News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गौरीफन्टा नाकामा भारतबाट फर्किने क्रममा सुनिता कुमालबाट अस्वभाविक रकम असुल्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- अटो चालक केशव सिंह रावल र सहयोगी भूगालीराम चौधरीले कुमाललाई गौरीफन्टा नाकाबाट धनगढी बसपार्कसम्म १५०० भारतीय रूपैयाँ लिएको स्वीकारेका छन्।
- जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको र रकम फिर्ता गराइने तयारी रहेको जनाएको छ।
२९ चैत, धनगढी । कैलालीको गौरीफन्टा नाकामा आइतबार बिहान भारतबाट फर्किने क्रममा बाजुराको बूढीगंगा नगरपालिका-८ कि सुनिता कुमालबाट चोकिएको दर भन्दा अस्वभाविक रकम असुल्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले अटो चालक केशव सिंह रावल र उनका सहयोगी भूगालीराम चौधरीलाई नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले दुवै जनालाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको बताए ।
उनकाअनुसार दुवै जनाले कुमालबाट गौरीफन्टा नाकाबाट धनगढी बसपार्कसम्म पुर्याएबापत एक हजार पाँच सय भारतीय रूपैयाँ लिएको स्वीकारेका छन् । उनीहरूले कुमालको झोला पारी गौरीफन्टा नाकाबाट वारीसम्म बोकेर ल्याएकोसमेत गरेर उक्त रकम लिएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।
उनकाअनुसार भारतबाट फर्किएका पीडित बाजुरा हिडिसकेका कारण कारबाहीका लागि जाहेरी भने परेको छैन् तर उनीहरूले असुली गरेको रकम सम्बन्धित पक्षलाई फिर्ता गराइनेछ ।
उजुरी आएको खण्डमा थप कारबाही अघि बढाउने र अन्यथा सम्झाइबुझाइ गरेर छाड्ने प्रहरीको तयारी छ ।
प्रतिक्रिया 4