
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने निर्णय गरेको छ।
- रजिस्ट्रार केदारप्रसाद रिजालले भने, \'अध्ययन बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको छ।\'
- त्रिविले ४ सय प्राध्यापकले बिदाको दुरुपयोग गरेको पत्ता लगाएर कारबाही सुरु गरेको र २ अर्ब बढी रकम उठ्ने अनुमान गरेको छ।
२७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको छ ।
‘त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको छ,’ रजिस्ट्रार केदारप्रसाद रिजालले भने ।
अध्ययन बिदा लिएर विदेश जाने र उतै लुक्ने, कोहीले अध्ययन नै पूरा नगरी फर्किने गरेको समाचार प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो । उक्त समितिले करिब ४ सय प्राध्यापकले बिदाको दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको थियो ।
५ वर्ष अध्ययन बिदा लिने, सो अवधिसम्म तलबभ भत्ता पनि खाने अन्तिममा शिक्षक कर्मचारी सेवामा नफर्किने गरेको पाइएको छ ।
बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम उठ्ने त्रिविको अनुमान छ । यो रकमलाई त्रिविले आर्थिक स्रोतको रुपमा लिएको छ । नफिर्कने शिक्षक कर्मचारीलाई कारबाही पनि सुरु गरिएको त्रिविले जनाएको छ ।
‘अध्ययन बिदा दुरुपयोग गरी सम्पर्कमा नआएका वा लक्षित डिग्री हासिल नगरेका व्यक्तिको छानबिन तथा खोजी गर्न गठित समितीको प्रतिवेदन अनुसार कार्यान्वयन सुरु भइसकेको छ । यसबाट विश्वविद्यालयमा आर्थिक अनुशासन कायम हुनुका साथै आर्थिक स्रोत समेत बढ्न जानेछ,’ रजिस्ट्रार रिजालले भने ।
प्रतिक्रिया 4