+

नेपाली बास्केटबलको दायरा फराकिलो बनाउँदै एचजेएनबीएल

२०८३ वैशाख  ३ गते १९:०५ २०८३ वैशाख ३ गते १९:०५

नेपाल बास्केटबल संघले हिमालयन जाभासँग सहकार्य गरेर सुरु गरेको नेशनल बास्केटबल लिगले विस्तारै बास्केटबल खेलको लय समात्ने प्रयास गरेको छ ।

नेपाली बास्केटबलको दायरा फराकिलो बनाउँदै एचजेएनबीएल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बास्केटबल संघले हिमालयन जाभा नेशनल बास्केटबल लिग आयोजना गरी राष्ट्रिय स्तरमा बास्केटबललाई पुनः सक्रिय बनाएको छ ।
  • गोल्डेनगेट बास्केटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एचजेएनबीएलको उपाधि जितेको छ ।
  • नेबा अध्यक्ष भिमसिंह गुरुङले नयाँ वर्ष २०८३ मा महिला बास्केटबल राष्ट्रिय लिग र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउने योजना रहेको बताए ।

३ वैशाख, काठमाडौं । नेपाली बास्केटबलका लागि वर्ष २०८२ मिश्रित रह्यो । यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी नभएपनि राष्ट्रिय स्तरमा भने प्रतियोगिताहरू आयोजना भए ।

विशेषगरी वर्षको अन्तिममा एक महिना भन्दा बढी अवधी सञ्चालन भएको हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) ले नेपाली बास्केटबललाई फेरि ‘रिभाइभ’ गर्ने प्रयास गरेको छ ।
कुनै समयमा काठमाडौंको कलेज, स्कुलमा चर्चामा रहने बास्केटबल बीचमा केही हराएको जस्तो भएको थियो ।

तर अब विस्तारै बास्केटबल खेलले पनि लय समात्ने प्रयास गरेको छ र त्यसको लागि नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँग सहकार्य गरेर सुरु गरेको बास्केटबल लिगले आधार बनाउने प्रयास गरेको छ ।

गत वर्ष हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को नामबाट सुरु हुँदा उपत्यकाभित्रका मात्र टिमहरू समावेश भएपनि यसपटक भने नेपाल बास्केटबल संघले क्वालिफायर्स प्रतियोगिता आयोजना गर्दै नेशनल बास्केटबल लिग (एचजेएनबीएल) को नाममा आयोजना गरेको हो ।

यसमा उपत्यका बाहिरबाट पनि बास्केटबल क्लबहरू समावेश गर्ने लक्ष्यसहित दायरलाई फराकिलो बनाइएको नेबा अध्यक्ष भिमसिंह गुरुङ बताउँछन् ।

‘सुरुमा हामीले बास्केटबल लिग भनेर आयोजना गरेका थियौं । त्यसमा ६ टोली मात्र सहभागी थिए । तर यस पटक हामीले देशभरबाट क्लबहरूलाई समावेश गर्ने लक्ष्यसहित हामीले क्वालिफायर्स प्रतियोगिता समेत आयोजना गर्‍यौं र लिगको दायरा समेत बढायौं’ गुरुङले भने, ‘यसपटक हामीले हिमालयन जाभा नेशनल बास्केटबल लिग नाम राख्दै टिम संख्या बढाएर ८ पुर्‍यायौं ।’

८ टिम, ६० खेल र एक विजेता

यस पटक नेशनल बास्केटबल लिगमा टिम संख्या बढाउनेदेखि धेरै समय सञ्चालन समेत भयो । यसअघि नेबाले विकेन्डको कन्सेप्टमा बास्केटबल लिग आयोजना गरेको थियो । त्यो प्रतियोगिता पनि २०८२ वैशाखमै सुरु भएर असारमा सम्पन्न भएको थियो । तर त्यस बेला हप्तामा दुई दिन मात्र खेल हुन्थ्यो ।

यस पटक भने नेबाले हरेक दिन खेल गर्दै एक महिनासम्म लगातार लिग आयोजना गरेको हो । जसमा साविक विजेता टाइम्स र उपविजेता गोल्डेनगेट बास्केटबल क्लबसहित क्वालिफायर्सको उपाधि जितेर आएको त्रिभुवन आर्मी क्लब, केभिसी हाउण्ड्स, रोएल, कीर्तिपुर, सोलो बास्केटबल क्लब र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गरेका थिए ।

डबल राउण्ड रोविनका आधारमा सञ्चालन भएको लिगमा ५६ लिग खेल र फाइनलसहित प्लेअफमा ४ गरी कूल ६० खेल भए । सहभागी ८ वटै टिमले एक आपसमा खेल्दा कुल १४ खेल खेल्ने अवसर पाए ।

३२ दिनसम्म रेगुलर सञ्चालन भएको नेशनल बास्केटबल लिगमा गोल्डेनगेट बास्केटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै च्याम्पियन भयो । च्याम्पियन गोल्डेनगेटले ट्रफी सहित नगद ४ लाख पुरस्कार जित्दा आर्मीले २ लाख हात पार्‍यो ।

लिग चरण र क्वालिफायर गरी आर्मीसँग ३ पटक पराजित भएको गोल्डेनगेटले फाइनलमा तीनै खेलको बदला लियो ।

साविक विजेता टाइम्स, केभीसी हाउण्ड्स, रोएल, कीर्तिपुर, सोलो, प्लेबक्स एरेना सहभागी थिए । च्याम्पियन गोल्डेनगेट र उपविजेता आर्मीसँगै तेस्रो भएको टाइम्स र हाउण्ड्स पनि अर्को सिजनका लागि स्वत: छनोट भएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तै बटम फोरमा परेको टिमले भने अब अर्को सिजनको एचजेएनबीएल खेल्न क्वालिफायर प्रतियोगिता खेलुनपर्छ । पहिलो पटक भएको एचजेबीएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसबेला शीर्ष चारमा नपरेका टिमले यस पटक क्वालिफायर खेलेको थियो ।

यस्तै पहिलो सिजन नखेलेको आर्मीले पनि यस सिजन क्वालिफायर खेल्यो । नेपाल बास्केटबल संघको आयोजनामा लिनिङ बास्केटबल प्रतियोगिताको नाममा गत पुसमा बौद्धमा भएको प्रतियोगितामा काठमाडौं बाहिरबाट गण्डकी टिम पनि सहभागी थियो ।

जसमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८-७७ ले पराजित गर्दै उपाधि जितेको हो । आर्मीसहित सोलो बास्केटबल क्लब, रोएल र प्लेबक्स एरेना क्वालिफायरको शीर्ष चारमा रहेर एचजेएनबीएलमा छनोट भएका थिए ।

यस पटक टिम संख्या बढ्दा खेल पनि झण्डै दोब्बर भए । जसले खेलाडीहरूका लागि पनि आफ्नो खेल कौशल देखाउने राम्रो अवसर बन्यो ।

नेपाल बास्केटबल संघले अब पुरुषको राष्ट्रिय टिम तयार पार्दा यही एचजेएनबीएललाई आधार बनाएर खेलाडी छनोट गर्ने जनाएको छ ।

‘पुराना र नयाँ खेलाडीहरूले सँगै खेल्ने अवसर पाए । युवा प्रतिभावान खेलाडीहरू पनि आएका छन् । उनीहरू भविष्यमा राष्ट्रिय टिममा पर्न सक्ने खेलाडी हुन् । सबैले आफ्नो स्तर जाँच्ने अवसर पाए । ह राष्ट्रिय टिम तयार परादा खेलाडी पुल पनि बढ्नेछ’ नेबा अध्यक्ष भिमसिंह गुरुङले भने ।

यस्तै एचजेएनबीएलको च्याम्पियन टोली साबाले आयोजना गर्ने दक्षिण एसियाली स्तरको प्रतियोगिता साबा क्लब च्याम्पियनसिप पनि खेल्ने अवसर पाउनेछ । एचजेएनबीएलले अहिले नेपालभर रहेका बास्केटबल खेलाडीका लागि एउटा प्लाटफर्म तयार पारेको छ ।

