+
+
Shares

कर कर्मचारीलाई आचारसंहिता : अनधिकृत भेट नगर्नू, एजेन्ट नबन्नू

करदातालाई दुःख दिने वा झुलाउने काम गर्न नहुने, तोकिएको समयमा कार्यालयमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्नुपर्ने, कार्यालयमा तोकिएको पोशाक र कर्मचारी परिचय पत्र देखिने गरी अनिवार्य रुपमा लगाउनु पर्ने समेत आचारसंहितामा तोकिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ चैत २६ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले २०७४ सालको आचारसंहिता खारेज गरी नयाँ आचारसंहिता स्वीकृत गरेको छ।
  • नयाँ आचारसंहिताले कर कर्मचारीलाई राजनीतिक सदस्यता लिन र करदातासँग अनधिकृत भेटघाट गर्न रोक लगाएको छ।
  • कर्मचारीले सेवाग्राहीबाट उपहार लिन नपाउने र सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ।

२६ चैत, काठमाडौं । आन्तरिक राजस्व विभागले कर कर्मचारीका लागि नयाँ आचारसंहिता बनाएको छ । २०७४ सालमा ल्याएको आचारसंहिता खारेज गर्दै विभागले आन्तरिक राजस्व विभाग र अन्तर्गत कार्यरत कर्मचारीको व्यक्तिगत तथा सामूहिक आचारणसम्बन्धी आचारसंहिता ल्याएको हो । बुधबार स्वीकृत आचारसंहिता अनुसार कर्मचारीले करदाता वा सरोकारवालासँग अनधिकृत भेटघाट गर्न पाउने छैनन् ।

साथै कर्मचारीलाई करदाताको प्रतिनिधि वा एजेन्ट भई काम गर्न समेत रोक लगाइएको छ । पदीय अधिकारको दुरुपयोग गर्न नहुने, सेवाग्राहीबाट कुनै प्रकारको उपहार, दान, दातव्य वा आतिथ्यता स्वीकार गर्न नहुने समेत आचार संहितामा उल्लेख छ । कार्यसम्पादनका क्रममा सेवाग्राहीसँग गैरकानुनी सुविधा नलिन र सरकारी सम्पत्तिलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाउने गरी आचारसंहिता बनाइएको छ ।

विभागका अनुसार तोकिएको जिम्मेवारी तोकिएको समयभित्र सम्पन्न गर्नुपर्नेदेखि कुनै प्रभाव र दबाबमा नपरी पक्षपातरहित कार्य सम्पादन गर्नुपर्ने विषय समेत आचारसंहितामा समेटिएको छ । करदातालाई दुःख दिने वा झुलाउने काम गर्न नहुने, तोकिएको समयमा कार्यालयमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्नुपर्ने, कार्यालयमा तोकिएको पोशाक र कर्मचारी परिचय पत्र देखिने गरी अनिवार्य रुपमा लगाउनु पर्ने समेत आचारसंहितामा तोकिएको छ ।

कर्मचारीले सेवाग्राहीको सम्मान र अधिकारको संरक्षण गर्नुपर्ने, डिजिटल प्रणालीको अधिकतम प्रयोग गर्नुपर्ने आचारसंहितामा राखिएको छ । निर्णय गर्दा र निर्णय कार्यान्वयनमा ढिलासुस्ती गर्न नहुने, आफ्नो पदअनूकुल ज्ञान, सीप तथा दक्षता अभिवृद्धि गर्न निरन्तर प्रयास गर्न आचारसंहिताले भनेको छ ।

