+

काजलको तेक्वान्दो यात्रा : जुनियर वर्ल्ड च्याम्पियनसिपमा खेलाडीदेखि रेफ्रीसम्म

२०८२ चैत  २७ गते १३:५८ २०८२ चैत २७ गते १३:५८

सन् २०१४ मा ताइवानमा भएको वर्ल्ड तेक्वान्दो जुनिनयर च्याम्पियनसिपमा खेलाडीको रुपमा सहभागी भएकी काजल त्यसको १२ वर्षपछि फरक भूमिकामा सहभागी हुँदैछिन् ।

काजलको तेक्वान्दो यात्रा : जुनियर वर्ल्ड च्याम्पियनसिपमा खेलाडीदेखि रेफ्रीसम्म

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली तेक्वान्दो रेफ्री काजल श्रेष्ठ उज्वेकिस्तानको तास्केन्तमा अप्रिल १२ देखि १७ सम्म हुने वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्न पुगिसकेकी छिन्।
  • काजलले सन् २०१४ मा खेलाडीको रुपमा सहभागी भएकी थिइन् र १२ वर्षपछि त्यही च्याम्पियनसिपमा रेफ्रीको भूमिकामा सहभागी हुँदैछिन्।
  • काजलले दुई वर्षअघि अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा करियर सुरु गरेकी हुन् र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिरहेकी छिन्।

२७ चैत, काठमाडौं । नेपाली तेक्वान्दो रेफ्री काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्नका लागि हाल उज्वेकिस्तान पुगिसकेकी छिन् ।

उज्वेकिस्तानको तास्केन्तमा यही अप्रिल १२ देखि १७ सम्म हुने उक्त च्याम्पियनसिपमा काजलले अन्य अन्तर्राष्ट्रिय रेफ्रीसँगै निर्णायकको भूमिका निभाउनेछिन् ।

वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिपमा नेपालबाट एक महिला र एक पुरुष गरी दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरू पदक जित्ने लक्ष्यका साथ रिङमा उत्रनेछन् । तर रेफ्री काजलको ध्यान भने निष्पक्ष र विवादरहित खेल खेलाउनेतर्फ हुनेछ ।

काजलले पहिलो पटक वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिपमा रेफ्रीको जिम्मेवारी पाएका हुन् ।

वर्ल्ड तेक्वान्दोको जुनियर च्याम्पियनसिपमा कुनै बेला खेलाडीको रुपमा सहभागी भएकी काजल अब त्यही च्याम्पियनसिपमा रेफ्रीको भूमिकामा हुनेछिन् ।

‘म वर्ल्ड तेक्वान्दोद्वारा तास्केन्त २०२६ वर्ल्ड जुनियर च्याम्पियनसिपको लागि रेफ्रीको रुपमा चयन हुन पाउँदा अन्यन्त सम्मानित महसुस गरेको छु, काजलले तास्केन्तबाट भनिन्, ‘यो चयन अघिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा गरेको मेरो प्रदर्शन, अनुभव तथा मैले प्राप्त गरेको अंकको आधारमा भएको हो, र यो एलए २०२८ ओलम्पिक गेम्सतर्फको मार्गको एक महत्वपूर्ण हिस्सा पनि हो ।’

यस्तै विश्वका उत्कृष्ट रेफ्रीहरूबीच आफू पनि चयन हुनु गर्वको क्षण भएको उनले बताइन् । ‘विश्वका उत्कृष्ट रेफ्रीहरूबीच चयन हुनु मेरो लागि गर्वको क्षण हो, र विश्वस्तरमा प्रतिनिधित्व गर्ने यो अवसरका लागि म हृदयदेखि आभारी छु ।’

एक दशक लामो खेलाडी करियरपछि काजलले दुई वर्षअघि रेफ्री करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिरहेकी छन् ।

रमाइलो संयोग

उज्वेकिस्तानमा वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिपमा रेफ्रीको भूमिकामा कम्पिटिसन एरेनामा उत्रँदै गर्दा काजलको लागि यो ऐतिहासिक क्षण हुनेछ ।

