News Summary
Generated by OK AI. Editorially reviewed.- चिनो फिल्ममा नारायण गोपाल र आशा भोसलेले ऐतिहासिक सहकार्य गरेका थिए जसमा तीन गीतहरू सँगै गाएका थिए।
- निर्देशक तुलसी घिमिरेले नारायण गोपाललाई भेटेर गीत आफैंले लेखेको प्रस्ताव राखेपछि गोपालले 'ठीक छ' भने।
- आशा भोसलेले नारायण गोपाललाई बम्बई बस्ने प्रस्ताव दिएकी थिइन् तर गोपालले नेपालमै बस्न रोजे।
२ माघ २०४५ मा प्रदर्शनमा आएको चिनो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए । यसमा शिव श्रेष्ठ, भुवन केसी, शुभद्रा अधिकारी, तुलसी घिमिरे, सुनिल थापाले मुख्य भूमिका निभाएका थिए ।
दुई महिनाअघि मात्रै यस संसारबाट विदा भएका सुनिल थापा यही फिल्मबाट खलपात्रको भूमिका सुरु गरेका थिए । पारिवारिक कथा भन्ने यो फिल्म अनेकन कारणले विशेष छ । ती मध्ये फिल्ममा संलग्न गीत पनिएक हो ।
रञ्जित गजमेरको संगीतमा बनाइएको यो फिल्मका गीतहरू आज पनि उत्तिकै सुनिन्छन् । ‘मोहनी लाग्ला है…’ बोलको गीत यो फिल्मको सबैभन्दा चर्चित गीत हो ।
यो फिल्ममा नेपालका स्वरसम्राट नारायण गोपाल र हिन्दी फिल्मकी प्रसिद्ध पार्श्वगायिका आशा भोस्लेको ऐतिहासिक सहकार्य छ । उनीहरूले सँगै फिल्मका लागि तीन गीत- बतासले उडाइ लाग्यो…, माया त माया हो.., मोहनी लाग्ला है.., मा सहकार्य गरेका छन् । बाँकी एकएक वटा गीत एकल गायन गरेका छन् ।
तर, उनीहरूको त्यो सहकार्य कसरी सम्भव थियो त ? फिल्मका निर्देशक तुलसी घिमिरेले एक पडकास्टमा यसबारे बोलीविस्तार गरेका छन् ।
उनका अनुसार सहकार्य गर्नुअघि उनले पनि नारायण गोपालबारे अनेकन् कुराहरू सुनेका थिए । जस्तो, नारायण गोपालले गीत मन नपरे सिधैं च्यातेर फाल्छ । मान्छे बहुतै मुडी छ ।
तै पनि घिमिरेले एक पटक आग्रह गरिहेलौं भनेर भेट्न गए । भेटमा सालिन भएर प्रस्ताव राखे ।
भेटघाट सामान्य नै भयो । नारायण गोपालले ‘गीत कसले लेखेको हो ?’ भनेर प्रश्न गरे । घिमिरेले शब्द आफैंले लेखेको जवाफ दिए । साथै शब्दहरू मन नपरे आफू अर्को लेख्न तयार रहेको तर फिल्ममा नारायण गोपालको नै आवाज चाहिने कुरा अडिग भएर बताए । त्यो आफ्ना लागि ठूलो उपहार हुने समेत उनले बताए ।
त्यसपछि केही बेरमा नारायण गोपालले ‘ठीक छ’ भन्ने जवाफ दिए । र घिमिरेको प्रोजेक्टमा नारायण गोपाल ‘इन’ भए । त्यसपछि फिल्मको टोली गीत रेकर्ड गर्न भारतको बम्बई पुगे । त्यहीँबेला घिमिरे र नारायण गोपाल नजिक हुन पुगे । उनीहरूको सम्बन्ध पनि घनिष्ठ भयो । यतिसम्म कि नारायण गोपालले आफूलाई राखेको होटलमा नबसेर घिमिरेहरूसँगै बसे ।
उता फिल्ममा महिला स्वरका लागि आशा भोस्ले निश्चित भइसकेकी थिइन् । भोस्ले र नारायण गोपालको भेट स्टुडियोमै भएको थियो । स्टुडियोमा भोस्ले आउँदा नारायण गोपालले ‘विरताको चिनो..’ रेकर्ड गरिरहेको थिए । उनको आवाज भोस्लेले मनिटरिङ रुमबाट सुनेकी थिइन् ।
त्यसपछि भोसलले घिमिरेलाई कसले गाइरहेको हो भनेर सोधिन् । घिमिरले नेपालको ठूलो गायक हो भनेर जवाफ दिए । भोसलले जवाफमा नारायणको स्वरमा पहाडको महसुस भइरहेको बताएकी थिइन् ।
त्यो समयसम्म पनि नारायण गोपाल एउटा कुरामा अडिग थिए । गीतमा सबै कुरा पर्फेक्ट नभइञ्जेलसम्म काम गरिरहनुपर्छ । त्यसमा आशा भोस्लेले उनलाई छक्क पारिदिइन् ।
‘पहाडको माथि-माथि घुम्दै उडेर’ बोलको गीत रेकर्ड गर्नुपर्ने थियो । त्यसमा नारायण गोपालले आफ्नो भागको तयारी विगत केही दिनदेखि गरिरहेका थिए । तर, भोस्ले सरासर स्टुडियो आइन् । आफ्नो गीतको पाटो गाएर गइहालिन् । त्यो देख्दा नारायण छक्क परेका थिए ।
‘मोहनी लाग्ला है..’ को सन्दर्भमा भने नारायण गोपालले ‘केटाकेटीले गाउने, उरनठ्यौला गीत’ भनेर टिप्पणी गरेका थिए । तर, पनि घिमिरेले उनलाई फकाउँदै फकाउँदै रेकर्ड गराउन लगाएका थिए ।
त्यो बीचमा आशा भोस्लेले नारायण गोपाललाई बम्बई बस्ने प्रस्ताव पनि गरेकी थिइन् । नारायणलाई फ्याल्ट, गाडी सबै दिने कुरो थियो । केही दिनसम्म त नारायण गोपाल पनि बम्बई बस्ने सोचमा डुबेका थिए । तर, उनी त्यहाँ बसेनन् । नेपालमा आफूलाई केही अपुग नभएको, आफूलाई देश चाहिने भन्दै त्यहाँ बस्न उनी मानेनन् । गीत रेकर्डिङको काम सकिएपश्चात स्वदेश नै फिर्ता भए ।
प्रतिक्रिया 4