नयाँ वर्षले नयाँ क्यालेण्डर लिएर आएको छ
नयाँ वर्षले घरको पुरानो भित्तामा
एउटा नयाँ क्यालेण्डर लिएर आएको छ
नयाँ वर्षको नयाँ क्यालेण्डरले
मनको पुरानो हुँदै गएको भित्तामा
शुभकामनाको नयाँ क्यालेण्डर लिएर आएको छ।
नयाँ वर्षको नयाँ मूहुर्तमा
नयाँ नयाँ युगहरु बोकेर
बिगतका वर्षहरूले झैं
सर्पले काँचुली फेरे झैं
युगीन बिहानीको सुनौला किरण लिएर आएको छ
नयाँ वर्षले पुराना यादका भित्तामा
शुभेच्छाको अर्को नयाँ संस्करण लिएर आएको छ।
नयाँ वर्षको नयाँ क्यालेण्डरले
पुराना थकानहरु मेट्दै मेट्दै
नयाँ-नयाँ उर्जा लिएर आएको छ
शिशिर यामको उजाडलाई छोड्दै छोड्दै
वसन्तको हरियाली मादकता लिएर आएको छ
बैँस सकिएका पुरानो पातहरू झार्दै झार्दै
नयाँ नयाँ पालुवाको अवतार लिएर आएको छ
नयाँ वर्षले समयरेखाको भित्तामा
उत्साहको नयाँ क्यालेण्डर लिएर आएको छ।
नयाँ क्यालेण्डरका नयाँ जोगहरूले
साबिकको नागबेली यात्रालाई रोकेर
नयाँ नयाँ गन्तव्य लिएर आएको छ
यथास्थितिको निराशालाई कुल्चिएर
नयाँ नयाँ आकंक्षा लिएर आएको छ
नविनतम् आस्थाहरूलाई जुरुक्कै उचालेर
नयाँ नयाँ आशाहरूका भित्तामा
संकल्पको नयाँ क्यालेण्डर लिएर आएको छ।
नयाँ वर्षले चेतनाको क्षितिजमा
नयाँ चैतन्यको क्यालेण्डर लिएर आएको छ
नयाँ वर्षको नयाँ क्यालेण्डरले
नयाँ नयाँ रङहरूको इन्द्रेणी सजाएर आएको छ
नयाँ वर्षको फेरिएको क्यालेण्डरले
मनको पुरानो हुँदै गएको भित्तामा
नवरक्तसञ्चारको नयाँ क्यालेण्डर लिएर आएको छ।
प्रतिक्रिया 4