News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदमा पार्टीको संस्थागत निर्णयबिना उम्मेदवारी दिइएकोमा ध्यानाकर्षण गराएका छन्।
- उपसभामुखका लागि मतदानमा राप्रपाले ५ मत मात्र प्राप्त गरेको र यस विषयमा पार्टीभित्र विवाद देखिएको छ।
- धवल शमशेर राणाले आफू गणतन्त्र विरोधी आन्दोलनमा रहेको र कुनै पनि जिम्मेवारीमा सहभागी नहुने स्पष्ट पारेका छन्।
२८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदमा पार्टीले दिएको उम्मेदवारीप्रति ध्यानाकर्षण गराएका छन् ।
पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुखमा उम्मेदवारी दिइएको भन्दै उनले आफू निरन्तर गणतन्त्र विरोधी आन्दोलनमा रहेको बताएका छन् ।
उपसभामुखका लागि हिजो (शुक्रबार) मतदान भएको थियो । राप्रपाले पार्टीको तर्फबाट सांसद सरस्वती लामालाई उम्मेदवार बनाएको थियो ।
यद्यपि राप्रपाले निर्वाचनमा ५ मत मात्रै प्राप्त गर्यो । सो विषयमा राप्रपाभित्रै विवाद देखिन थालेको हो ।
‘पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरू र राष्ट्रवादी साथीहरूले मलाई फोन सम्पर्क गरिरहनुभएको छ,’ महामन्त्री राणाले भनेका छन्, ‘म प्रष्ट पार्न चाहन्छु— हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं। गणतन्त्रमा संविधानको नि:शर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन ।’
साथै, उनले पद्धतिलाई चुनौती दिँदै भएका कुनै पनि निर्णयमा आफ्नो सहमति हिजो पनि नभएको र भोलि पनि नहुने प्रष्ट पारेका छन् ।
‘पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन,’ सञ्जालमा उनले भनेका छन् ।
प्रतिक्रिया 4