News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बागमती स्वीट्स प्रालिको उत्पादन र बिक्रीमा रोक लगाएको आदेश उल्लङ्घन गरेपछि उद्योग सिलबन्दी गरेको छ।
- ३० चैतमा बागमती स्वीट्सले उत्पादन गरेको तयारी खाजामा किरा भेटिएको उजुरीपछि विभागले तत्काल बिक्री वितरण रोक्न आदेश दिएको थियो।
- दोस्रो उजुरीपछि विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले ४१ प्याकेट तयारी खाजा बरामद गरी सिलबन्दी गरेको छ।
४ वैशाख, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंस्थित बागमती स्वीट्स प्रालिमा सिलबन्दी गरेको छ। विभागले उत्पादन र बिक्रीमा रोक लगाउन दिएको निर्देशनलाई कम्पनीले अटेर गरेपछि बिहीबार उद्योग नै सिलबन्दी गरेको हो ।
विभागका अनुसार गत ३० चैतमा बागमती स्वीट्सले उत्पादन गरेको तयारी खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको भन्दै उजुरी परेको थियो । उजुरीपछि विभागका खाद्य निरीक्षकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार तत्कालका लागि उत्पादन र बिक्री वितरण रोक्न आदेश दिएका थिए ।
तर, कम्पनीले उक्त आदेशको उल्लंघन गर्दै प्रतिबन्धित मिठाई पसलको खाजा अर्को सरकारी निकाय नेपाल गुणस्तर तथा नापतौल विभागको बैठकमा खुवाएको पाइएको थियो । यस विषयमा अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।
यस्तै उत्पादन र बिक्री वितरण जारी राखेको सम्बन्धमा विभागमा पुनः उजुरी परेको थियो । दोस्रो उजुरीपछि विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी वृत्त सिंहदरबारको संयुक्त अनुगमन टोलीले तत्काल कारबाही अगाडि बढाएको थियो।
अनुगमनका क्रममा टोलीले त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयबाट १४ प्याकेट, चाबहिल अस्पतालबाट २५ प्याकेट र डेलिभरीका लागि लैजान लागिएको अवस्थामा ७ प्याकेट गरी जम्मा ४१ प्याकेट तयारी खाजा बरामद गरेको थियो ।
विभागका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को आदेश उल्लङ्घन गरी कानुनविपरीत खाद्य पदार्थ बिक्री गरेको र भविष्यमा पनि यस्तै गुणस्तरहीन उत्पादन गर्नसक्ने देखिएकाले अर्को आदेश नभएसम्मका लागि बागमती स्वीट्सको उत्पादन स्थल र कारखाना सिलबन्दी गरिएको हो।
विभागले कम्पनीमाथि ऐनअनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
प्रतिक्रिया 4