२६ चैत, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुगडामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मंगलबार साँझ ६ बजेतिर पहरीया–कुगडा भित्री कच्ची सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कृष्णपुर नगरपालिका –१ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिप चालक कृष्णपुर नगरपालिका–१ का २४ वर्षीय अर्जुन साउँद चलाएका थिए ।
जिपमा चालकसहित ८ जना सवार थिए । उनीहरू मध्ये मृतक बाहेक ६ जना घाइते भएका छन् । घाइते सबै जनालाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढीस्थित अस्पताल पठाइएको छ। घाइतेमध्ये चालक अर्जुन साउदको टाउको र शरीरमा गम्भीर चोट लागेको छ।
अन्य घाइतेहरूमा धनसरी बोहरा, सरिता बोहरा भावना पार्की, रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनी निवासी गंगा बिष्ट रहेका छन्। उनीहरूको मुख, टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पहरीयाबाट प्रहरी हवल्दार हरि सिंह खत्रीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक राजेश बस्नेतको नेतृत्वमा थप टोली खटाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त जिप र मृतकका शव घटनास्थलमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4