वर्ल्ड तेक्वान्दोको जुनियर च्याम्पियनसिपमा कुनै बेला खेलाडीको रुपमा सहभागी भएकी काजल अब त्यही च्याम्पियनसिपमा रेफ्रीको भूमिकामा हुनेछिन् ।

वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिपमा काजलले खेलाडी हुँदै रेफ्रीसम्मको यात्रा तय गर्दैछिन् ।

सन् २०१४ मा ताइवानमा भएको वर्ल्ड तेक्वान्दो जुनिनयर च्याम्पियनसिपमा खेलाडीको रुपमा सहभागी भएकी काजल त्यसको १२ वर्षपछि फरक भूमिकामा सहभागी हुँदैछिन् ।

१२ वर्षपछि खोलो फर्कन्छ भने जस्तै काजलले भने यो १२ वर्षमा खेलाडीबाट रेफ्रीसम्मको यात्रा तय गरेकी हुन् । आफ्नो लागि यो खुशीको क्षण भएको काजलले बताइन् ।

‘सानैदेखि तेक्वान्दो खेल्न थालेको मैले खेलाडी हुँदै रेफ्रीसम्मको भूमिकामा आइपुग्दा मलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । यो मेरो लागि मात्र नभएर नेपाली तेक्वान्दोको लागि पनि खुशीको क्षण हो’ उनले भनिन् ।

तेक्वान्दोप्रतिको समर्पणले गर्दा आफू यो स्थानसम्म आइपुगेको उनले बताइन् । ‘मेरो यात्रा समर्पण, निरन्तर विकास र तेक्वान्दोप्रतिको गहिरो जुनून हो’ उनी भन्छिन् ।

दुई वर्षअघि वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारबाट काजल तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकी हुन् ।

रेफ्रीको भूमिकामा काजल

अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले विभिन्न प्रतियोगिताहरूमा रेफ्रीको जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् ।

काजलले सन् २०२४ मा थाइल्यान्डमा भएको सातौं हिरोज तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिपमा रेफ्रीको भूमिका निभाइन् । त्यसपछि उनले सन् २०२४ मै अष्ट्रेलियामा भएको जी टु वर्ल्ड तेक्वाज्दो प्रेसिडेन्ट कप,जिटु अस्ट्रेलियन ओपन, अस्ट्रेलियन तेक्वान्दो नेसनल च्याम्पियनसिप, केपीएनपी तेक्वान्दो ओपन सिरिज तथा सन् २०२४ मा जापानमा भएको २०औं वाटा ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रेफ्री बनेर खेल सञ्चालन गरिन् ।

यस्तै सन् २०२५ मा अमेरिकामा भएको कुकिवान वर्ल्ड तेक्वान्दो हान्मादान, २०२५ मै जापानमा भएको २१औं वाटा ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरिन् ।

यसै वर्ष अस्ट्रेलियाको सिड्नीमा भएको ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा मा उनले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा काजल उत्कृष्ट रेफ्री समेत घोषित भएकी थिइन् ।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा निष्पक्ष रुपमा फियर खेल खेलाउने रेफ्रीहरूमध्ये उत्कृष्ट निर्णायक छनोट गर्ने प्रावधान छ ।

यस्तै काजलले २०२६ जनवरीमा कजाखस्तानमा भएको वर्ल्ड तेक्वान्दो आईआर सेलेक्सन एण्ड ट्रेनिङ क्याम्प- एसिया एण्ड ओसियानामा समेत भाग लिएकी थिइन् । जुन सन् २०२८ मा अमेरिकाको लस एन्जसमा आयोजना हुने एलए ओलम्पिक २०२८ को लागि रेफ्री छनोटको रुपमा रहेको थियो ।

खेलाडी रुपमा काजलले वर्ल्ड तेक्वान्दोले आयोजना गर्ने वर्ल्ड च्याम्पियनसिपसम्म सहभागि हुने अवसर पाइन् । तर रेफ्रीको रूपमा उनले ओलम्पिकसम्म पुग्ने लक्ष्य राखेकी छिन् ।

