News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीचको युद्धविराम सम्झौताको पूर्ण सम्मान हुनुपर्ने र यसलाई लेबनानसम्म विस्तार गरिनुपर्ने बताएका छन्।
- लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको र १२०० भन्दा बढी घाइते भएको जनाएको छ।
- हिज्बुल्लाहले इजरायली क्षेत्रतर्फ मिसाइल प्रहार गरेको र आक्रमण जारी राख्ने धम्की दिएको छ।
२८ चैत, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीचको युद्धविराम सम्झौताको पूर्ण सम्मान हुनुपर्ने र यसलाई लेबनानसम्म विस्तार गरिनुपर्ने बताएका छन्।
शनिबार म्याक्रोंले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘मैले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग मध्यपूर्वको अवस्थाबारे छलफल गरें र युद्धविरामप्रतिको आफ्नो समर्थन दोहोर्याएँ, जसको पूर्ण रूपमा सम्मान गरिनुपर्छ। यो युद्धविरामलाई बिना कुनै ढिलाइ लेबनानसम्म विस्तार गरिनुपर्छ।’
उनले अगाडि थपे, ‘हामीले होर्मुज स्ट्रेटमा पूर्ण रूपमा स्वतन्त्र र सुरक्षित आवागमनलाई जतिसक्दो चाँडो पुनर्बहाली गर्नुपर्ने आवश्यकतामाथि छलफल गर्यौं। इस्लामाबादमा भर्खरै वार्ताहरू सुरु भएका छन्, त्यसैले हामी तनाव कम गर्न, जहाजहरूको आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न र यस क्षेत्रमा स्थायी शान्ति र सुरक्षा सुनिश्चित गर्ने कुनै सम्झौता पूरा गर्न योगदान पुर्याउन एकअर्कासँग निरन्तर सम्पर्कमा रहन सहमत भएका छौं।’
यसअघि म्याक्रोंले अर्को एक पोस्टमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेको र मध्यपूर्व लगायतका मुद्दाहरूमा छलफल गरेको बताएका थिए।
उनले भनेका थिए, ‘हामीले लेबनानमा युद्धविरामको पालना गर्न र त्यसलाई लागू गर्न, होर्मुज स्ट्रेटमा पानीजहाजको स्वतन्त्रता कायम राख्न आह्वान गर्यौं, र एक बलियो, स्थायी कूटनीतिक समाधानको आवश्यकतामा जोड दियौं।’
यसैबीच, शनिबार लेबनानमा इजरायली सीमा नजिकैको क्षेत्रमा धुवाँ उडिरहेको देखिएको बीबीसीले जनाएको छ ।
लेबनानको हिज्बुल्लाह समूहले मिसाइल र ड्रोनमार्फत इजरायली सैनिकहरूलाई निशाना बनाएको बताएको छ।
हिज्बुल्लाहले उत्तरी इजरायलको किरयात शमोना सहरलाई निशाना बनाएको र यारा ब्यारेकमा मिसाइल प्रहार गरेको बताएको छ।
त्यस्तै, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको नबातिहस्थित जेफ्ता सहरमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
मारिएकामध्ये एक जना लेबनानी सिभिल डिफेन्सका सदस्य रहेको र अन्य दुई जना घाइते भएको मन्त्रालयले जनाएको छ। यद्यपि उनीहरूको मृत्यु कहिले भयो भन्ने स्पष्ट छैन।
उता, समाचार एजेन्सी रोयटर्सका तस्बिरहरूमा शनिबार लेबनानमा हवाई आक्रमणपछि धुवाँ उडिरहेको देखिएको छ।
शनिबार लेबनानमा हिज्बुल्लाहका राजनीतिज्ञ हसन फदल्लाहले इजरायलसँगको प्रस्तावित वार्ताको विषयलाई लिएर लेबनानी सरकारको आलोचना गरेका छन्।
यसअघि बुधबार इजरायलले लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, यी आक्रमणहरूमा ३५० भन्दा बढी मानिस मारिएका छन् र १२०० भन्दा बढी घाइते भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी आक्रमणहरूलाई युद्ध सुरु भएयता हिज्बुल्लाहमाथि गरिएको ’सबैभन्दा ठूलो प्रहार’ भनेका छन्।
इरानले मंगलबार तय भएको दुई हप्ते युद्धविराम सम्झौताको दायराभित्र लेबनान पनि रहेको बताएको छ। तर, अमेरिका र इजरायलले भने यो कुरा मान्न अस्वीकार गरिरहेका छन्।
बिहीबार हिज्बुल्लाहले युद्धविरामको उल्लङ्घनको जवाफमा राति इजरायली क्षेत्रतर्फ मिसाइल प्रहार गरेको बताएको थियो।
लेबनानविरुद्धको इजरायली–अमेरिकी आक्रामण अन्त्य नभएसम्म आफ्ना आक्रमणहरू जारी राख्ने धम्की पनि हिज्बुल्लाहले दिएको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4