News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले बक्स अफिस कमाइका आधारमा सर्वाधिक कमाउने फिल्महरूको सूची सार्वजनिक गरेको छ र निर्माताहरूले आफ्ना फिल्मलाई \'हिट\' घोषणा गरेका छन्।
निकै तडकभडकसहित प्रदर्शनमा आएको फिल्म थियो, बलिदान । सन्तोष सेनले यो फिल्मका लागि के मात्र गरेका थिएनन् ? निर्माणदेखि पब्लिसिटीसम्म न्वरानदेखिको बल लगाएका थिए । तर, फिल्म बनेन गतिलो । यो कुरा हामीले भनेको होइन, दर्शकको उपस्थितिले नै भन्यो ।
हाँसउठ्दो त के भने, यो फ्लप फिल्म पनि यस वर्ष धेरै कमाइ गर्ने फिल्मको शीर्ष ६ भित्र पर्न सफल भयो । आफैँ बुझ्नुहोस्, यसपाली नेपाली फिल्मको हविगत के भयो ?
अँ त, दर्शकले खासै नरुचाएको फिल्म पनि धेरै कमाउनेको सूचीबाट गन्ती गर्दा छैर्ठौं नम्बरमा परेपछि सन्तोष सेनले उदेग मानेर हो वा आश्चर्य लागेर यस्तो लेखे, ‘ठूलो सोचका साथ निरन्तर संघर्ष गर्दै अघि बढेको छु । आफ्नो मेहनत र पसिनाको मूल्य अझ चुकाउँदै वर्तमानको उपब्धिलाई भविष्यको सफल यात्राको सुरुवात मानेको छु ।’
उनले उपलब्धिलाई हार नभई आगामी हिट र ब्लकबस्टर यात्राको संकेतका रूपमा व्याख्या गरेका छन् । यो त उनको आफ्नो आत्मबल बलियो गराउने भाव भयो, पीडा उनको मनलाई थाहा छ ।
निर्माता तथा निर्देशक सेनले जे हो त्यही बोल्ने । सिधा कुरा प्रष्ट विचार राख्ने स्वभावका निर्माताका रूपमा चिनिने सम्भवतः उनीजस्ता निर्माता नेपाली फिल्म उद्योगमा विरलै भेटिन्छन् ।
चलचित्र विकास बोर्डले नाफा–घाटाको विस्तृत हिसाब नगरी निर्माताहरूलाई सहज हुनेगरी केवल बक्स अफिस कमाइका आधारमा सर्वाधिक कमाउने फिल्महरूको सूची सार्वजनिक गर्यो । बोर्डले आफ्नो जिम्मेवारी अनुसार तथ्यांक सार्वजनिक गर्यो, जसपश्चात् अधिकांश करिब ९ जना निर्माताहरूले हर्ष व्यक्त गर्दै आफ्ना फिल्मलाई ‘हिट’ घोषणा गरेका छन् र कतिपय अर्को प्रोजेक्टमा समेत सक्रिय भइसकेका छन् ।
३ जनाको दौडमा तेस्रो स्थानमा परेर खुसी व्यक्त गरेजस्तै भयो लगभग ।
तर, ५ करोडभन्दा बढी आम्दानी भएको आफ्नो फिल्मलाई सन्तोष सेनले स्वयं ‘डिजास्टर’ घोषणा गरिरहँदा केही गम्भीर प्रश्नहरू यसपटक स्वाभाविक रूपमा उठेका छन् ।
यदि शीर्ष कमाइमा परेका फिल्मसमेत नाफामा जान सकेनन् भने, अन्य फिल्महरूको वास्तविक आर्थिक अवस्था कस्तो होला ? यत्तिको कमाइ हुँदाहुँदै पनि फिल्म किन नाफामा जान सक्दैन ? हिट’ र ‘डिजास्टर’को मापनको वास्तविक आधार के हो ?
यसमा चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक मात्र पर्याप्त छ कि विस्तृत वित्तीय पारदर्शिता आवश्यक छ ? निर्माताहरूले सार्वजनिक गर्ने ‘हिट’को दाबी कत्तिको यथार्थपरक छ ?
०००
नेपालको फिल्म उद्योगमा ‘आम्दानी’को चमक र ‘नदेखिने खर्च’को यथार्थ अचम्मको छ ।
अधिकांश मेकर्स आम्दानीको संख्या मात्रै बढाएर देखाउन चाहन्छन्, तर वास्तविक लगानीबारे भने कहिल्यै खुलेर बोल्न चाहँदैनन् । ‘हिट’को दाबी गर्न केवल बक्स अफिस कलेक्सन प्रस्तुत गर्ने प्रवृत्ति बढ्दो छ । यसरी संख्या मात्रै देखाएर सफलताको कथा निर्माण गर्ने प्रयास किन गरिन्छ ?