हरेक खेलाडीको एक पटक भएपनि ओलम्पिक खेल्ने सपना हुन्छ । काजलको पनि ठिक त्यस्तै लक्ष्य छ खेलाडीको रुपमा ओलम्पिक पुग्न नपाएपनि अब रेफ्री बनेरै ओलम्पिक पुगेर नेपालको नाम चिनाउने उनको लक्ष्य छ । खेलाडी जस्तै उत्कृष्ट रेफ्रीहरूले मात्र ओलम्पिक खेलाउने अवसर पाउने छन् र काजल अहिले त्यसैका लागि मिहिनेत गर्दैछिन् ।

काजलको खेलाडी करियर

खेलाडीको रुपमा जुनियर वर्ल्ड च्याम्पियनसिप र सिनियर वर्ल्ड च्याम्पियनसिप पनि खेलेकी काजलले सन् २०१३ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला ४६ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाकी काजलले सानै उमेर देखि तेक्वान्दो खेल्न थालेकी थिइन् । उनले कक्षा ८ मा पढ्दादेखि तेक्वान्दो सिक्न थालिन् । जडीबुटीमा बस्दा नजिकै रहेको कोटेश्वर तेक्वान्दो डोजाङमा नवीनकुमार श्रेष्ठसँग उनले तेक्वान्दो सिकेकी थिइन् ।

सुरुमा ‘डोर टु डोर’ भन्ने जुनियर टुर्नामेन्टमा भाग लिए उनले त्यसमा जित हासिल गरिन् । त्यसपछि ‘बेस्ट अफ दि बेस्ट’मा पनि उनले जितिन् । अनी सन् २०१४ मा जिल्लास्तरीय छनोट हुँदै मध्यमाञ्चल टिममा छनोट भइन् । तर राष्ट्रिय स्तरसम्म पुग्न भने अनुभव पुगेन ।

यद्यपी उनले सन् २०१४ मै ताइवानमा भएको वर्ल्ड तेक्वान्दो जुनियर च्याम्पियनसिप खेल्ने अवसर पाइन् । त्यसका लागि उनले नेपालमा भएका छनोट खेलहरू जितेर छनोट भएकी थिइन् ।

तर पहिलो पटक प्लेन चढेर विदेश यात्रा गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी काजलको लागि त्यो यात्रा जित्ने भन्दा पनि अनुभव बटुल्ने राम्रो अवसर बन्यो ।

उनी पहिलो खेलामै चिनियाँ खेलाडीसँग पराजित भइन् । यद्यपी उनले बाहिर दुनियाँ बुझ्ने देखि खेलको बारेमा अनुभव लिने अवसर पाइन् ।

त्यसपछि उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू पनि खेलिन् ।

सन् २०१४ मै ताइवानमा भएको दशौं जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी काजलले २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् ।

काजलले २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप, २०१७ मा काठमाडौंमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१७ मै भएको भएको दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौंमा भएको काठमाडौं ग्योरोगी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, २०२१ मा भएको नेपाल ओपन भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्यामपियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै उनले सन् २०२३ मा अजरवैजानको बाकुमा मा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप समेत खेलकी थिइन् । त्यो उनले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता थियो ।

काजलले खेलाडी र रेफ्री दुई बिल्कुल फरक जिम्मेवारी भएको बताइन् । ‘खेलाडी र रेफ्री हुनु दुई बिल्कुल फरक जिम्मेवारी हुन् । खेलाडी हुँदा ध्यान आफ्नै प्रदर्शन, शक्ति र जितमा केन्द्रित हुन्छ, जबकि रेफ्री हुँदा निष्पक्ष निर्णय, नियमको गहिरो ज्ञान र दबाबमा पनि शान्त रहनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ उनी भन्छिन् ।

उनले खेलाडी हुँदा शारीरिक रुपमा चुनौती हुने र रेफ्री हुँदा मानसिक रुपमा कठिन हुने बताइन् । ‘दुईमा कुन गाह्रो भन्ने कुरा फरक हुन सक्छ । खेलाडी हुनु शारीरिक रूपमा चुनौतीपूर्ण हुन्छ भने रेफ्री हुनु मानसिक रूपमा धेरै गाह्रो हुन्छ, किनकि सानो निर्णयले पनि खेलको परिणाम बदल्न सक्छ’ उनको भनाइ छ ।

काजल श्रेष्ठ काजल श्रेष्ठको तेक्वान्दो यात्रा
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय