट हुनेछ । बिदामा रहेकाले उतैबाट रकम फिर्ता गर्न पाउने सुविधा पनि त्रिविले दिने भएको छ ।

यसरी काम गर्दा १ वर्षसम्म पनि रकम फिर्ता नगरेमा थप कारबाहीमा जाने योजना त्रिविको छ । विदेशमा जुन संस्थामा कार्यररत हो त्यो संस्थामा इमेल गर्ने, सम्बन्धित व्यक्तलाई खबर गर्दा पनि रकम फिर्ता नगरेको अन्तिम चरणमा सबैको नाम सार्वजनिक गर्ने योजना त्रिविको छ। ‘शिक्षक कर्मचारीबाट बिदाको दुरुपयोगमा दुरुत्साहन हुन्छ । रिसोर्स पलायन हुनबाट पनि रोकिन्छ,’ रजिस्ट्रार रिजालले भने ।

कुन संकायका कतिले गरे दुरुपयोग ?

मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् ।

उपप्राध्यापक डा. काफ्लेको संयोजकत्वमा गठित समितिले ५ महिना बढी लगाएर खोज गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरिएको भेटिएको हो । जसमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् ।

त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?