News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री स्वर्णिम वाग्लेले सन् २०१८ मा तत्कालीन मन्त्रिपरिषद्का मन्त्रीहरूको सुन सम्पत्तिलाई व्यङ्ग्यात्मक रूपमा 'स्वर्णिम मन्त्रीमण्डल' भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
- हाल सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको मात्रा धेरै भएको सामाजिक सञ्जालमा ट्रोलिङ र आलोचना भइरहेको छ।
- सामाजिक सञ्जालमा सन् २०१८ र हालको मन्त्रिपरिषद्का सुन सम्पत्तिको तुलनात्मक विश्लेषणले औसत सुन २५.१६ तोलाबाट ४१.८४ तोलामा वृद्धि भएको देखाएको छ।
३० चैत, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सन् २०१८ मे २५ मा सामाजिक सञ्जालमा व्यंग गर्दै लेखेका थिए– स्वर्णिम मन्त्रीमण्डल । जसमा तत्कालीन केपी शर्मा ओली मन्त्रिपरिषद्का मन्त्रीहरूले सम्म्पत्ति विवरणमा खुलाएको सुनको विवरण उल्लेख गरिएको ग्राफिक्स राखिएको थियो । व्याङ्यात्मक शैलीमा वाग्लेले पोस्ट गरेको उक्त ग्राफिक्सको ‘कलर थिम’ नै पहेँलो थियो ।
वाग्लेको सोही पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ । कारण– वर्तमान सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरणमा पनि सुनै सुनै देखिन्छ ।
सरकारमा रहेका प्रधानमन्त्री/मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको आँकडा जसरी देखाइएको छ, त्यसलाई लिएर सामाजिक सञ्जाल नै टिप्पणी र ट्रोलिङले पहेँलपुर भएका छन् । अधिकांशको प्रश्न छ – हिजो तत्कालीन सत्ताधारीका सम्पत्तिलाई लिएर प्रश्न गर्नेहरुको सम्पत्ति चाहिँ यत्रो कसरी ?
नगरुन् पनि किन ? बहालवाला अर्थमन्त्री वाग्लेले आठ वर्ष अगाडि ‘स्वर्णिम मन्त्रीमण्डल’ भनेर प्रश्न गरिरहँदा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको सुन दश तोला थियो ।
जबकी, अहिले सार्वजनिक विवरण अनुसार, वाग्लेको भने ४५ तोला सुन रहेको देखिन्छ । त्यसैले हिजो गर्भनर नै भइसकेका खतिवडाको दश तोला सुनलाई लिएर व्याङ्यात्मक पोस्ट गर्ने वाग्लेलाई अहिले किन प्रश्न नगर्ने भन्दै प्रतिक्रिया आइरहेका छन् ।
सामाजिक सञ्जालमा यसमाथि कस्ता बहस छेडिएका छन् भनेर हेर्नुअघि त्यसबेला र हालको मन्त्रिमण्डलमा रहेकाहरुको सम्पत्ति विवरण एकपटक दाँजेर हेरौँ ।
सार्वजनिक विवरणमा आए अनुसार, बहालवाला प्रधानमन्त्री बालेन शाहको गहना १९० तोला छ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको १८–१८ तोला सुन रहेको थियो ।
गृहमन्त्री सुदन गुरुङको सुन मात्र ८९ तोला रहेको देखिँदा त्यसबेलाका गृहमन्त्री रामबहादुर थापासँग जम्मा ६ तोला सुन रहेको सार्वजनिक भएको थियो ।
अहिले परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला सुन छ भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीको दुई तोला सुन रहेको तथ्य सार्वजनिक भएको थियो ।
उर्जामन्त्रीको सुनमा भने समानता देखिन्छ । तत्कालीन उर्जामन्त्री वर्षमान पुन र बहालवाला विराजभक्त श्रेष्ठ दुबैको १५ तोला सुन छ ।
त्यस्तै, अहिले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३० तोला, कानुनमन्त्री सोबिता गौतमको १५ तोला, सिता वादीको १८ तोला, प्रतिभा रावलको २५ तोला, निशा मेहताको ३० तोला, सस्मित पोखरेलको २५ तोला, खड्कराज पौडेलको ११ तोला, विक्रम तिमिल्सिनाको १९.५ तोला र गिता चौधरीको ९ तोला सुन रहेको विवरण सार्वजनिक भएको छ ।
बहालवाला उद्योगमन्त्री गौरीकुमारी यादव प्रधानमन्त्री शाहपछि दोस्रो धनी (सुनको हकमा) देखिन्छिन् । उनको १८० तोला सुन छ । त्यसपछि सुदन गुरुङ छन् भने धेरै सुन ‘होल्ड’ गर्नेमा उनीपछि हालै नियूक्त श्रम तथा रोजगार मन्त्री रामजी यादव रहेका छन् । यादवको ८० तोला सुन रहेको छ ।
जबकी वाग्लेले ‘स्वर्णिम मन्त्रीमण्डल’ भनेको समयमा सबैभन्दा धेरै सुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री धनबहादुर बुढाको देखिन्छ । उनको १५० तोला सुन थियो । त्यसपछि सबैभन्दा धेरै क्रमशः स्व. रविन्द्रप्रसाद अधिकारी (६० तोला), रघुवीर महासेठ (५१ तोला), जगत विश्वकर्मा (५० तोला), शेर बहादुर तामाङ (३० तोला) रहेको थियो । मन्त्रिमण्डलका अन्य सदस्यको १८ तोलाभन्दा थोरै रहेको तत्कालीन समयमा सार्वजनिक विवरणमा उल्लेख छ ।
यसरी हिजो अरुका सुन र सम्पत्तिलाई लिएर प्रश्न गर्नेहरू आज सत्तामा छन् र चर्चाको केन्द्रमा छ उनीहरुकै सम्पत्ति । त्यसमा पनि सुनको चर्चाले सामाजिक सञ्जाल पहेँलिएको छ ।
विशेषगरी स्वर्णिम वाग्लेकै पुरानो पोस्टमा विभिन्न किसिमका कमेन्ट आएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता दिप विष्टले वाग्लेको पोस्टमा लेखेका छन्, ‘स्वर्णिम मन्त्रीमण्डल– द अर्थ इज अराउन्ड ।’
सँगसँगै वाग्लेकै शैलीमा बहालवाला मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरण (सुन) को ग्राफिक्स पनि राखेका छन् ।
अझ युवा उमेरमै मन्त्री भएकाहरुको सम्पत्ति पनि कल्पना गरेभन्दा धेरै देखिँदा अधिकांश चकित देखिन्छन् । डा. प्रेम फ्याकले लेखेका छन्, ‘यो उमेरमा (धेरै त विद्यार्थी नै), बिना औपचारिक स्रोत, यति धेरै चलअचल सम्पति ‘नेपोबेवी’हरूको मात्र हुन्छ ल । मलाई त सम्पत्ति कति भन्दा पनि कतै त्यो सम्पत्ति राजनितिक प्रिभिलेजको स्रोत त बनेको छैन भन्ने प्रश्नले चिन्तित बनायो ।’
फ्याकले यसो भन्दै गर्दा धेरै सम्पत्ति हुने कुरालाई नराम्रो भनेका छैनन् । तर, कसरी कमाईयो भनेर हेर्नु महत्वपूर्ण रहेको उनको भनाई छ ।
त्यसैले ‘पुराना’हरूले कसरी सम्पति कमाए भनेर प्रश्न गर्दैगर्दा नयाँ, त्यसमा पनि युवाहरूलाई झन् बढी प्रश्न सोध्न आवश्यक रहेको टिप्पणी सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै, सामाजिक सञ्जालमा लेखक केदार शर्माले त सन् २०१८ र अहिलेको मन्त्रिमण्डलको हिसाब नै निकालेका छन् । ‘सुनको कसीमा देश’ भन्दै हिसाब देखाएका शर्माका अनुसार, सन् २०१८ मा प्रतिमन्त्री औसत सुन २५.१६ तोला थियो भने अहिले प्रतिमन्त्री औसत सुन ४१.८४ तोला रहेको छ । कुल सुनको हिसाब निकाल्दा पनि त्यसबेलाको मन्त्रिपरिषद्का सबैको सुन जोड्दा जम्मा ५२८.५ तोला थियो भने अहिले कुल ६६९.५ तोला रहेको छ ।

‘सबैभन्दा रोचक कुरा के भने, यी औसत ४० वर्ष उमेरका युवामन्त्रीहरूले यो प्रगति ठ्याक्कै त्यही अवधिमा गरेछन्, जुन अवधिलाई उनीहरूले ‘देश नरक बनेको र बर्बाद भएको’ भन्दै जनताको मत जितेका थिए,’ हिसाब देखाउँदै शर्माले लेखेका छन् ।
यसमा हाल सरकारमा रहेको दल रास्वपाले मत माग्दा बताएका कुरा पृष्ठभूमिमा राख्दै शर्माले थप प्रश्न गरेका छन् ।
सिंहदरबार अगाडि सुनको घण्टी झुन्डाइएको व्याङ्यात्मक तस्वीर राखेका उनले देश रसातलमा पुगेका भनेर टिप्पणी गर्नेहरुकै सम्पत्ति कसरी यत्रो भयो भनेर आश्चर्य देखाएका छन् ।
उनका अनुसार, देश चाहिँ रसातलमा पुग्ने, तर त्यही समयमा उनीहरूको व्यक्तिगत ‘गोल्ड रिजर्भ’ भने आकाशिने – यो कस्तो चामत्कारिक अर्थतन्त्र हो ?
‘जनताले पनि आफ्ना यी ‘रोल मोडल’हरूको सिको गर्दै आफ्नो गक्ष्यले भ्याएसम्म ‘गोल्ड जुम्बा’ (सुन जोड्ने कसरत) गर्न थाले भने अर्थतन्त्र कता जाला भन्ने चाहिँ स्वर्णिम नेपालका निर्माताहरूले नै व्याख्या गर्लान्,’ शर्माको चिन्ता छ ।
यसरी सामाजिक सञ्जाल नै पहेँलपुर देखिनेगरी विभिन्न ग्राफिक्स राख्दै आमनागरिकले विभिन्न खाले टिप्पणी गरिरहेका छन् । फेसबुकमै प्रधानमन्त्री बालेन शाह र सिंगै मन्त्रिमण्डलका सदस्य सुनले ढाकिएको पहेँलपुर फोटो राख्दै रेखा न्यौपानेले लेखेकी छन्, ‘पहेलपुर सरकार । सम्पत्ति शुद्धीकरण जिल्लै ।’

न्यौपानेले घुमाउरो शैलीमा सम्पत्ति शुद्धीकरणसम्बधि छानबिन वर्तमान सरकारबाटै थाल्नुपर्ने बताएकी छन् । ‘३०/३५ वर्ष मन्त्री संसद र प्रधानमन्त्री भएकाको लाखमा सम्पत्ति देख्दा तर्सिने सम्पत्ति शुद्धीकरण अब आँखा मिच्दै पूर्वमन्त्री होइन वर्तमान मन्त्रिमण्डलबाट मिसन सुरु गर्नुपर्ने निस्कर्षमा पुग्यो रे,’ व्यंग गर्दै उनले लेखेकी छन् ।
अहिले जुन सरकारका मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति विवरणलाई लिएर टिकाटिप्पणी भइरहेको छ, यो आफैँमा जेनजी आन्दोलनको जगबाट फस्टाएको थियो । जेनजीहरुकै बलिदानको जगमा उदाएको सरकारमा रहेकाको सम्पत्ति विवरणलाई लिएर जेनजीहरू नै आश्चर्यचकित परेका छन् ।
यसबारे टिप्पणी गदै पत्रकार नबीन राईले जेनजी आन्दोलनका कतिपय अगुवाहरू टेम्पो/सवारी खर्चको जुगड गरेर हिँड्नुपर्ने अवस्थामा रहेको उल्लेख गरेका छन् । र, तिनै युवाले आर्जन गरेको समृद्ध चेतनाका कारण आजको राजनीतिक परिस्थिति सम्भव भएको बताउँदै उनले लेखेका छन्, ‘त्यही आन्दोलनले सृजित परिवर्तनबाट पूर्णतया लाभान्वित बनेको रास्वपा नेतृत्वको सरकारले सम्पति विवरण सार्वजनिक गर्दा सबै चकित छन् – सरकारमा नवधनाढ्यहरूको बहुलता रहेछ ।’
यो भन्दैमा सम्पत्ति कमाउनेहरुमा आफ्नो कुनै पूर्वाग्रह नभएको पनि राईले लेखेका छन् । उनको प्रश्न प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिमाथि होइन । उनका अनुसार, कमाउन सक्नेले वैधानिक बाटोमार्फत् जति पनि सम्पत्ति कमाउन सकिन्छ । कोही धनी हुनु अपराध होइन । यो उसको मिहेनत, सिर्जनशीलता र व्यवसायिक तिक्ष्णतामा भर पर्छ ।
‘तर, सयौं तोला सुन, करोडौं बैंक ब्यालेन्स सहित आर्थिकरूपमा सुरक्षित अवस्थामा रहेकाहरूले हामी जस्तो दालभातको लागि हाडछाला घोट्नुपर्ने मजदुरहरूको पीडामा साँचो समानुभूति राख्न सक्छन् कि सक्दैनन् ?,’ राईको प्रश्न छ ।
