+
+
Shares

इरानको युरेनियम अमेरिका लग्ने ट्रम्पको दाबी, इरानले भन्यो– ट्रम्पले झुट बोले

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते ९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले संयुक्त रूपमा इरानका परमाणु केन्द्रहरू उत्खनन् गर्ने र युरेनियम अमेरिकामा लैजाने दाबी गरेका छन्।
  • इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले भने ट्रम्पमाथि एक घण्टाभित्र ७ वटा झुटा दाबी गरेको आरोप लगाएका छन्।
  • इरानले आफ्नो युरेनियम देशबाहिर नपठाउने जनाएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान मिलेर परमाणु केन्द्रहरू उत्खनन् गर्ने र त्यहाँ रहेको समृद्ध युरेनियम निकालेर अमेरिकामा लैजाने दाबी गरेका छन् ।

ट्रम्पका अनुसार बमबारीबाट प्रभावित परमाणु स्थलहरूमा दुवै देशका प्रतिनिधिहरु संयुक्त रूपमा प्रवेश गर्नेछन् र भारी मेसिन प्रयोग गरी उत्खनन् गरेर युरेनियम बाहिर निकालिनेछ ।

उनले अबदेखि इरानले स्ट्रेट अफ होर्मुज कहिल्यै बन्द नगर्न इरान तयार भएको दाबी गर्दै सप्ताहन्तमा अर्को चरणको वार्ता हुनसक्ने र एक–दुई दिनमै शान्ति सम्झौता हुनसक्ने समेत बताएका छन् ।

तर, इरानले अमेरिकी राष्ट्रपति ट्रम्पले झुटो बोलेको आरोप लगाएको छ ।

ट्रम्पले एक घण्टाभित्र ७ झुट कुरा गरे : इरान

इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक घण्टाभित्र ७ वटा झुटा दाबी गरेको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘यस्ता दाबीहरूले न त अमेरिका युद्ध जित्न सफल भएको छ, न त वार्तामा कुनै फाइदा मिल्नेछ ।’

गालिबाफले आफ्नो सामाजिक सञ्जाल पोस्टमा सो टिप्पणी गरेका हुन् । उनले सञ्चारमाध्यममार्फत जनतालाई प्रभावित पार्ने प्रयास भइरहेको बताउँदै इरानी जनता अमेरिकाको झुटो कुराबाट प्रभावित नहुने दाबी गरेका छन् ।

इरानको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजईले पनि इरानले आफ्नो युरेनियम देशबाहिर नपठाउने स्पष्ट पारेका छन् ।

रेजईले भनेका छन्, ‘युरेनियम समृद्धीकरण पूर्ण रूपमा बन्द गर्ने वा त्यसलाई अन्त्य गर्ने विषयमा कुनै सहमति हुने छैन, किनभने इरानले यसलाई आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमको हिस्सा मान्छ ।’

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि इरानको युरेनियम कतै पनि लैजान नदिने बताएका छन् । बकाईले ट्रम्पको दाबी अस्वीकार गर्दै युरेनियम इरानका लागि आफ्नो जमिनजत्तिकै महत्वपूर्ण रहेको र कुनै हालतमा बाहिर नपठाइने बताएका छन् ।

स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्ग खोल्न इरान तयार भए पनि नाकाबन्दी जारी रहने ट्रम्पले बताएका छन् । अमेरिकी सेनाको युएस सेन्ट्रल कमाण्डले पनि नाकाबन्दी राष्ट्रपति ट्रम्पको आदेश नभएसम्म जारी रहने जनाएको छ ।

इरानका सभामुख गालिबाफले भने यदि अमेरिकाले नाकाबन्दी जारी राख्यो भने स्ट्रेट अफ होर्मुज सधैं खुला नरहने चेतावनी दिएका छन् ।

उनका अनुसार जहाजहरूको आवागमन निश्चित मार्ग र इरानको अनुमतिअनुसार मात्र हुनेछ । उनले होर्मुज खुला रहने कि बन्द हुने भन्ने विषय सामाजिक सञ्जालका दाबीले होइन, भौतिक अवस्थाले निर्धारण गर्ने बताए ।

इरानले युद्धविरामका क्रममा होर्मुज जलडमरू खोल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । ब्रेन्ट क्रुड करिब ९ प्रतिशतले घटेर प्रतिब्यारेल ९०.३८ डलरमा झरेको छ, जुन १० मार्चपछि सबैभन्दा न्यून स्तर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?