+
+
Shares

‘पहाड’ को काठमाडौं प्रिमियर : सेलिब्रेटीले गरे ‘डेब्यू गर्ल’ पञ्चमीको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १२:३०
बायाँबाट पञ्चमी घिमिरे, अरुण क्षेत्री, विपिन कार्की, रेणुनाथ योगी ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड' नयाँ वर्ष २०८३ को अवसरमा देशव्यापी प्रदर्शनमा आउँदैछ।
  • फिल्मले बेरोजगारी, रित्तिएको पहाड र जलवायु समस्यालाई चित्रण गरेको छ र दर्शकले कथावस्तु र अभिनयको प्रशंसा गरेका छन्।
  • निर्देशक घिमिरेले फिल्मले पहाडको सुन्दरता र सामाजिक समस्यालाई समग्र देशकै चित्रण गरेको बताए।

काठमाडौं । तुलसी घिमिरे निर्देशित सोसल ड्रामा फिल्म ‘पहाड’ नयाँ वर्ष २०८३ को अवसरमा मंगलबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । आइतबार यो फिल्मलाई प्रिमियर गरिएको छ ।

प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गर्‍यो । दर्शकले कथावस्तु र अभिनयको प्रशंसा गरे । बेरोजगारी, रित्तिएको पहाड र जलवायु समस्यालाई चित्रण गरिएको फिल्म हेरेपछि निर्देशक तथा अभिनेता नीर शाहले मौलिक फिल्म हेर्न पाएको बताए ।

‘फिल्मले हाम्रो नेपालीपनलाई उजागर गरेको छ । तुलसीजीले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई फिल्ममा देखाउनुभएको छ’ शाहले भने, ‘फिल्मले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ ।’

निर्देशक घिमिरेसँग ‘कुसुमे रुमाल’ मा काम गरेका अभिनेता भुवन केसीले फिल्म स-परिवार हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए । ‘फिल्म राम्रो बनेको छ । फिल्म हेर्दा रमाइलो लाग्छ, कता भावुक बनिन्छ । यो फिल्म एउटा कम्प्लिट प्याकेज बनेको छ’, अभिनेता केसीले भने ।

निर्देशक घिमिरेसँग ‘दर्पणछायाँ’ मा काम गरेका अभिनेता जितु नेपालले फिल्म हेर्दा भावुक बनेको बताए । ‘फिल्म हेर्दा खुसी भएको, भावुक भएको पत्तै नपाइने रहेछ । तुलसी सरले आफ्नै शैलीमा अहिलेको अवस्थालाई फिल्ममा देखाउनुभएको छ’ नेपालले भने, ‘फिल्म राम्रो बनेको छ । मैले सानै हुँदा देखेको पन्चमी हिरोइन बनेकी छिन्, उनले राम्रो काम गरेकी छिन् ।’

फिल्म हेर्ने दीपाश्री निरौला, दीपकप्रसाद आचार्य, दिवाकर भट्टराई, रमेश उप्रेती, किरण केसी लगायतले फिल्मको प्रशंसा गरेका छन् । फिल्मले नेपालको वास्तविकता दर्शाएको प्रतिक्रिया उनीहरूको छ ।

निर्देशक तथा पटकथा लेखक घिमिरेले फिल्मले पाएको प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको बताए ।

उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो । पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु ।’

यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनील थापा, रेणुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै डेब्यू अभिनेत्री पञ्चमी घिमिरेको अभिनय छ । अभिनेता क्षेत्रीले सानैदेखि हेर्दै आएको सफल फिल्मका निर्देशक घिमिरेसँग काम गर्न पाउनु सौभाग्य रहेको बताए ।

डेब्यू कलाकार पञ्चमीले क्यामेरा अगाडिको अनुभव नौलो र फरक रहेको बताइन् । ‘म आफ्नो कामको रिभ्यू लिईरहेकी छु । यो मेरो लागि पहिलो काम हो । अग्रजमार्फत धेरै सिक्ने अवसर पाएकी छु’, अभिनेत्री घिमिरेले भनिन् ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि यो फिल्ममा कास्ट गरेका छन् ।

फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका हुन् । भारतमा फिल्म, वेब-सिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे फिल्ममा घिमिरेकी जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । रञ्जित गजमेर सङ्गीत निर्देशक छन् ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माताको रुपमा छन् । भारती घिमिरे क्रिएटिभ निर्माता हुन् । नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?