+
आईपीएल २०२६ :

मुकुल चौधरीको शानदार ब्याटिङमा लखनउको रोमाञ्चक जित

२०८२ चैत  २६ गते २३:४२ २०८२ चैत २६ गते २३:४२
मुकुल चौधरीको शानदार ब्याटिङमा लखनउको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुकुल चौधरीले २७ बलमा ५४ रन बनाएर लखनउ सुपर जायन्ट्सलाई कोलकाता नाइट राइडर्सविरुद्ध अन्तिम बलमा जित दिलाए ।
  • कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।
  • कोलकाताका लागि अंगकृश रघुवंशीले ४५, कप्तान अजिन्क्या रहानेले ४१ र रोभमन पावेलले ३९ रन बनाएका थिए ।

२६ चैत, काठमाडौं । मुकुल चौधरीले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले आईपीएल २०२६ मा कोलकाता नाइट राइडर्स विरुद्ध रोमाञ्चक जित निकालेको छ ।

कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले अन्तिम बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । मुकुलले २७ बलमा ३ चौका र ७ छक्कासहित अविजित ५४ रन बनाए । त्यसअघि आयुष बदोनीले पनि ५४ रन बनाएर आउट भए ।

लखनउ १६ ओभरमा १२८-७ को अवस्थामा हुँदा २४ बलमा ५४ रन आवश्यक थियो । त्यहाँ देखि मुकुल चौधरीले शानदार ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । ६ बलमा १४ रन आवश्यक हुँदा वैभव अरोरा बलिङमा आए ।

अरोराको पहिलो बलमा आवेश खानले १ रन लिएर मुकुललाई स्ट्राइक लिए । मुकुलले दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो र चौथो बल डट भयो । पाँचौं बलमा मुकुलले फेरि छक्का प्रहार गरे । अन्तिम बलमा ब्याट टच नभएपनि १ रन बाईमा लिँदै जित दिलाए ।

कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २-२ विकेट लिँदा क्यामरन ग्रीन र सुनिल नराइनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । सुरुवात राम्रो गरेको भएपनि कोलकाताले अपेक्षित फिनिसिङ भने गर्न सकेन ।

अंगकृश रघुवंशीले सर्वाधिक ४५ रन बनाए । कप्तान अजिन्क्या रहानेले ४१ रन बनाउँदा रोभमन पावेल ३९ अनि क्यामरन ग्रीन ३२ रनमा अविजित रहे ।

कोलकाता एक समय ११औं ओभरमा ९९-१ को अवस्थामा थियो । १४औं ओभरमा १११-४ को अवस्थामा पुगेको थियो । त्यहाँबाट पावेल र ग्रीनले १८१ रनको योगफलसम्म पुर्‍याएका थिए ।

लखनउका प्रिन्स यादव, मनिमरन सिद्धार्थ, मोहम्मद शामी र आवेश खानले १-१ विकेट लिए ।

लखनउले ३ खेल खेल्दा दोस्रो जित निकालेको छ भने ४ खेल खेलेको कोलकाता अझै जितविहीन छ ।

आईपीएल २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय