+
+
Shares

लुम्बिनीमा ७२ प्रतिशत भैंसी अनुत्पादक, वंश सुधार नगर्दा दूध उत्पादन कमजोर

लुम्बिनी प्रदेशमा साढे सात लाखभन्दा बढी भैंसी रहे पनि सवा दुई लाख मात्र दूधालु रहेको तथ्यांकले पशुपालनमा लगानी र मेहनतअनुसार उत्पादन हुन नसकेको देखाएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ चैत २७ गते १०:२४
Photo Credit : Nabin Baral

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशमा ७ लाख ५७ हजार २०० भैंसी छन्, जसमा २ लाख १६ हजार ७९२ मात्र दूधालु छन् र ७२ प्रतिशत अनुत्पादक छन्।
  • प्रदेश सरकारले भैंसीको वंश सुधार र स्वास्थ्यमा सुधार गरी वार्षिक २५ अर्ब रुपैयाँ बराबरको दूध उत्पादन र दुई लाख बढी रोजगारी सिर्जना गर्ने योजना बनाएको छ।
  • नेपालमा करिब ३३ लाख भैंसी छन्, जसले कुल दूध उत्पादनमा ५७ प्रतिशत र मासु उत्पादनमा ३६ प्रतिशत योगदान गर्छन् र वंश सुधारले मासु उद्योगमा क्रान्ति ल्याउन सकिन्छ।

२७ चैत, बुटवल ।  लुम्बिनी प्रदेशका किसानका गोठमा साढे सात लाख बढी भैंसी रहेपनि सवा दुई लाख मात्र दूधालु रहेको पाइएको छ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार प्रदेशमा ७ लाख ५७ हजार दुई सय भैंसी छन् । तर यीमध्ये २ लाख १६ हजार ७९२ वटा भैंसी मात्र दूधालु छन् ।

अनुत्पादक भैंसीको संख्या ५ लाख ४५ हजार १८४ (७२ प्रतिशत) र उत्पादक भैंसीको संख्या २८ प्रतिशत मात्र रहेको तथ्यांकले भैंसी पालनमा किसानहरुको ठूलो लगानी र मेहनत भएपनि उत्पादन र आयआर्जन अति न्यून भइरहेको देखाउँछ । दूध उत्पादन कम हुनुको मुख्य कारण भैंसीका प्रजातिको गुणस्तर नहुनु अर्थात वंश र नश्ल सुधार नहुनु प्रमुख कारण भएको पशु विज्ञहरुले औंल्याएका छन् ।

प्रदेशको कूल भैंसी संख्या मध्ये तराईका ६ जिल्लामा ६२ प्रतिशत र एक हिमाली सहित पहाडका ६ जिल्लामा ३८ प्रतिशत रहेको छ ।

तराईका जिल्लामा दूधालु भैंसीको संख्या एक लाख ३३ हजार ६६० र पहाडका जिल्लामा दूधालु भैंसीको संख्या ८३ हजार १३२ रहेको पशुपंक्षी निर्देशनालयका वरिष्ठ पशु रोग चिकित्सक लोकराज भुसाल बताउँछन् ।

सबैभन्दा दूधालु भैंसीमा मुर्रा जातको मानिन्छ । तर उन्नत जातको मुर्रा भैंसीको संख्या प्रदेशमा न्यून छ ।

जिल्लागतरुपमा सबैभन्दा धेरै रुपन्देहीमा एक लाख ७ हजार १९१ वटा (१४ प्रतिशत) र सबैभन्दा कम रुकुम पूर्वमा ९ हजार ८२० (१ प्रतिशत) भैंसी छन् ।

दोस्रो धेरै भैंसी भएका जिल्ला कपिलवस्तुमा एक लाख एक हजार ७३२ (१३ प्रतिशत) छन् । बाँकेमा ८४ हजार ७०१, अर्घाखाँचीमा ८३ हजार ६७६, बर्दियामा ७६ हजार ९८२, दाङमा ६८ हजार २६१ भैंसी छन् । यसैगरी गुल्मीमा ६४ हजार ३१७, पाल्पामा ५१ हजार २७१, प्युठानमा ४९ हजार ३४८, पश्चिम नवलपरासीमा ३२ हजार ८०७ र रोल्पामा २७ हजार ४ वटा भैंसी रहेका भुसालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा वार्षिक ३ लाख ५५ हजार ५५६ मेट्रिक टन भैंसीको दूध उत्पादन हुने गरेको छ । एउटा दूधालु भैंसीबाट दैनिक सरदर ४.६ लिटर (वार्षिक १४ सय लिटर) दूध उत्पादन हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा हालको अनुत्पादक मध्ये आधा भैंसीको वंश तथा नश्ल सुधार, भकारो सुधार, नियमित स्वास्थ्य चेकजाँच गर्न सके वार्षिक २५ अर्ब रुपैयाँ बराबरको थप दूध उत्पादन र २ लाख जना बढीलाई रोजगारी सिर्जना गर्न सकिने वरिष्ठ पशु चिकित्सक लोकराज भुसाल बताउँछन् ।

हालकै सवा दुई लाख भैंसीको पालन पोषण र स्वास्थ्यमा सुधार ल्याउँदा पनि वार्षिक ३ अर्ब बराबरको दूध उत्पादन वृद्धि गर्न सकिने भुसालले बताए । ‘अहिले उत्पादन दिइरहेका भैंसीको पोषण र स्वास्थ्यमा सुधार गरी प्रतिदिन प्रतिभैंसी एक लिटर दूध बढी उत्पादन गर्दा मात्रै पनि वार्षिक ३ अर्ब आम्दानी बढाउन सकिन्छ भने अनुत्पादक साढे ५ लाखको आधा भैंसीको वंश सुधार गरी दूध उत्पादन गर्ने अवस्थामा ल्याउने हो भने वार्षिक २५ अर्ब बराबरको आम्दानी लिन र दुई लाख बढी रोजगारी सिर्जना गर्न सकिन्छ,’ भुसालले भने ।

भैंसीको श्रोत केन्द्र स्थापना आवश्यक : मन्त्री पन्थी

लुम्बिनी प्रदेशमा भैंसीको वंश सुधार गरी उत्पादकत्व बढाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र संघीय सरकारसँग १० करोड रुपैयाँ विशेष अनुदानको माग गरेको प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थीले बताए । लुम्बिनी प्रदेशमा भैंसी विकासको उच्च सम्भावना रहेको र संरचित आनुवंशिक सुधार अपरिहार्य रहेको भन्दै उनले प्रदेशको खाद्य सुरक्षा र किसानको जीविकोपार्जनका लागि भैंसीको श्रोत केन्द्र स्थापना आवश्यक रहेको बताए ।

भैंसीमा लाग्ने खोरेत रोग प्रमुख समस्या भएको र यसले ४० प्रतिशतसम्म दूध उत्पादनमा गिरावट आएकाले प्रदेशलाई खोरेत रोग मुक्त बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको मन्त्री पन्थीले बताए ।

नेपालमा करिब ३३ लाख भैंसी रहेका र कुल दूध उत्पादनमा ५७ प्रतिशत र मासु उत्पादनमा ३६ प्रतिशत योगदान भैंसीको रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डा. भूमिनन्दन देवकोटाले बताए ।

‘लुम्बिनी प्रदेशमा भैंसीको वंश सुधार तथा उत्पादकत्व वृद्धिका लागि भैंसीलाई नियमित खोप र परजीवी नियन्त्रण, घरदैलो पशु चिकित्सा सेवा, वाँझोपन निवारण, थुनेलो नियन्त्रणमा सरकारले काम गरिरहेको छ,’ मन्त्री पन्थीले भने, ‘​​एन्टिबायोटिक संवेदनशीलता परीक्षण, जिल्लास्तरमा प्रयोगशाला सुदृढीकरण र जलवायु–उत्थानशील प्रजनन्लाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’

नेपालको कुल दूध उत्पादनमा भैंसीको योगदान ६३ प्रतिशत छ । नेपाल विश्वव्यापी रूपमा भैंसी जनसंख्यामा चौथो र भैंसी दूध उत्पादनमा पाँचौं स्थानमा छ ।

मासु उद्योगमा पनि क्रान्ति ल्याउन सकिन्छ : डा. देवकोटा

नेपालमा करिब ३३ लाख भैंसी रहेका र कुल दूध उत्पादनमा ५७ प्रतिशत र मासु उत्पादनमा ३६ प्रतिशत योगदान भैंसीको रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डा. भूमिनन्दन देवकोटाले बताए । वंश सुधारेर दूध उत्पादन बढाउन उत्पादन रेकर्डको आधारमा उत्कृष्ट भैंसी छान्ने, पुर्खाको रेकर्ड हेरेर राँगा छान्ने, पाडीको रेकर्डको आधारमा राँगाको मूल्याङ्कन र स्थानीय नश्ललाई मुर्रासँग क्रस गराई उत्पादकत्व बढाउन सकिने डा. देवकोटाको सुझाव छ ।

भैंसीको वंश सुधार गरेमा प्रतिबेत ८०० लिटर उत्पादन दुई हजार लिटर प्रतिबेत पुग्ने, थोरै भैंसी पालेर धेरै नाफा कमाउन सकिने, प्रजनन् क्षमतामा सुधार भई पहिलो पटक ब्याउने उमेर घट्ने र दुई बेत बीचको अन्तर कम हुने तथा राँगाहरूको वृद्धि दरमा सुधार आउने डा. देवकोटाले बताए ।

भैंसीको वंश सुधार र उत्पादकत्व वृद्धिका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विस्तार गरी गाउँ–गाउँमा कृत्रिम गर्भाधान सेवा, स्थानीय नश्लको सुधार र क्रसब्रिडिङ बीच सन्तुलन कायम, किसानलाई दूध र प्रजनन रेकर्ड राख्न प्रोत्साहन र प्रत्येक पालिकामा कम्तिमा एउटा भैंसी स्रोत केन्द्र विकास गनुपर्र्ने डा. देवकोटाले सरकारलाई सुझाएका छन् ।

नेपालको रैथाने लिमे भैंसीको सहनशीलता र जंगली अर्नाको विशाल शरीरको मिश्रणले नेपालको मासु उद्योगमा क्रान्ति ल्याउन सकिने डा. देवकोटा बताउँछन् ।

अन्य प्रजातिका भैंसी भन्दा जंगली अर्ना निकै ठूलो शरीरको हुने भएकाले उसको तौल औसत एक हजार २ सय केजीसम्म हुन्छ । चीनसँगको पछिल्लो सम्झौता अनुसार नेपालले अर्बौंको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । नेपाल विश्वव्यापी रूपमा भैंसी जनसंख्यामा चौथो र भैंसी दूध उत्पादनमा पाँचौं स्थानमा छ ।

हाल नेपालमा स्थानीय जातका लिमे, पार्कोटे, गड्डी तथा विदेशी/क्रस जातका मुर्रा भैंसी पालन हुने गरेको देवकोटाले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?