सहकर्मी तथा वरिष्ठप्रति शिष्ट, सम्मानजनक र अनुशासित व्यवहार गर्नुपर्ने तथा नेपाल सरकार, मन्त्रालय वा विभागको नीति निर्माण तथा कार्यक्रमप्रति आलोचनात्मक, अपमानजजनक वा अविश्वास उत्पन्न हुने अभिव्यक्ति दिन नहुने आचारसंहितामा लेखिएको छ । कानुनले अनुमति दिएकोकामा बाहेक कुनै पनि गैरसरकारी संस्थामा पदाधिकारी हुन नहुने, कानुनले अनुमति दिएकोमा बाहेक अन्य रोजगारी स्वीकार गर्न नहुने र मातहतका कर्मचारीबाट समेत उपहार लिन नहुने समेत आचारसंहितामा लेखिएको छ ।

राजनीतिक सदस्यता लिन नपाइने

आचारसंहिता अनुसार करका कर्मचारी राजनीतिक प्रभावबाट मुक्त रही काम गर्नुपर्छ । कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नहुने, कुनै राजनीतिक दलको सदस्यता लिन नहुने, करदाताको अधिकारको सम्मान गर्नुपर्ने र समान र समतामूलक सेवा प्रवाह गर्नुपर्ने आचारसंहितमा उल्लेख छ । सामाजिक संजालमा कानूनी बमोजिमबाहेक गोप्य सूचना सार्वजनिक गर्न नहुने र सामाजिक सञ्जालमा मर्यादित व्यवहार गर्नुपर्ने आचारसंहिता छ ।

कार्यालय समयमा व्यक्तिगत सामाजिक संजाल प्रयोग गर्न नपाइने, सरकारी काम कारवाही सम्बन्धी पत्राचार सम्भव भएसम्म आधिकारिक इमेल प्रयोग गर्नुपर्ने, कामको सिलसिलामा इ–गभर्नेन्स प्रवद्र्धन गर्ने र सरकारी डेटाको सुरक्षा सुनिश्चित गर्नुपर्ने आचारसंहितामा लेखिएको छ । कामको सिलसिलामा स्वअध्ययन गर्ने, कृत्रिम बौद्धिकताको सही सदुपयोग गर्ने तथा डिजिटलाइजेसनको अधिकतम प्रयोग गरी छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने कर्मचारीलाई आचारसंहिता तोकिएको छ ।

करदाता, सेवाग्राही र सरोकारवालासँग निष्कक्ष, पारदर्शी र मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने, निर्णय गर्दा वस्तुनिष्ठ, तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्ने गरी आचारसंहिता बनाइएको छ । सेवा प्रवाह छिटो, सरल, सहज र प्रभावकारी बनाउनुपर्ने, सेवा प्रवाह गर्दा सार्वजनिक हितलाई सर्वोपरी मान्नुपर्ने र पदीय जिम्मेवारी तथा काम कारबाहीप्रति लगनशील र तत्पर हुनुपर्ने आचारसंहितामा उल्लेख छ । कर्मचारीले भ्रष्टाचारजन्य कसुर ठहर हुने कुनै पनि क्रियाकलापमा भाग लिन नपाउने आचारसंहितामा लेखिएको छ ।

कर कर्मचारीले के काम गर्न पाउँछन् ?

आचारसंहिताले आफ्नो विशेषज्ञताका विषयमा परामर्श दिन, अध्ययन अनुसन्धान गर्न र स्वीकृति लिएर अध्यापन गराउन भने रोक लगाएको छैन । कार्यालयको काममा असर नपर्ने गरी साहित्य, कला, संस्कृति, खेलकुद तथा सामाजिक संस्थामा सहभागिता जनाउन पाइने छ । सरकारको नीति र कार्यमा प्रतिकूल असर नपर्ने गरी लेख रचना प्रकाशित गर्न सकिने उल्लेख छ ।

व्यक्तिगत इमेल तथा सामाजिक संजालको सीमित र जिम्मेवारी प्रयोग गर्न रोक लगाइएको छैन । कानुन अनुसार पुरस्कार, पदक तथा सम्मान दिन र सामाजिक तथा औपचारिक कार्यक्रममा भाग लिन समेत रोक हुने छैन ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?