यसरी मन्त्रीहरुको सम्पत्तिमाथि ट्रोलिङ र टिप्पणी भइरहँदा रास्वपा नेतृ तथा पूर्वसांसद बिनिता कठायतको एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यो हो – केही समयअघि उनले वर्ग हेरेर राजनीतिमा अघि बढाउनुपर्ने भन्दै दिएको टिप्पणी ।
यसअघि कठायतले गरिब हुनु नै भ्रष्टाचारी बन्नु प्रमुख आधार रहेको आशयको टिप्पणी गरेकी थिइन् । उनले गरिब पृष्ठभूमिका नेता शासनसत्ता आउँदा भ्रष्ट्राचार बढ्ने भन्दै अर्थिक हिसाबले पिँधमा रहेका वर्गको नैतिक आचरणलाई लिएर प्रश्न गरेकी थिइन् ।
‘च्याटच्याट चप्पल लगाएर घरमा खाना पनि नभएको व्यक्ति, जोसँग पैसा छैन केही छैन, त्यो मान्छेलाई लिएर आउने । राजनीति गराउने । अनि घुस खायो पनि भन्ने ?,’ कठायतले भनेकी थिइन्, ‘त्यस्तो हुनुहुँदैन । मैले फिल्म मेकिङमा कमाएका पैसाहरु इन्भेस्ट गरेको छु र पो मैले एक रुपैयाँ घुस खाँदिन भन्ने हुन्छ । त्यसैले अब सम्पन्न भइसकेको व्यक्ति, जो घुस खादिँन, सिधासिधा काम गर्छु भन्छ – त्यो राजनीतिमा आउनुपर्यो ।’
यसलाई लिएर ट्रोल गरिरहेकाले रास्वपाको पार्टी नीति नै सोही किसिमको रहेको पुष्टि भएको भन्दै व्यंग गरेका छन् । यता रास्वपा समर्थकले पुरानाले राजनीतिमा आएर कमाए, अहिलेका पहिले सम्पन्न भएर आएका व्यक्ति भएकाले अब भ्रष्टाचार नहुने तर्क पनि गरिरहेका छन् ।
हुँदाहुँदा गृहमन्त्री सुधन गुरुङले समेत सामाजिक सञ्जालमा आएका प्रतिक्रियामाथि जवाफ दिँदै आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन आर्जन गरेको बताएका छन् । सँगसँगै भ्रष्टाचार नगरी सम्पत्ति कमाउनु पाप नहुने उनको भनाइ छ ।
‘तिमी जन्मँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन । तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो,’ गुरुङले सामाजिक सञ्जालमा ‘के पाईस् नेपाली केरा’ भन्ने गीत पृष्ठभूमिमा राख्दै उनले लेखेका थिए, ‘सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप होइन । सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’
‘ह्यासट्याग चेतनाभया’ भन्दै फेसबुक स्टोरीमा राखिएको उक्त पोस्ट अहिले उनले हटाएका छन् । यसरी रास्वपा समर्थक र विपक्षीबीच समाजिक सञ्जालमा सुनको विषयलाई लिएर दोहोर टिकाटिप्पणी चलिरहेको देखिन्छ । रास्वपा समर्थकले पहिल्यै कमाएकाहरु सत्तामा आउँदा भ्रष्टाचार नहुने र देश विकासमा गति मिल्ने दाबी गरिरहँदा अधिकांश आलोचकले भने देश पुनश्च: ‘एलिटकै कब्जामा’ पुगेको टिप्पणी गरिरहेका देखिन्छन् ।
प्रतिक्रिया 4