‘नेशनल बास्केटबल लिगमा बाहिरबाट हेर्दा उपत्यकाभित्रका क्लबहरू मात्र देखिएपनि यसमा क्वालिफायर्स र मुख्य प्रतियोगितममा गरी देशभरका खेलाडीहरू कुनै न कुनै क्लबमा सहभागी भएर खेल्न पाएका छन् । खेलाडीहरूले पनि यस्तो खालको लिग खेल्न पाउँदा उत्साहित देखिएका थिए’ नेबा अध्यक्ष गुरुङले भने ।

यस्तै खेलाडीहरूले पनि एचजेएनबीएल जस्ता लिगले खेलाडीहरूलाई राम्रो अवसर दिएको र यस्तो खालको प्रतियोगिता निरन्तर भएमा नेपाली बास्केटबल विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महिला बास्केटबलमा प्रतियोगिता घट्यो

यस वर्ष नेबाले महिलाको कुनै बास्केटबल प्रतियोगिता आयोजना गर्न सकेन । वर्ष २०८२ मा महिला बास्केटबल लिगको पनि राष्ट्रिय प्रतियोगिता गर्ने योजना रहेपनि महिला खेलाडीहरू कम भएको नेबाको भनाइ छ ।

यद्यपी नेपाल बास्केटबल संघ (नेबा) संगको सहकार्यमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा गत कात्तिकमा काठमाडौंमा समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप २०२५ भएको थियो ।
जहाँ सिनियर र जुनियर दुवैको प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

राष्ट्रिय टिमका केही खेलाडीहरूले पनि यो प्रतियोगिता खेले भने केही खेलाडी अनुपस्थित रहे । त्रिपुरेश्वरस्थित दशुरथ रंगशाला कभर्डहलमा भएको प्रतियोगितामा महिला सिनियर र जुनियरमा ४-४ टोली मात्र सहभागी थिए । जहाँ सिनियरतर्फ ट्रेनिङ ग्राउण्ड च्याम्पियन बन्दा यू-१६ जुनियरतर्फ भ्याली पब्लिक स्कुल पहिलो भयो ।

सिनियरतर्फ जेभियर इन्टरनेशनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्डे स्टार्स तथा जुनियरतर्फ बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वार्निम कलेजले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

सिनियर र जुनियरको प्रतियोगिता एकै साथ गर्दा नयाँ खेलाडीहरूले पनि सिनियरबाट सिक्ने अवसर पाउने नेबा अध्यक्ष भिमसिंह गुरुङले त्यसबेला भनेका थिए ।

महिला बास्केटबलको पनि यस्तै खालको राष्ट्रिय लिग हुन सके खेलाडीहरू आकर्षित हुने र राम्रो हुने खेलाडीहरूको भनाई छ । ‘हामीले भविष्यमा महिलाको पनि पुरुषकै जस्तै राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारीमा गरेका छौँ । नयाँ वर्ष २०८३ मै त्यो प्रतियोगिता हुनेछ’ नेबा अध्यक्ष गुरुङले भने ।

फ्रेन्चाइज लिग गर्ने लक्ष्य

नेबाले केही वर्षअघि नै फ्रेन्चाइज शैलीमा नेशनल बास्केटबल लिग (एनबीएल) आयोजना गर्ने घोषणा गरेको थियो । त्यसबेला नै नेबाले फ्रेन्चाइज शैलीमा बास्केटबल लिग आयोजना गर्ने योजना बनाएपनि त्यसले मुर्त रुप पाउन सकेन र प५ उपत्यकाका रहेका विभिन्न क्लब र टिमहरू समावेश गरेर उक्त प्रतियोगिता आयोजना भयो । टाइम्स बसाकेटबल क्लबले उत्क प्रतियोगिताको उपाधि जित्यो ।

गत वर्षदेखि भने नेबाले हिमालयन जाभासँग सहकार्य गर्दै नयाँ शैलीमा हिमालयन जाभा बास्केटबल लिग सुरु गरेको थियो ।

दोस्रो सिजनमा आइपुग्दा यसको दायरा फराकिलो भइसकेको छ । यसलाई पुरुषको नेसनल बास्केटबल लिगकै रुपमा गर्ने योजना नेबाको छ । राष्ट्रिय लिगमा क्वालिफायर्ससहित दुई प्रतियोगिता हुने दक्षिण एसियामा नेपाल मात्रै भएको नेबा अध्यक्ष गुरुङले दाबी गरे ।