मुख्यतः यसका दुई कारण देखिन्छन्,
पहिलो, इज्जतका लागि । फिल्मलाई ‘हिट’ घोषणा गर्दा निर्माता र टिमको सामाजिक तथा व्यावसायिक प्रतिष्ठा जोगिन्छ।
दोस्रो, नयाँ मेकर्सलाई प्रभावमा पार्न । उच्च आम्दानीको छवि प्रस्तुत गर्दा नयाँ लगानीकर्ता तथा सहकार्यका लागि मेकर्सहरू आकर्षित हुने अपेक्षा गरिन्छ।
तर, हामीले फिल्म मेकर्सहरूबाट प्रोजेक्टहरूमा भएको नदेखिने डरलाग्दो खर्चको स्पष्ट हिसाब भने कहिल्यै पाउँदैनौं । फिल्मको छायांकन सकिएको केही दिनपछि सम्पादकको कम्प्युटरमा फाइल खन्याइएको दिनदेखि रिलिज नहुन्जेलसम्म नदेखिने खर्चका अनेक बाटाहरू खुल्छन् ।
दिनरात चिया, खाना र खाजामा कति खर्च हुन्छ ? कहिलेकाहीँ दारु–पानीमा कति रकम जान्छ ? सम्पादनमा थपिँदै जाने खर्च– फोली साउन्ड, डबिङ, भिएफएक्स, कलर ग्रेडिङ– यी सबैको वास्तविक हिसाब कति हुन्छ ? देशभर अन्धाधुन्ध पोस्टर टाँस्दा र विभिन्न स्थानमा ब्यानर राख्दा कति बजेट खर्च हुन्छ ?
अन्तर्वार्ता र प्रमोसनल कन्टेन्टका लागि युट्युब, सोसल मिडिया, अनलाइन र पत्रपत्रिकाका पत्रकार साथीहरूलाई विज्ञापन तथा सुटुक्क बुझाइने ‘खाम’ मा कति रकम खर्च हुन्छ ? दर्जनौं पटक गाडीमा काठमाडौंभित्र र बाहिरका जिल्लामा पुग्दा, कहिलेकाहीँ मुम्बईसम्मको यात्रामा कति खर्च हुन्छ ? यी सबै प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा कहिल्यै आउँदैन।
अहिलेको परिवेशमा फिल्म रिलिजपछि केही शो सुनिश्चित गर्न हल बुक गर्नुपर्ने बाध्यता छ । यसका लागि एक निर्माताले ५/७ लाखदेखि ३०/३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको कुरा हामी आफ्नै कानले सुन्छौं, आफ्नै आँखाले देख्छौं । तर, यस्ता खर्चहरू सार्वजनिक रूपमा स्वीकार गरिँदैनन् ।
यसरी नदेखिने खर्च अत्यधिक हुँदा केवल आम्दानीको आधारमा खुसी हुने अवस्था रहँदैन । बक्स अफिस कलेक्सनले फिल्मको लोकप्रियता देखाए पनि वास्तविक नाफा–घाटाको चित्र भने प्रस्तुत गर्न सक्दैन । त्यसैले, नेपाली फिल्म उद्योगमा ‘हिट’ र ‘डिजास्टर’को बहसभन्दा पनि आर्थिक पारदर्शिताको बहस अझ आवश्यक देखिन्छ।
०००
नेपालको चलचित्र उद्योग सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ प्रतिभाशाली कलाकार, सशक्त कथावस्तु, भौगोलिक विविधता र सांस्कृतिक सम्पदाको अपार भण्डार छ । तर, यति धेरै सम्भावनाका बाबजुद पनि यो उद्योगले अपेक्षित रूपमा विकास गर्न नसकेको विडम्बना स्विकार्नैपर्छ । यसका पछाडि धेरै कारण छन्, तर मुख्य कारणहरू उद्योगभित्रै मौलाएको वेथिति, गैरव्यवसायिकता, मौनता र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हुन् ।
यस उद्योगको पुरानो तर जटिल समस्या पारिश्रमिकको विषय सधैं उस्तै छ । धेरैजसो फिल्मकर्मीहरू लिखित सम्झौताबिना काम गर्छन् । काम सकिएपछि पारिश्रमिक नपाउने वा ढिलाइ हुने घटनाहरू सामान्यजस्तै छन् । यसले कलाकार र प्राविधिकहरूको मनोबल घटाउनुका साथै उद्योगप्रतिको विश्वाससमेत कमजोर बनाएको छ । यस्तो संवेदनशील विषयमा सम्बन्धित संघ–संस्थाहरू मौन बस्नुले समस्या झन् गहिरिँदै गएको छ ।
त्यस्तै, सिर्जनात्मक कामप्रति देखिएको अल्छीपनले पनि उद्योगको गुणस्तरमा प्रत्यक्ष असर पारेको छ । गहिरो अध्ययन, अनुसन्धान र नयाँ प्रयोगभन्दा पनि सजिलो र छिटो कमाइ हुने प्रवृत्तिले मौलिकता ओझेलमा परेको छ ।
प्राविधिकहरूले निर्मातालाई दिने दुःख कहिल्यै हराएन । मेकर्सले फिल्मको सबै काम नसक्दै पोस्टप्रोडक्सनमा काम सुरु गर्दा निर्माता–प्राविधिक बीच हुने लफडा उस्तै छ । सोही कारण दर्शकले अपेक्षा गरेका भन्दा फरक किसिमका फिल्महरूमा चित्त बुझाइरहनु परेको छ । सोही कारण गर्दा नेपाली फिल्मप्रति दर्शकको आकर्षण घट्दो छ ।
नेपाली चलचित्र उद्योगमा सयौं निर्माताको उठिबास भएको यथार्थ पनि कम पीडादायी छैन । लगानी सुरक्षित हुने वातावरण नहुँदा नयाँ लगानीकर्ता उद्योगमा प्रवेश गर्न हिच्किचाउँछन् । यसले उद्योगको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव पारिरहेको छ । उद्योगलाई बचाउन प्रभावकारी नीति, पारदर्शिता र दीर्घकालीन रणनीतिको आवश्यकता भए पनि त्यसतर्फ ठोस पहल देखिएको छैन ।
अवार्ड कार्यक्रमको नाममा भइरहेको कमाउ धन्दा अर्को गम्भीर समस्या हो । विदेश भ्रमण र व्यक्तिगत फाइदाका लागि आयोजना गरिने यस्ता कार्यक्रमले उद्योगको वास्तविक विकासमा कुनै योगदान पुर्याएका छैनन् । यस्ता गतिविधिले उद्योगको छवि धूमिल बनाउनुका साथै वास्तविक प्रतिभाको सम्मानसमेत ओझेलमा पार्छ । यसलाई नियमन गर्न सम्बन्धित निकायहरूको चासो र सक्रियता आवश्यक भए पनि त्यो अभाव स्पष्ट देखिन्छ।
उद्योगभित्र एकले अर्कालाई गिराउने, फसाउने र डुबाउने प्रवृत्ति पनि लामो समयदेखि विद्यमान छ । सहकार्य र एकताको अभावले उद्योगको सामूहिक उन्नतिमा बाधा पुर्याएको छ । यसका साथै, फिल्म स्कुलबाट अध्ययन पूरा गरी आएका दक्ष विद्यार्थी र नयाँ कलाकारहरूलाई पुरानो पुस्ताले अवसर नदिने प्रवृत्तिले पनि नवप्रवर्तनलाई रोकिरहेको छ । यसले उद्योगमा प्रतिस्पर्धात्मक र सिर्जनात्मक वातावरण निर्माण हुन सकेको छैन ।
०००
सिनेमा कथाअनुसार प्रवाहमा बग्ने सिनेम्याटिक भाषा हो, जहाँ गीतले संस्कृति, भावना र परिवेशलाई जीवन्त बनाउनुपर्छ । तर आजकल कुनै पनि लोकलय भेटियो कि त्यसैलाई सिनेमाको गीत बनाइदिने प्रवृत्ति बढ्दो छ ।
लोकगीतको प्रयोग भनेको धुनको नक्कल मात्रै त होइन, सम्बन्धित संस्कृति र सन्दर्भलाई आत्मसात् गर्नु हो । त्यसैले, यस्ता सिर्जनामा संस्कृतिको ज्ञान भएका गीतकार वा कविको सहभागिता अनिवार्य हुनुपर्छ ।
त्यसो त, नेपाली चलचित्र क्षेत्रमा अर्को प्रवृत्ति पनि उत्तिकै चिन्ताजनक छ– एउटा रोनाधोना फिल्म हिट भयो भने त्यही शैलीको पुनरावृत्ति, कसैले एक्सन फिल्म सफल बनायो भने त्यसैको नक्कल, र कमेडी हिट भयो भने त्यही बाटो पछ्याउने चलन ।
नयाँ सोच, मौलिकता र सिर्जनात्मक प्रयोगतर्फ ध्यान दिने फुर्सद मानौँ कसैलाई छैन ।
प्रतिक्रिया 4