डोनाल्ड ट्रम्पले आइतबार आफ्नो ’ट्रूथ सोसल’मा एआई निर्मित एक तस्वीर पोस्ट गरेको विषय अहिले विवादित बनेको छ ।
उक्त तस्वीरमा उनलाई जिससजस्तै एक दैवी स्वरूपमा देखाइएको छ । जहाँ उनको हातबाट ईश्वरीय प्रकाश निस्किएको छ । उनले अस्पतालको बेडमा रहेका एक बिरामी व्यक्तिको उपचार गरिरहेका छन् । पृष्ठभूमिमा नर्कको एउटा दानव तैरिरहेको देखिन्छ ।
सो तस्वीर विवादमा परेपछि ट्रम्पले उक्त पोस्ट हटाएका छन् । आइतबार सोही साइटमा उनले पोप लियो १४ औँ विरुद्ध लामो समयसम्म आक्रोश पोखेका थिए । यसमा उनले पोपलाई ‘अपराध नियन्त्रणमा कमजोर’ भएको आरोप लगाउनुका साथै क्याथोलिक चर्चका प्रमुख बाराक ओबामाका रणनीतिकार डेभिड एक्सेलरडबाट प्रभावित भएको दाबी गरेका थिए ।
ट्रम्पले पोपसँग माफी माग्न अस्वीकार गर्दै भनेका छन्, ‘उनी सार्वजनिक रूपमा आएँ । म त केवल पोप लियोलाई जवाफ दिइरहेको छु ।’
ट्रम्पले आफ्ना केही उच्च पदस्थ र वफादार क्रिश्चियन समर्थकहरूको आक्रोशको सामना गर्नुपरेको छ । तीमध्ये धेरैले ट्रम्पलाई उनका अन्य विभिन्न गल्तीमा साथ दिँदै आएका थिए ।
फक्स न्युजकी पोडकास्ट होस्ट राइली गेन्सले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूले उनले यो किन पोस्ट गरे भनेर बुझ्न नसकेको उल्लेख गरेकी छन् ।
उनले थप लेखेकी छन्, ‘के उनी कुनै प्रतिक्रियाको खोजीमा छन् ? के उनी वास्तवमै यस्तै सोच्छन् ? जे भए पनि, यहाँ दुईवटा कुरा सत्य छन् । १–थोरै नम्रताले उनलाई फाइदा पुर्याउनेछ । २–ईश्वरको उपहास गरिनु हुँदैन ।’
रुढिवादी ‘डेली वायर’की लेखिका मेगन बासमले उक्त पोस्टलाई अत्यन्तै अपमानजनक पोस्टको संज्ञा दिएकी छिन् ।
‘मलाई थाहा छैन राष्ट्रपतिले आफूलाई ठट्टा गरिरहेको ठानेका थिए वा उनी कुनै नशालु पदार्थको प्रभावमा थिए, अथवा यसका लागि उनीसँग के सम्भावित स्पष्टीकरण हुन सक्छ,’ उनले लेखेकी छन् ।
उनले ट्रम्पसँग ‘यो तस्वीर तुरुन्तै हटाउन र पहिले अमेरिकी जनतासँग र त्यसपछि ईश्वरसँग माफी माग्न’ माग गरेकी थिइन् ।
सोही सञ्चारमाध्यमकी होस्ट इसाबेल ब्राउनले उक्त तस्बिर घृणास्पद र अस्वीकार्य रहेको बताएकी छन् । ‘जिससभन्दा महत्त्वपूर्ण अरू केही छैन,’ उनले लेखेकी छन्, “स्पष्ट रूपमा भन्नुपर्दा, यो पोस्ट घृणास्पद र अस्वीकार्य छ ।’
दक्षिणपन्थी ‘ब्लेज टिभी’का होस्ट स्टिभ डेसले भने एउटा मात्र शब्द पोस्ट गरेका छन्, ‘नो’ । जब पत्रकारहरूले ट्रम्पलाई के तपाईंले आफूलाई जिसस ख्रीष्टको रूपमा चित्रण गरिएको तस्वीर पोस्ट गर्नुभएको हो भनी सोधे, ट्रम्पले जवाफ दिए, ‘त्यो कुनै चित्रण थिएन, त्यो म नै थिएँ ।’
ट्रम्पले अगाडि भने, ‘त्यो त मानिसहरूलाई निको बनाइरहेको एक चिकित्सकको रूपमा मेरो तस्बिर हुनुपर्ने हो ।’ उनले आफूले साँच्चै मानिसलाई स्वास्थ्यलाभ दिने दाबी गरेका छन् ।
उपराष्ट्रपति जेडी भान्सले भने सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा जिसस जस्तो देखिने उक्त तस्वीरलाई ‘एउटा ठट्टा’ मात्र भएको भन्दै ट्रम्पको बचाउ गरेका छन् ।
‘अवश्य पनि, धेरै मानिसहरूले आफ्नो ठट्टा नबुझेको महसुस गरेपछि ट्रम्पले उक्त पोस्ट हटाउनुभयो,’ भान्सले भनेका छन् ।
ट्रम्प हाल क्याथोलिक इतिहासकै पहिलो अमेरिकी मूलका पोप, लियो १४ औँसँग वाक्युद्धमा होमिएका छन् । पोप लियोले राष्ट्रपतिको नाम नलिइकन, विशेष गरी इरानसँगको युद्धको सन्दर्भमा अमेरिकी विदेश नीति ‘सर्वशक्तिमान् भएको भ्रम’ बाट निर्देशित भइरहेको सङ्केत गरेपछि यो विवाद सुरु भएको हो ।
ट्रम्पले यसको जवाफमा धर्मगुरुलाई ‘अपराध नियन्त्रणमा कमजोर’ को संज्ञा दिँदै आफू ‘पोप लियोको प्रशंसक नभएको’ बताएका छन् । साथै उनले विश्वका एक अर्ब ४० करोड क्याथोलिकका नेता ‘कट्टर वामपन्थीको स्वार्थ पूरा गर्न लागिपरेको’ आरोप समेत लगाएका छन् ।
गाजाको नरसंहार र विनाशका बारेमा समेत मुखर रहेका लियोले अल्जेरिया जाने क्रममा विमानमा पत्रकारहरूसँग कुरा गर्दै आफू ट्रम्प प्रशासनसँग नडराउने र युद्धका विरुद्ध निरन्तर आवाज उठाइरहने बताएका थिए ।
पोपमाथि ट्रम्पले गरेको आक्रमणको निन्दा चौतर्फी फैलिएको छ । ट्रम्पका पुराना प्रशंसक एवं कट्टर दक्षिणपन्थी उपप्रधानमन्त्री माटेओ साल्भिनी लगायत इटालीका विभिन्न राजनीतिक विचारधाराका नेताहरूले पोपमाथि प्रहार गर्नु न त उपयोगी छ, न त बुद्धिमानी नै भनी टिप्पणी गरेका छन् ।
(गार्जियनमा प्राकशित सामग्रीको अनुवादित अंश )
प्रतिक्रिया 4