अब नेबाको लक्ष्य फ्रेन्चाइज बास्केटबल लिग गर्ने नै छ । अध्यक्ष गुरुङले पनि फ्रेन्चाइज गर्ने आफ्नो मुख्य लक्ष्य बाँकी रहेको र भविष्यमा त्यो पनि गर्ने बताए । ‘कर्पोरेट हाउसलाई इनभल्भ गरेर व्यावसायिक शैलीमा गर्ने योजना छ । फ्रेन्चाइज टिमसहित खेलाडीको अक्सन नै गरेर लिग गर्ने लक्ष्य हो’ उनले भने ।

अहिलेसम्म नेपालमा क्रिकेट, फुटबल, भलिबल र कबड्डीको फ्रेन्चाइज लिग आयोजना भइसकेका छन् । यस्तै विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गर्दै दोस्रो भएको खो खो खेलले पनि ड्रिम खो खो लिग आयोजना गरेको थियो ।

यस्तै ग्रासरुट र स्कुल देखि नै बास्केटबल खेलाडी उत्पादन गर्ने र राष्ट्रिय टिमलाई अझ बलियो बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रमहरूको योजना बनिरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी

नेबाले नयाँ वर्ष २०८३ मा राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागिता पनि प्राथमिकता दिने लक्ष्य राखेको छ ।

गत वर्ष साबा च्यम्पियनसिप आयोजना गर्नका लागि अधिकार पाएपनि पूर्वाधार र बजेट अभावले गर्न आयोजनाको मौका गुमेको नेबा अध्यक्ष गुरुङले बताए ।

‘राखेपबाट बजेट पनि पाउन गाह्रो छ । कभर्डहल पनि एउटा मात्रै हुँदा समय मिलाउन कठिन भयो’ उनले भने, ‘अब नयाँ वर्ष हामी साबाको प्रतियोगिता गर्ने लक्ष्यसहित तयारी गरिरहेका छौं । विशेषगरी साबा महिला च्याम्पियनसिपका लागि हामी छलफलमा छौं ।’

सरकारबाट आधा बजेट सहयोग भयो भने अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने गुरुङले बताए । ‘सरकारबाट आधा बजेट सहयोग भयो भने हामी राम्रोसँग साबा च्याम्पियनसिप गर्न सक्छौं । त्यसैका लागि अहिले छलफल भइरहेको छ । यस्तै निजी कर्पोरेट हाउससँग पनि प्रायोजनको लागि कुराकानी भइरहेको छ’ गुरुङले भने ।

यदि सरकारले राम्रो बजेट दिएर प्रायोजकहरूको पनि राम्रो साथ पाएमा साबा महिला च्याम्पियनसिप गर्न सकिने उनले बताए ।

यस्तै यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी हुने लक्ष्य पनि नेबाको छ । साथै उमेर समूहको प्रतियोगितामा पनि पहिले जस्तै सहभागी हुने योजना छ ।

बास्केटबलमा अन्तर्राष्ट्रिय स्तरमा फड्को मार्नका लागि राष्ट्रिय स्तरदेखि नै बलियो हुनुपर्छ । राष्ट्रिय टिम बलियो भएपछि दक्षिण एसियाको च्याम्पियन बन्दै एसियामा पुग्ने र त्यसपछि मात्र विश्व स्तरमा पुग्न सकिन्छ ।

‘सिधै एकपटक अन्तर्राष्ट्रिय स्तरमा फड्को मार्न सकिँदैन । विस्तारै फड्को मार्नुपर्छ । जसरी एचजेएनबीएलले आफ्नो दायरा बढाउँदैछ । नेबाले पनि अब राष्ट्रिय टिमको कार्यक्रम, प्रतियोगिता सहभागिता र आयोजना गर्दै राष्ट्रिय टिमको दायरा पनि बढाएर अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य छ’ नेबा अध्यक्ष गुरुङले भने ।

गुरुङले भने जस्तो भएमा मात्र नेपालको बास्केटबलको पुरानो चर्चा र चार्म फेरि फर्काउनेछ र नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रतिस्पर्धा गर्न सक्छ ।

एचजेएनबीएल हिमालयन जाभा नेशनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय