+
+
Shares

गण्डकी कांग्रेसको चुनावी समीक्षामा प्रश्नले घेरिए गगन

‘चिन्तामा होइन, चिन्तनमा छु’

‘हिजो दाइहरूले पेल्यो भन्नुहुन्थ्यो । अब तपाईंले सम्हालेर लैजाने बेला छ । अब अर्को दाइविरुद्ध हामी उठ्नु नपरोस्’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ चैत २७ गते २१:५८

२७ चैत, पोखरा । नेपाली कांग्रेस गण्डकी कार्यसमितिले शुक्रबार पोखरामा ‘निर्वाचन समीक्षा तथा कांग्रेसको अबको बाटो’ शीर्षक राखेर कार्यक्रम राख्यो । कार्यक्रममा सभापति गगनकुमार थापा पनि सहभागी थिए । तर, कार्यक्रम अवधिभर सभापति थापाको अनुहार न हँसिलो देखियो, न उत्साही ।

समीक्षा कार्यक्रममा प्रदेशका जिल्ला सभापति, गण्डकीका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार र केन्द्रीय पदाधिकारीहरूले भाषण गरे । गगनले सबैका भाषण ध्यानपूर्वक सुनेपछि धेरै उत्साही भाव भने दर्शाएनन् ।

फागुन २१ को चुनावअघि माघ २३ गते प्रदेश भेलामा सहभागी हुन पोखरा पुगेका गगनको ‘ल्याङ्ग्वेज’ र ‘बडी ल्याङ्ग्वेज’ विलकुल विपरीत थियो ।

चुनावी प्रचारमा ‘अब कि बार, गगन सरकार’को नारा लगाइरहेका कार्यकर्तालाई उनले नयाँ नारा दिएका थिए– ‘अब की बार, सय पार’ । उनको त्यही नारा टिपेर कांग्रेस नेताकार्यकर्ताले त्यही नारा घन्काए ।

फागुन १५ गते चुनावी सभामा पोखरा पुग्दा पनि गगनको उत्साह उस्तै थियो । ‘कांग्रेस बदलिएको आभास मतदाताले पाए, जितिन्छ’, उनले भनेका थिए, ‘बदलिएको सन्देश गाउँगाउँमा पुर्‍याउनुस्, नयाँ भन्ने हो भने भर्खर विशेष महाधिवेशन गरेर आएको सबैभन्दा नयाँ पार्टी कांग्रेस हो ।’

गगनले पोखराबाटै दिएको ‘अबकी बार, सय पार’को नारा चुनावमा सार्थकता पाएन, न सयको आधा पुग्यो । बरू कांग्रेस ३८ सिटमा खुम्चियो ।

बालेन्द्र शाह(बालेन)लाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ सिट जित्यो । बालेन प्रधानमन्त्री पनि बनिसकेका छन् । बालेनअघि गगनको अनुहार पनि बिक्न सकेन् । गण्डकीमै पनि १८ सिटमध्ये मुस्ताङ र मनाङका दुई सिटबाहेक कांग्रेस कतैपनि जित्न सकेन ।

गगनले पोखराबाटै दिएको ‘अबकी बार, सय पार’को नारा चुनावमा सार्थकता पाएन, न सयको आधा पुग्यो । बरू कांग्रेस ३८ सिटमा खुम्चियो ।

निर्वाचनको यो दयनीय नतिजापछि समीक्षामा सहभागी हुन पोखरा पुगेका गगन उत्साही नहुनु अस्वाभाविक थिएन । त्यसैमा समीक्षा कार्यक्रममा सहभागी नेताहरूले परिणामको विभिन्न ढंगले विश्लेषण गर्दा गगन पनि प्रश्नको निसानाबाट मुक्त रहेनन् ।

केही नेता विशेष महाधिवेशनकै कारण चुनावमा कांग्रेस एकढिक्का हुन नसकेको र चुनावमा पनि त्यसले राम्रो सन्देश नगएको बताए । अधिकांशले भने जनमतलाई ‘हुरी’ संज्ञा दिँदै चुनावमा कांग्रेस जसरी आए पनि केही सीप नलाग्ने अवस्था रहेको समीक्षा सुनाए ।

समीक्षाकै क्रममा कतिपय नेताले गगनविरुद्ध चेतावनीकै भाषामा पनि प्रयोग गरे । ‘हिजो दाइहरूसँग लडेको र अब विशेष महाधिवेशनको नेतृत्वसँग पनि लड्न नपरोस्’ भन्ने आशयको उनीहरूको चेतावनी थियो ।

स्याङ्जाका सभापति राजु थापाले सभापति गगनलाई निवर्तमान सभापति शेरबहादुर देउवाको हकमा जेजस्तो भएपनि अरु नेतालाई मिलाएर लैजान आग्रह गरेका थिए । पहिले आफूले अहिलेको अवस्थामा परिस्थिति र सरकार कांग्रेसको पक्षमा नरहेकाले चुनावमा जानै नहुने भनेको पनि स्मरण गराए ।

अब कांग्रेसलाई एकढिक्का बनाउनुको विकल्प पनि नरहेको बताउँदै उनले त्यसमा ध्यान पुर्‍याउन गगनसँग आग्रह गरे । ‘हिजो दाइहरूले पेल्यो भन्नुहुन्थ्यो । अब तपाईंले सम्हालेर लैजाने बेला छ । अब अर्को दाइविरुद्ध हामी उठ्नु नपरोस्,’ स्याङ्जा सभापति थापाले भने । उनले विशेष महाधिवेशनका कारण भोट न घटेका, न बढेको टिप्पणी गरे ।

‘विशेषको कारणले भोट बढेको पनि होइन, घटेको पनि होइन । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति हाम्रो पक्षमा थिएन,’ उनले भने ।

विश्वव्यापी रूपमै पपुलिजमको उदय भइरहेको बेला नेपालमा पनि त्यही भएको उनको टिप्पणी थियो ।

समीक्षक नेताका धारणा सुनेर अधिकांश समय गगन टाउको हल्लाइरहे । घरिघरी वक्ताका धारणातर्फ ध्यान दिएर सुन्दै डायरीमा टिपोट गरिरहे । बेलाबेला उपसभापति विश्वप्रकाश शर्मासँग खासखुस पनि गरिरहे ।

सधैं हँसिलो र कुटिल देखिने गरका गगन उत्साहित नदेखिएपछि एक नेतृले चिन्तित हुनुको कारण नै सोधिन ।

गगनको प्रतिक्रिया- म चिन्तनमा छु

गण्डकीका नेताको समीक्षा र चेतावनी सुनिसकेपछि आफ्नो भाषण गर्ने बेला गगनले आफू चिन्तित नभएर चिन्तनमा रहेको दाबी गरे ।

‘चिन्ता र चिन्तनको बीचमा एकदमै थारैमात्र फरक हुन्छ । चिन्ता डरसँग जोडिएको हुन्छ । चिन्ता अलिकति प्रतिक्रियासँग जोडिएको हुन्छ,’ उनले भने, ‘चिन्तन अलिबढी आत्मसमीक्षासँग जोडिएको हुन्छ । विश्लेषणसँग जोडिएको हुन्छ । म चाहिँ अलि बढी चिन्तनमा छु ।’

‘चिन्तनको मुख्य कुरा भनेको आफूलाई सुन्नु हो, अरुलाई पनि सुन्ने हो । यो बेलामा कम बोल्ने हो, यही अभियानमा छौं’

त्यसअघि कांग्रेस प्रवक्ता देवराज चालिसेले ब्याटल र युद्धमा फरक हुने भन्दै चुनावमा हुने हारजितबाट विचलित नहुन भनेका थिए । त्यही कुरामा सहमति जनाउँदै गगनले चुनावी नतिजाबाट झन् चुक्दै नजाने, बरु सन्देशका रूपमा लिएर अघि बढ्ने बताए ।

‘चिन्तनको मुख्य कुरा भनेको आफूलाई सुन्नु हो, अरुलाई पनि सुन्ने हो । यो बेलामा कम बोल्ने हो, यही अभियानमा छौं,’ गगनले अगाडि भने ।

आगामी असोजभित्र नियमित महाधिवेशन गर्ने बताउँदै गगनले केन्द्रमा प्रमुख प्रतिपक्षी दल, प्रदेश र स्थानीय तहमा सत्तापक्षका रूपमा काम गर्ने शैलीबारे पनि काम गर्ने बताए ।

‘म पार्टीको जिम्मेवारीमा छु । उ सबैभन्दा बढी लचक हुनुपर्छ । सबैलाई मिलाउने कोसिस गर्नुपर्छ । म त्यो जिम्मेवारी निर्वाह गर्छु,’ गगनले भने, ‘अब म सबैकहाँ जान्छु, संवाद गर्छु,  सबैलाई जोड्ने प्रयास गर्छु ।’ आगामी प्रदेश र स्थानीय तहको चुनावसम्म पहिलो पार्टी बनाउने गरी मिहिनेत गर्ने गगनले बताए ।

उपसभापति विश्वप्रकाश शर्माले संसदीय दलको नेता छिट्टै चयन गर्ने बताए । यस्तै उनले निवर्तमान सभापति देउवालाई नेपाल फर्किएर अनुसन्धानमा सघाउन पनि आग्रह गरे ।

विशेष महाधिवेशनबाट आएको कार्यसमितिका सन्दर्भमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको र त्यो कानुन, विधिअनुसारै बनेकाले आफ्नै पक्षमा नै फैसला आउने उनले दाबी गरे ।

महामन्त्री प्रदीप पौडेलले चुनावको शैली र प्रचारविधि बदलिएको बताउँदै अब हरेक कुरामा आफू बेदाग हुँदै प्रविधिसँगै अगाडि बढ्नुपर्ने बताए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?