+
+
Shares

कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैन : पूर्णबहादुर खड्का

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने बताएको छ।
  • पूर्णबहादुर खड्काले पार्टी सदस्यता राष्ट्रिय स्वाधिनता र शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको उल्लेख गर्नुभएको छ।
  • कांग्रेसले आगामी असोज १६–१९ मा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ, तर संस्थापनइतर समूहले आपत्ति जनाएको छ।

३० चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने बताएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गरेका हुन् ।

‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन,’ उनले भनेका छन् ।

पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको इतर समूहको जिकिर छ ।

‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै होइन, पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो,’ खड्काले भनेका छन्, ‘पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरुको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन ।’

पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचढावका बाबजद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्र नै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाई समेत उचित अवसर दिएर १५ औं महाधिवेशन सम्पन्न गरिने खड्काको भनाइ छ ।

विशेष महाधिवेशन अघि १८ पुसमा कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख २८–३१ मा १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको थियो ।

तर, तोकिएको समयमा १५ औं महाधिवेशन हुन सकेन । तत्कालीन संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनपछि र तत्कालीन महामन्त्री गगन थापा समूह निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्नेमा विभक्त थियो ।

थापा समूहले नियमित महाधिवेशनको सम्भावना नदेखिएपछि अन्ततः गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गर्‍यो । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो ।

प्रतिनिधिसभा निर्वाचनपछि सभापति थापाले बैठकले बुधबार मात्रै अर्को वर्षको १६–१९ असोजमा पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । संस्थापनइतर समूहले उक्त तालिकाप्रति पनि आपत्ति जनाएको छ ।

उता १८ चैतमा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए ।

त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?