+
+
Shares

तेस्रो त्रैमाससम्म ४१ अर्ब ७९ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
  • चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन्, जसमा ४२६ कम्पनी अटोमेटिक रुटबाट र १८९ अप्रुभल रुटबाट दर्ता भएका छन्।
  • गत आवको तुलनामा यस वर्ष एफडीआई घटेको छ, चैतमा मात्र १ अर्ब रुपैयाँको एफडीआई स्वीकृत भएको छ जुन गत आवको १३ अर्ब १७ करोडभन्दा कम हो।

३ वैशाख, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षमा तेस्रो त्रैमासिक अवधिसम्म ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन् भने सो रकम बराबरको लगानी स्वीकृत गरिएको छ । यस अवधिमा अटोमेटिक रुटबाट ४ अर्ब ९ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ६९ करोड बराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ ।

जसमध्ये अटोमेटिक रुटबाट संख्यात्मक रुपमा सबैभन्दा धेरै ४२६ कम्पनी दर्ता भएका छन् । अप्रुभल रुटबाट १८९ कम्पनी दर्ता भएको देखिन्छ । चैतमा मात्र कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस महिनामा ६१ उद्योग दर्ता भएका छन् ।

यस वर्ष दर्ता भएका अधिकांशको प्रकृति भने साना उद्योग रहेको छ । यस अवधिमा मझौला र ठूला उद्योग ८/८ वटा मात्र दर्ता भएका छन् । चैत महिनामा दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन् । क्षेत्रगत रुपमा हेर्दा यस वर्ष सबैभन्दा धेरै संख्यामा सूचना प्रविधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

तर, लगानी प्रतिबद्धता भने अन्य क्षेत्रमा बढी देखिन्छ । विभागका अनुसार सूचना प्रविधिका कुल ३४६ उद्योग दर्ता भएका छन् । जुन ५६ प्रतिशत बराबर हो । पर्यटनका १६४ उद्योग दर्ता भएका छन् । जुन २७ प्रतिशत बराबर हो ।

कृषिका १६, ऊर्जाका २, उत्पादनमूलक उद्योग ३८, खानीका २ उद्योग दर्ता भएका छन् । रकमका आधारमा सबैभन्दा धेरै कृषिमा २२ अर्ब, पर्यटनमा ११ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

घट्दो प्रवृत्ति

एफडीआई भित्रने क्रम भने यस वर्ष घटेको छ । गत आवको ९ महिना (साउन–चैत)मा ५८ अर्ब हाराहारी एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।

जुन आव २०८०/८१ को तुलनामा समेत २७ अर्ब ८८ करोडले धेरै थियो । गत आवको चैतमा मात्र १३ अर्ब १७ करोडको एफडीआई स्वीकृत भएकोमा यस वर्ष १ अर्ब रुपैयाँको मात्र स्वीकृत भएको छ । गत आवमा तेस्रो त्रैमाससम्म कुल ४६८ कम्पनी दर्ता भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?